बलात्कार आरोपमा दुई सशस्त्र प्रहरी पक्राउ
गोरक्ष समाचारदाता
दाङ, ८ कात्तिक । गत असोज २४ गते भालुबाङमा दुई बालिकामाथि भएको बलात्कारमा संलग्न रहेको आशङ्कामा सशस्त्र प्रहरीका दुई कर्मचारी पक्राउ परेका छन् । भालुबाङमा १४ र आठ वर्षीय दुई बालिकामाथि बलात्कार भएको थियो । यो घटनामा भालुबाङ स्थित सशस्त्र प्रहरी बल ज्वालामाई गणका एक जना सहायक हवल्दार र अर्का एक जना जवान संलग्न रहेको देखिएकाले उनीहरूलाई अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बलात्कार घटनामा संलग्ताको आशङ्का गरिएकाले एक जना सहायक हवल्दार र एक जना जवानलाई अनुसन्धानका लागि बुधवार बेलुका प्रहरीको जिम्मा लगाइएको पुष्टि गरे । ‘बलात्कार घटनामा एक जना सहायक हवल्दार र एक जना प्रहरी जवानको संलग्नताको आशङ्का भएपछि अनुसन्धानका लागि हामीले उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाएका छौँ’, सशस्त्र प्रहरी बलका सहप्रवक्ता थापाले भने, ‘उनीहरूमाथि छानबिनको प्रक्रिया नेपाल प्रहरीले थालिसकेको छ ।’
प्रहरीका अनुसार असोज २४ गते बेलुकीपख दुई बालिका सशस्त्र प्रहरीको भालुबाङ स्थित ज्वाला माई गण नजिकै हालिएको पिङ खेल्न गएका थिए । यो पिङ सशस्त्र प्रहरीको गणले दसैँका बेला हालेको थियो । पिङ खेल्न गएका यी दुई बालिकामाथि त्यहीँ बलात्कार भएको थियो । सशस्त्र प्रहरीको गण नजिकै दुई बालिका बलात्कृत भएपछि सशस्त्र प्रहरीले आफ्ना कर्मचारीहरूको संलग्नता हुन सक्नेबारे अनुसन्धान थालेको थियो ।
‘सशस्त्र प्रहरीको गण नजिकै बलात्कार भएपछि गणले पनि आफ्नो तर्फबाट अनुसन्धान थालेको थियो’, सशस्त्र प्रहरी बलका सहप्रवक्ता थापाले भने, ‘गण नजिकै बलात्कार घटना भएपछि हाम्रो तर्फबाट पनि अनुसन्धान गर्ने दायित्व रहने नै भयो ।’ बलात्कृत भएका बालिकाले समेत आफूहरूलाई सशस्त्र प्रहरीबाट बलात्कार भएको परिवारमा जानकारी गराएका थिए । बालिकाहरूले दिएको जानकारीका आधारमा परिवारले अनुसन्धानको माग गर्दै प्रहरीलाई जानकारी गराएका थिए ।
‘पीडित बालिकाहरूले परिवारका सदस्यहरूलाई आफूहरूमाथि बलात्कार भएको भनेर जानकारी गराएका रहेछन्’, थापाले भने, ‘परिवार हुँदै यो विषयले त्यहाँको गाउँ समाजमा समेत प्राथमिकता पायो ।’ स्थानीयका अनुसार ती बालिकाहरूले प्रहरीको ड्रेस लगाएका दुई जनाले आफूहरूलाई बलात्कार गरेको जानकारी परिवारलाई गराएका थिए । सिङ्गो गाउँले नै सशस्त्र प्रहरीमाथि बलात्कार मुद्दाको आरोप लगाएपछि सशस्त्र प्रहरीले यो घटनालाई झनै महत्वका साथ हेरेको थापाले बताए । ‘सशस्त्र प्रहरीकै कर्मचारी बलात्कार मुद्दामा मुछिएको भन्ने आरोप लागेपछि हामीले यो विषयलाई झनै गम्भीरताका साथ लियौँ र आफ्नो तर्फबाट अनुसन्धान ग¥यौँ’, थापाले भने, ‘हाम्रो अनुसन्धानबाट दुई जना कर्मचारी यो घटनामा संलग्न रहेको आशङ्का हामीलाई भयो र हामीले उनीहरूलाई अनुसन्धानका लागि नेपाल प्रहरी समक्ष ह्यान्डओभर ग¥यौँ ।’
यता असोज २४ मा भएको बलात्कार घटना छानबिनका लागि प्रहरीले चासो नराखेको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए । उनीहरूले प्रहरीले नै दोषीलाई जोगाउन लागिपरेको भन्दै यसको विरोधमा महेन्द्र राजमार्ग अवरुद्ध समेत पार्दै आएका थिए तर सशस्त्र प्रहरीका प्रवक्ता थापाले भने घटनामा दोषी आशङ्का गरिएकालाई सशस्त्र प्रहरीले जोगाउन नखोजेको बताए । आफ्ना कर्मचारीको संलग्नताबारे अनुसन्धान गर्दै जाँदा केही समय लागेको तर ढाकछोप गर्ने नियत नरहेको उनले बताए । ‘सशस्त्र प्रहरी बलले बलात्कारमा मुछिएका कर्मचारीलाई जोगाउन खोज्यो भनेर आरोप पनि लगाइए’, थापाले भने, ‘तर हाम्रो नियत त्यो होइन, अनुसन्धान गर्दै जाँदा केही समय लाग्यो तर यस्तो जघन्य अपराधमा मुछिने कुनै पनि कर्मचारीलाई सशस्त्र प्रहरी बलले संरक्षण गरेर राख्ने कुरा हुँदैन ।’
बलात्कार मुद्दामा संलग्नताको आशङ्का गरिएका दुई जनालाई अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको र अनुसन्धानबाट आउने निचोडका आधारमा उनीहरूले कारबाही भोग्ने थापाले बताए । ‘हामीले उनीहरूमाथिको आरोप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएका छौँ’, उनले भने, ‘र हामीले अनुसन्धानमा पूरापुर सघाउँछौँ, सूक्ष्म अनुसन्धानबाट यकिन तथ्य बाहिर आएर सोही अनुसार अगाडि बढिन्ु पर्छ भन्ने मानसिकता हाम्रो छ ।’
साथै उनले केही एकाध कर्मचारीको गल्तीका कारण सिङ्गो प्रहरी संगठनलाई नकारात्मक दृष्टिकोणले हेरिन नहुने बताए । ‘केही एकाध व्यक्तिका कारण ३७ हजार फौज भएको प्रहरी संगठनलाई गलत नजरले हेरिनु हुँदैन’, उनले भने, ‘संगठनका केही गलत व्यक्तिबाट हुने गलत कार्यको खिलापमा संगठन सदैव रहन्छ ।’ यता जिल्ला प्रहरी कार्यालयले भने पक्राउ परेकाहरूबारे केही जानकारी गराएको छैन । बलात्कार मुद्दामा दुईजना पक्राउ परेको जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले पक्राउ परेकाहरूबारे थप केही भन्न नमिल्ने बताएका छन् ।