दाङमा आठ हजार क्विन्टल धान खरिद गर्दै खाद्य संस्थान

अमरराज आचार्य
दाङ, २ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले यस वर्ष जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्ने भएको छ । केही वर्ष अघि जिल्लामा धान खरिद गर्न रोकेको व्यापार कम्पनीले यस वर्ष धान खरिद गर्ने भएको हो ।

केन्द्रले धान खरिदका लागि परिपत्र गरेपछि जिल्लामा धान खरिद गर्ने तयारीमा जुटेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिए । केन्द्रले जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्न भनेर २३ गते परिपत्र गरेर जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्ने भनेको हो ।

‘धान खरिद गर्नका लागि परिपत्र आएपछि हामी धान खरिदका लागि आन्तरिक तयारीमा जुटेका छौँ’, प्रमुख सुनारले भने । अहिले कृषक धान काटन व्यस्त रहेकाले केही दिन पछि धान खरिद गर्न सुरु गरिने उनले बताए । कुन–कुन ठाउँबाट के–कसरी धान खरिद गर्ने भन्नेबारे तयारी थालिएको उनले बताए । यस अघि खाद्यले जिल्लामा धान खरिद गरे पनि कुटानीका लागि बाहिर पठाउँदै आएको थियो । मिलहरूले कुटानी गर्न सहमत भए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मापदण्ड अनुसार मिल सञ्चालकहरुले कुटानी गर्न नसक्ने भनेपछि कुटानीका लागि खाद्यले जिल्ला बाहिर पठाउँदै आएको छ ।

कम्पनीले धान खरिद गर्ने भएपछि सरकारले तोकेको मूल्यमा कृषकले धान बिक्री गर्न पाउने भएका छन् । खाद्यले धान खरिद नगरिदिँदा स्थानीय व्यापारीका मुबोली मूल्यमा कृषकलाई धान बिक्री गर्नु पर्ने बाध्यता थियो । कम्पनी तोकेकोभन्दा व्यापारीले कम मूल्यमा धान खरिद गर्ने गरेको कृषकहरू बताउँछन् । सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ का लागि मोटो धानको प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोक्ने निर्णय गरेको हो ।

यस वर्ष दाङमा ३७ हजार दुई सय २५ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र दाङसँग तथ्याङ् छ । ज्ञान केन्द्रका अनुसार गत वर्ष ३५ हजार तीन सय ८४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । यसैगरी तुलसीपुर उपमहानगरपालिकामा आठ हजार तीन सय १५, घोराही उपमहानगरपालिकामा सात हजार एक सय ७३, दंगीशरण गाउँपालिकामा पाँच हजार सात सय ६८, राप्ती गाउँपालिकामा तीन हजार पाँच सय ७६, लमही नगरपालिकामा तीन हजार चार सय ६०, बबई गाउँपालिकामा दुई हजार चार सय सात, गढवा गाउँपालिकामा दुई हजार एक सय १५, शान्तिनगर गाउँपालिकामा एक हजार आठ सय ७०, राजपुर गाउँपालिकामा एक हजार चार सय ९९ र बंगलाचुली गाउँपालिकामा एक हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ ।

ज्ञान केन्द्रका अनुसार गत वर्ष तुलसीपुर उपमहानगरपालिकामा सात हजार तीन सय १५, घोराही उपमहानगरपालिकामा सात हजार दुई सय ४८, दंगीशरण गाउँपालिकामा चार हजार नौ सय ७२, राप्ती गाउँपालिकामा तीन हजार सात सय ६७, लमही नगरपालिकामा तीन हजार एक सय छ, बबई गाउँपालिकामा दुई हजार एक सय ८९, गढवा गाउँपालिकामा एक हजार सात सय ९४, शान्तिनगर गाउँपालिकामा एक हजार तीन सय ९१, राजपुर गाउँपालिकामा एक हजार दुई सय ७३ र बंगलाचुली गाउँपालिकामा छ सय ३३ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।

दाङमा धान खेती हुने जमिन ३९ हजार चार सय हेक्टर भए पनि तरकारी खेती हुने जमिन पनि त्यही क्षेत्रफलभित्र पर्ने भएकाले धान खेती हुने क्षेत्रफललाई ३७ हजार दुई सय २५ हेक्टर मानिएको ज्ञान केन्द्रले जनाएको छ । धान खेती गर्ने जमिनको क्षेत्रफल गत वर्षभन्दा बढी भएकाले सोही अनुसार मौसम अनुकूल भए र सिँचाइ, मल लगायतको व्यवस्थापन भए धान उत्पादन बढ्ने आँकलन गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० को तथ्याङ्कको आधारमा लुम्बिनी प्रदेश खाद्यान्नमा आत्मनिर्भर रहेको लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदका अनुसार प्रदेशमा २१ लाख ३९ हजार पाँच सय ८३ मेट्रिक टन खाद्यान्नको उपल्बधता हुने गरेको छ । जसमध्ये प्रशोधनपछि उपभोग्ययुक्त खद्यान्न १४ लाख ७० हजार नौ सय ७९ मेट्रिकटन उपलब्धता हुने गरेको छ । ०८० को प्रक्षेपित जनसङ्ख्या ५२ लाख ४९ हजार आठ सय ९३ रहेको छ । जसका लागि नौ लाख ७४ हजार छ सय ७० मेट्रिकटन खाद्यान्न आवश्यक पर्छ भने चार लाख ९६ हजार तीन सय १० मेट्रिक टन खाद्यान्न बचत हुने गरेको वार्षिक प्रतिवेदमा उल्लेख गरिएको छ ।