तुलसीपुरको मासु बजार : बाहिर ठिकठाकै, भित्र डुङडुङ्ती …

खेमराज रिजाल
तुलसीपुर, २२ असोज । तुलसीपुर उपमहानगरपालिकाको मुख्य मासु बजार भनेको तुलसीपुरको मासु मन्डी हो । त्यहाँ कम्तिमा ४४ वटा सटरमा मासु पसल छन् तर त्यहाँ रहेका अधिकांश पसलको बिक्री–कक्षमा ठिकठाक देखिए पनि भित्रको दुर्गन्धले मासु मन्डीको मासु जनस्वास्थ्यका हिसाबले उपभोग गर्न उपयुक्त नरहेको अनुगमनका क्रममा पाइएको छ ।

उपभोग गर्नलायक नभएको सडेको मासु समेत मासु व्यवसायीले फ्रिजमा राख्ने गरेका छन् । सडेका त्यस्ता मासुलाई सुँगुरको दानाका रूपमा उपयोग गरिने व्यवसायीले बताए तापनि दैनिक बिक्रीका लागि राखिने मासुसँगै राखिनु अवस्य पनि त्यो मानव स्वास्थ्यका हिसाबले गम्भीर समस्या हुन सक्ने चेतावनी अनुगमन समितिले दिएको छ ।

मासु बधशालामा सरसफाइलाई पुरै बेवास्ता गरिएको छ । एउटै डेक्चीमा तताएको फोहर पानीले दर्जनौँ खसी–बोकाको भुत्ला सफा गर्ने गरिएको पाइएको उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापन शाखाका प्रमुख रेखा शर्माले बताइन् । यसैगरी मासु पसलमा झिँगाले भनभन्ती मासु चुसिरहेको देखिन्छ । राँगाको मासु फलामको हुकमा झुन्ड्याइएको देखिन्छ भने मासु पसलमा तारजाली र सिसाका ढोका समेत निर्माण गर्न निर्माण व्यवसायीले चाहेका छैनन् ।

आजभन्दा पाँच वर्ष पहिलेको मासु मन्डी अनुगमनमा जस्तो फोहरको अवस्था देखिएको थियो । अधिकांश पसलमा अहिले पनि त्यत्तिकै फोहर र दुर्गन्ध छ । बाहिर हेर्दा मासु सफा देखिए पनि स्टोर गर्ने क्षेत्र भने दुर्गन्धित रहेको छ । ‘अधिकांश मासु पसलको मासु मानव स्वास्थ्यका दृष्टिले उपभोग गर्न उपयुक्त छैन, यसलाई व्यवसायीले गम्भीरतापूर्वक लिनु पर्दछ’, अनुगमनमा सहभागी तुलसीपुर स्थित खाद्य प्रविधि तथा नापतौल डिभिजनका प्राविधिक सुदर्शन गोसाइले गोरक्षलाई बताए ।

अनुगमन समितिले खसीको मासु पसल, कुखुराको मासु पसल, राँगाको मासु पसलमा अनुगमन गरेको थियो । बङ्गुरको मासु पाइन्छ भनी लेखिएका सटरहरू भने खाली थिए । किनकि अचेल बसपार्कमा बङ्गुरको मासु बिक्री हुन छाडेको व्यवसायीले बताएका छन् । अनुगमनका क्रममा तुलसीपुर मासु व्यवसायी समितिका कार्यालय सचिव तेजबहादुर खड्कालगायत स्वयम् व्यवसायीको पनि सहभागिता रहेको थियो । अनुगमन शाखाले पटक–पटक प्रत्येक सटरमा जाली लगाउन वा सिसाका ढोका बनाएर मासुलाई झिँगाको सङ्क्रमणबाट जोगाउन निर्देशन दिइरहे पनि व्यवसायीले अटेर गर्दै आएको तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख डा. मनोज वलीले बताए ।

अनुगमन टोलीले एक साताभित्र सबै सुधार गर्न निर्देशन दिएको छ । अर्को अनुगमनमा पनि सुधार नभएको पाइए यस्ता व्यवसायीको पसल बन्द गरिदिने बजार व्यवस्थापन शाखाका खेमकान्त पाण्डेले बताएका छन् । अघिल्ला वर्षभन्दा केही सुधार भएको भए पनि मानव स्वास्थ्यका हिसाबले तुलसीपुर मासु मन्डीमा धेरै समस्या रहेको उनले बताएका छन् ।

तुलसीपुरको बसपार्क स्थित मासु मन्डीको मासु सूक्ष्म परीक्षण गर्ने हो भने मानव स्वास्थ्यका हिसाबले अत्यन्तै घातक हुन सक्ने पशु चिकित्सक डा. मनोज वलीले बताएका छन् । ‘अलि सूक्ष्म परीक्षण गर्ने हो भने त यो मन्डीको मासु मानव स्वास्थ्यका लागि घातक हुने देखिन्छ’, डा. वलीले भने । पटक–पटकको अनुगमनमा मन्डी व्यवस्थित र सुधार गर्न भनिए पनि त्यस्तो हुन नसकेको उनले बताए । ‘हामीले पटक–पटक निर्देशन दिइरहेका छौँ तर अपेक्षित सुधार देखिन सकेको छैन, अर्को अनुगमनमा पनि यस्तै भेटिए उपभोक्ता ऐन बमोजिम कारबाही हुने छ’, वलीले बताए । अधिकांश मासु पसलमा सरसफाइको अवस्था कमजोर रहेको अनुगमन टोलले ठहर गरेको छ ।

मासु व्यवसायीले भने मासु बजार व्यवस्थित गर्न तुलसीपुर उपमहानगरपालिकाले अघिल्लो प्रतिवेदन नै कार्यान्वयन नगरेको बताएका छन् । ‘हामीले तीन मिटर सटरको भाडा कम्तिमा २५ सय रुपैयाँ उपमहानगरपालिकालाई भुक्तानी गर्दै आएका छौँ तर उपमहानगरपालिकाले आफुहरूका १० प्रतिशत मागलाई सम्बोधन गरेको छैन’, मासु व्यवसायी मनोज बुढाथोकीले बताए । अनुगमन टोली अनुगमनमा जाँदा टोलीसँग व्यवसायी हरेक पटक बाझ्ने गरेका छन्, सुधारको सङ्केत देखिएको छैन ।

आफूहरूले तीन वर्षसम्म भाडा नबढाउने शर्तमा सम्झौता गरे पनि तुलसीपुर उपमहानगरपालिकाले दुई वर्षमै शतप्रतिशत भाडा वृद्धि गरेको मासु व्यवसायी समितिका सचिव तेजबहादुर खड्काले बताए । यति मात्र नभएर आफूहरूको कुन बेला उठिबास लाग्ने हो भन्ने सुनिश्चित नभएको उनको भनाइ छ । व्यवसायीले उपमहानगरपालिकाको जग्गा मात्रको भाडा तिरेको र संरचना भने आफँैले निर्माण गरेको बताएका छन् तर उपमहानगरपालिकाले भने जनसहभागितामूलक कार्यक्रम अन्तर्गत संरचना निर्माण भएको बताएको छ । पछिल्लो समयमा मन्डीमाभन्दा बाहिर मासु पसलहरू धेरै व्यवस्थित रूपमा सञ्चालन हुन थालेपछि तुलसीपुरको बसपार्क स्थित मासु मन्डीको मासु होटल व्यवसायीले मात्र खरिद गर्ने गरेका छन् ।

त्यहाँ प्रत्यक्ष रूपमा उपभोक्ताको उपस्थिति अत्यन्तै न्यून रहेको स्वयम् व्यवसायीले स्वीकारेका छन् । यसको प्रमुख कारण भनेकै मासु मन्डीको दुर्गन्ध हो । अर्को कुरा व्यवसायी आफूले कुनै निश्चित अवधिसम्मका लागि यहाँ व्यवसाय सञ्चालन ढुक्कसँग गर्न पाए मात्र सुधार गर्न सक्ने बताएका छन् । कुन बेला उपमहानगरपालिकाले आफूहरूलाई हटाउने हो थाहा नभएको पनि व्यवसायीले बताएका छन् । यसैगरी अनिश्चितताका कारण तुलसीपुरको मासु मन्डीका स्टोर डुङगङ्ती गन्ध आउने अवस्थामा पुगेका छन् ।

नेपालीका महान चाड विजयादशमी र शुभ दीपावली नजिकिँदै गर्दा मासुको खपत बढ्नु स्वाभाविकै हो तर व्यवसायीले खाद्य स्वच्छतालाई विशेष ध्यान दिन नसकेको उपभोक्ताले गुनासो गर्दै आएका छन् । अनुगमनका क्रममा बजार व्यवस्थापन प्रमुख रेखा शर्मा, खेमकान्त पाण्डे, उपमहानगरपालिकाकै कर्मचारी सुशीला शाह, नगर प्रहरी तीर्थबहादुर केसी, कृषि शाखाका प्रमुख डा मनोज वली, तुलसीपुर उपमहानगरपालिका—५ का वडा सदस्य भीमबहादुर केसी, तुलसीपुर स्थित खाद्य प्रविधि तथा गुणस्तर डिभिजनका प्रतिनिधि सुदर्शन गोसाइलगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।