Goraksha

National Daily

स्वास्थ्य क्षेत्रको सुधारका लागि दीर्घकालीन योजना आवश्यक

गोरक्ष समाचारदाता
दाङ, १९ असोज । दाङमा स्वास्थ्य क्षेत्रमा देखा परेका समस्याको निकास खोज्दै दीर्घकालीन विकासको आधार तय गर्न दाङ स्वास्थ्य सम्मेलन गरिएको छ । दाङ सोसाइटीको आयोजना, भेगा फर्मासिटिकल्सको सहयोग र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको सहकार्यमा शुक्रवार लमहीमा जिल्लाको स्वास्थ्य क्षेत्र प्रवर्धन गर्न सम्मेलन गरिएको हो ।

दाङ सोसाइटीका अध्यक्ष निकेशकुमार लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले स्वस्थ नागरिक बनाउने अभियानमा प्रदेश सरकारले काम गरिरहेको बताए । सम्मेलनले स्वास्थ्य संस्थाहरूको अवस्था, उपकरण, प्रविधि, जनशक्ति र यसमा सेवाग्राहीको पहुँचबारे स्पष्ट खाका कोर्ने काम गरेको भन्दै मन्त्रीले मगरले देखा परेका समस्या र कमजोरीलाई सुधार गरेर अघि बढ्नु पर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले दाङमा हिजोको तुलनामा स्वास्थ्य क्षेत्रको अवस्थामा सुधार आएको भन्दै एकाध उपचार बाहेक सबै प्रकारका उपचार सेवा जिल्लामा सहजै पाउने वातावरण बन्नु उपलब्धिमूलक भएको बताए ।

कार्यक्रममा प्रतिष्ठानका निमित्त डिन डा. रमेश कँडेलले प्रतिष्ठानबाट नियमित स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र खोज अनुसन्धानको काम हुने भएको हुँदा भोलिका दिनमा यस क्षेत्रका लागि ठुलो आयाम हुने बताए ।

निजी स्वास्थ्य संस्थाको तर्फबाट अफिन दाङका अध्यक्ष बालाराम शर्माले नागरिकको स्वास्थ्य उपचारमा निजी स्वास्थ्य संस्थाले खेल्दै आएको भूमिकालाई राज्यले सकारात्मक रूपमा लिने वातावरण अझै बन्न नसकेको बताए । यसका लागि स्वास्थ्य क्षेत्रका लागि बनेका नीति नियमको सही कार्यान्वयन गनु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोरकुमार आचार्य, रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष बालकुमार घर्ती, राप्ती आँखा अस्पतालका प्रमुख समशेर थापा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्सिङ प्रमुख अम्बिका पौडेल, फर्मासिस्ट सुलभ अधिकारी, औषधी व्यवसायी संघका बिपी पौडेल, पिडानका शालिकराम आचार्य, नेपाली कांग्रेस दाङकी सचिव बालिका लम्साल, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यलगायत जिल्लाको स्वास्थ्य अवस्था सुधारका पक्षमा गर्न सकिने काम र योजनाबारे बोलका थिए ।