संविधान संशोधनले प्रतिगमनको खतरा : महामन्त्री सिंह
गोरक्ष समाचारदाता
दाङ, १२ असोज । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले संविधान संशोधनले प्रतिगमन निम्तिने खतरा रहेको बताएका छन् ।
प्रगतिशिल पत्रकार संघ दाङले शनिवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले प्रमुख सत्ताधारी दलले राजनीतिक अस्थिरता हटाउनका लागि संविधान संशोधन भने पनि प्रतिगमनको खतरा रहेको बताएका हुन् ।
बाहिर भन्ने एउटा र व्यवहारमा गर्ने अर्काे प्रवृति रहेको भन्दै महामन्त्री सिंहले जनताको लामो संघर्षपछि प्राप्त उपलब्धी गुम्ने खतरा रहेको बताए । २०६२÷०६३ को जनआन्दोलनका क्रममा संघीयता राजनीतिक पार्टीको एजेण्डा नबने पनि पछि आए जस्तै अहिले राजनीतिक अस्थिरता हटाउने भए पनि धर्मनिरपेक्षता लगायतका उपलब्ध हट्ने खतरा रहेको बताए ।
उनले संघीयता हटाउन देशका लागि आवश्यक रहेको समेत बताए ।
‘धर्मनिरपेक्षता एमाले–कांग्रेसका बहुसंख्यकलाई मन परेको छैन । कतिपय नेता त संवैधानिक राजतन्त्र राख्नुपर्छ भन्ने गरेका छन्’, महामन्त्री सिंहले भने, ‘यही अवस्थामा संविधान संशोधनको कुरा उठेकाले प्रतिगमनको खतरा छ ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण योगदान गरे पनि अस्थीर र अवसरवादी प्रवृतिका कारण कम्युनिष्ट आन्दोलन बदनाम भएको बताए । ‘राजनीतिमा प्रचण्ड निकै अस्थिर र अवसरवादी देखिए । यहाँसम्मकी प्रचण्ड राप्रपा र मधेशवादी दल जत्तिको अडानमा रहर सकिनन्’, महामन्त्री सिंहले भने, ‘जसका कारण माओवादी कमजोरसँगै देश अस्थिरता फसेको छ ।’
देश र जनताको विकास र समृद्धिका लागि कम्युनिष्ट एकताको आवश्यकता रहे पनि नेतामा व्यक्तिवादी महत्वकाक्षा बढी हुँदा एकता हुन नसकेको बताएका थिए । पत्रकार सम्मेलनको सहजीकारण प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजालले गरेका थिए।