के चाहन्छन् युवा ?
रोशन शर्मा गौतम
मष्तिस्कमा सिर्जनात्मता, रचनात्मकता र पाखुरीमा उर्जाको खानी भएका भर्खर बालापनको चञ्चलताले छाडेका जमातको समूह हो, युवा । युवा शब्द आफैँमा एउटा भावना, शक्ति, स्फूर्ती र साहस बोलिरहेको छ । भनिन्छ नि ‘केही कठिन काम फत्ते पार्न न्वारनदेखिको बल लगाउनु पर्छ’ । हो त्यही बल सहजै खर्च गरेर सरल बनाउन सक्ने हिम्मत् र आँट युवावर्गमा हुन्छ ।
आज युवा शक्ति र नेतृत्वको सवालमा अन्तर्राष्ट्रिय तवरको बृहत् छलफल हुँदै आइरहेको छ । विभिन्न वैज्ञानिक आविष्कार, सामाजिक सञ्जालमा नयाँ खोज, ए आई प्रविधिको विकासमा युवा जोसिएका र होसिएका छन् । आजका शिक्षित युवाको नेतृत्वदायी भूमिकाको बारेमा कुरा गर्दा चाहिँ केही फरक मत रहला । विश्व परिवेशमा हेर्ने हो भने युवापन र उमेरभित्रका युवा नेता धेरै देशको प्रमुख नेतृत्व ओदामा रहेर जनहितका लागि सर्वोत्तम काम गरिरहेका छन् भने केही देशमा युवा मुक्तिको आन्दोलन गरिरहेका छन् । आज चाहिँ हामी नेपालको चार किल्लाभित्रको कुरा गरौ ।
टुक्रा–टुक्रा परेको हाम्रो देशलाई एकीकरणको सुत्रमा बाध्न सुरुवात गरेका पृथ्वीनारायण शाह पनि युवा सोच र साहस लिएर अघि बढेका थिए । यो देशको लागि वीर सहिदले युवास्थामा हाँसि–हाँसि गलामा फाँसी लाउन तयार भएका थिए । देशमा लोकतन्त्र स्थापना गर्नदेखि आजको दिनसम्म आउदा युवाको योगदान र साहसको जति प्रशंसा ग¥यो त्यति नै कम हुनेछ । समयको मागसँगै अब त्यति बेलाका युवाले नेतृत्व नयाँ पिढिका युवालाई सुम्पने बेला आएर पनि केही ढिला भइसकेको छ । अहिले नेपालको नेतृत्वदायी भूमिकामा एउटै अनुहार गोलचक्रमा जस्तै उस्तै समयमा देखा परिरहेका छन् तर जनहितका लागि माखो पनि नमारेको अवास युवा र जनताले गरेको छन् । आखिर किन ? उत्तर सोझो छ– उनीहरुमा युवापन छैन । भन्नुको मतलव देशलाई समुन्नत बनाउन, जनताको समस्याको समाधानको खातिर कुनै ठोस् नीति छैन । उनीहरुमा जोस् र होस् रित्तिसकेको छ ।
आजको पिढी, जसलाई न्भल–श् न्भलभचबतष्यल भनिन्छ उनीहरु केही पृथक चाहन्छ्न् । उनीहरुको आकाङ्क्षा केही बेग्लै पाराको छ । ‘शिक्षा र प्रविधि’ अहिले दुई शब्द भए पनि एकार्काको पर्याय भइसकेका छन् । यी शब्द र भावसँग सबैभन्दा बढी यो पुस्ता नजिकिएको छ । आजको पुस्ता आफ्नो अध्ययन केही फरक तवरले गर्न चाहिरहेको छ । यो पुस्ताले प्रविधिमैत्री र सिपमूलक शिक्षा मात्र आजको आवश्यकता हो भन्ने संकेत दिएको छ । सिपमूलक निःशुल्क शिक्षा, अनुसन्धानत्मक अध्ययन शैलीमा यो पिढी रमाउन चाहन्छ ।
आफ्नो सिप राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा बेचेर स्वरोजगार हुने वातावरण खोजिरहेका छन् । आज नेपाली पाठ्यक्रमका यस्ता कयौ कुरा छन् जुन हामीले कम्प्युटर र सफ्टवेयर प्रयोग गरी सरल तरिकाले पढ्न र पढाउन सकिन्छ । त्यसबाट नेपाली विद्यार्थी बञ्चित छन् जुन कुरा कार्यान्वन गर्न निकै सहज छ । यसैले त अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा नेपाली विद्यार्थीको भूमिका कमजोर देखिन्छ तर सोही विद्यार्थी विदेशमा अध्ययन गर्दा अन्तर्राष्ट्रिय तवरमा ख्याती प्राप्त गर्छ । आखिर किन यस्तो हुन्छ । जवाफ सरल छ– हाम्रो शिक्षा नीति कमजोर छ । हाम्रो नेतृत्वकर्ता र शिक्षाविदमा इच्छाशक्ति र ज्ञानशक्तिको निकै अभाव छ । यसैले युवाले समयानुकूल देशभित्रै आफूलाई अन्तर्राष्ट्रिय स्तरसम्म सक्षम बनाउन सक्ने शिक्षा नीति चाइरहेको छ ।
अब दोस्रो कुरा गरौ खेलकुदको । प्राय खेलाडी भनेकै युवा हुन्छन् । ती युवा खेलाडी भनेका राष्ट्रका गहना भनिन्छन् तर त्यै गहनामा खिया लगाउनबाट सरकार पछि हटेको छैन । खेलाडीलाई सम्मानको खाचो छ । त्यो सम्मान भनेको उनीहरुलाई उचित (प्रविधियुक्त, अन्तर्राष्ट्रिय स्तरको) खेल मैदान उपलब्ध गराएर, समयानुकुल तालिम दिएर, निःशुल्क स्वास्थ्य उपचार गर्दिएर, आकर्षक तलब दिएर र पौष्टिक आहार दिएर मात्र हुन्छ । हाम्रो देश यहीनेर चुकेको छ र खेलप्रति धेरै युवाको चासो सेलाएको छ । त्यसैले युवाले खेल क्षेत्रमा नयाँ र दिगो परिवर्तन चाइरहेका छन् । कला क्षेत्रको कुरा गर्दा, नेपाली युवा कलाकारले राष्ट्रको अविभावक्त्व खोजी रहेका छन् । तमाम युवाले आफ्नो कला फस्ताउन सकेका छैनन् किनकी यहाँ उनीहरुलाई स्वतन्त्र अवसर छैन । त्यसैले युवाले कला र संस्कृतिको क्षेत्रमा राज्यको अभिभारा र अवसर खोजिरहेका छन् । उनीहरुको नेपाली समाजबाट कलाको सम्मान र विशिष्ट स्थान चाइरहेका छन ।
यस्ता धेरै क्षेत्र छन् जसमा युवाले सकारात्मक परिवर्तन खोजिरहेका छन् । स्वास्थ्य क्षेत्र होस् वा यातायात होस् वा डिजिटल बैकिङ सबैतिर । अब कुरा गरौ भौतिक आवश्यकताको । आजको युवाले आफ्नो परम्परागत र आधुनिकताको मिश्रण, विकासका कार्य र पूर्वाधारमा खोजिरकेका छन् । पक्की सडक, व्यवस्थित सहर, शिक्षित गाउँको चाहना यो युवा पिढिले गरेको छ । सडकमा हिड्ता प्यास लागे नजिकै शुद्ध पिउने पानी होस्, फोहोर व्यवस्थापन गर्ने थलो होस् अनि सफा र प्रविधिमैत्री सार्वजनिक शौचालय होस् । यो सुविधा यो पिढिले देशभित्रै खोजेको छ । यी सबै कुरा सम्भव छ, मात्र नीति र कार्यान्वनको कमी छ । त्यसको लागि युवा जोसको कमी छ । त्यसैले युवाले देशभित्र युवा नेतृत्व चाहेको छ ।
युवाले केही दुईचार कुरा नचाहेका पनि छन् । युवाले देशमा बन्द, हड्ताल होस् यो चाहँदैनन् । देशमा धार्मिक विद्रोह होस्, यो चाहँदैनन् । यो देशमा युवाले मात्र शान्ति, सकरात्मकता र भाइचारा चाहन्छन् । यो समाजको सोचमा सकारात्मक परिवर्तन चाहन्छ्न । माथि मीठो भाषामा लेखिएका कुरा सतप्रतिशत् सम्भव छ । यसको लागि हिम्मत चाहिन्छ । त्यो हिम्मत युवासँग हुन्छ । त्यसैले यो युवा पिढिले युवा नेतृत्वको आवश्यकता ठानेका छन् ।
त्यति मात्र होर यो युवा पिढिले अन्य देशसँग नेपालको बलियो कुटनैतिक सम्बन्ध चाहेका छन् । यी सबै कुरा युवाले चाहँदा केही कुरा युवाले आफैले आफैमा पनि परिवर्तन चाहेका छन् । आजको युवावर्गको केही नराम्रो पक्ष पनि छ । त्यो भनेको कुनै कुरामा त्यसको अध्ययन नगरी राम्रो, नराम्रो पक्ष आकलन नगरी अन्धविश्वास गर्नु । त्यसैले आजको युवा अर्को युवाको बाधक नबनोस् यो कुरा पनि युवाले चाहिरहेका छन् ।
समग्रहमा भन्नुपर्दा युवाले परिवर्तन चाहिरहेका छन् । कस्तो परिवर्तन भने सकारात्मक, सिर्जनात्मक, प्रविधिमैत्री, दिगो विकासको अनि जनहितको । यसैले युवा विचारको सम्मान गराँै । युवा पक्षको कुरा सुनौँ । आफूमा असल युवाको गुण विकास गरौँ र युवाले चाहेका हरेक कुरा सम्भव हुन्छ भन्ने आशाको दियो बालाँै । जय युवा ।