कांग्रेस क्षेत्र नं. २ (क) द्वारा प्रशिक्षण

गोरक्ष समाचारदाता
दाङ, ४ असोज । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ (क) ले वडा कार्यसमितिका सभापति, सचिव र कोषाध्यक्षलगायतका पदाधिकारीका लागि भाषण कलाससँगै काम, कर्तव्य र अधिकारसम्बन्धी प्रशिक्षण दिएको छ ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ (क) प्रदेश सभापति प्रकाश श्रेष्ठको सभापतित्व तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति एवम् पूर्व मन्त्री राजु खनालको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डे र प्रदेश सदस्य पुष्पा श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने वक्ताले तालिमले नेतामा बोल्ने क्षमता र कलाको विकासमा सहयोग पु¥याउने बताएका थिए । कार्यक्रमका सहभागीले नेताहरूलाई स्पष्ट बोल्ने, विषय केन्द्रित कसरी हुनेसँगै काम, कर्तव्य र अधिकारबारे ध्यान दिनु पर्ने बताएका थिए ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा नेपाली कांग्रेसका जिल्ला उपसभापति गिरिराज सुवेदी, महासमिति सदस्य भुपबहादुर डाँगी, नेपाली कांग्रेस क्षेत्र नं. २ सभापति भीमप्रकाश खड्का, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तालिमको प्रशिक्षकमा नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगी र नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतम रहेका थिए । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २(क) प्रदेश उपसभापति लक्ष्मणकुमार बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव माया पोख्रेलले गरेकी थिइन् । तालिममा क्षेत्र नं. २ (क) अन्तर्गत रहेका घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकामा वडा सभापति, सचिव र कोषाध्यक्षलगायतका पदाधिकारीको सहभागिता रहेको थियो ।