‘समृद्धि र स्थायित्वका लागि राजनीतिक एकता अपरिहार्य’

गोरक्ष समाचारदाता
दाङ, ४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको बढ्दो आकाङ्क्षालाई सम्बोधन गर्न राजनीतिक दलबिच दरिलो एकता, समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन् । संविधान तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा विहीवार प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजना गरिएको मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले ‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश’ को नारालाई सार्थक बनाउन सबै सरोकारवाला निकाय जिम्मेवार भएर लाग्नु पर्ने बताए ।

योजना निर्माण र कार्यान्वयनको तहमा अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश अग्रणी स्थानमा रहेको बताउँदै मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेशको समृद्धि र स्थायित्वका लागि राजनीतिक दलबिच एकता, समन्वय र सहकार्य अपरिहार्य छ । समृद्ध प्रदेश, सुखी जनताको नारालाई सार्थक बनाउन भूमिका खेल्ने छ ।’ दीर्घकालीन लक्ष्य निर्धारण गरेर प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेको भन्दै मुख्यमन्त्री आचार्यले विकासका कार्यलाई प्रभावकारी बनाउँदै नयाँ स्थानमा प्रदेश राजधानीको व्यवस्थापन, प्रदेश गौरवका आयोजनाको सम्पन्नता तथा न्यून जनशक्तिको व्यवस्थापनका लागि आवश्यक कानून तर्जमा तथा परिमार्जन गर्ने गरी सरकार अघि बढेको बताएका हुन् ।

प्रदेशलाई सुशासन, प्रविधिमैत्री बनाई नागरिकसम्म पु¥याउने सेवामा थप प्रभावकारी बनाउने गरी काम भइरहेका भन्दै मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन र हाम्रा कार्यशैलीमा समेत मितव्ययिता तथा सदाचारी शैलीको विकास गर्दै नागरिकका गुनासाहलाई समयमै सम्बोधन गर्ने र सार्वजनिक पद धारण गरेका व्यक्तिले पालना गर्नु पर्ने आचारसंहिता तथा आयोजनाको लागत कम गर्ने गरी प्रतिस्पर्धात्मक पद्धति अवलम्बन तथा अनुगमनको भरपर्दो व्यवस्था गर्ने गरी संयन्त्र निर्माण गर्नतर्फ हामी अगाडि बढेका छौँ ।’ अत्यावश्यक कानुन सङ्घीय सरकारबाट द्रुत गतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गरिरहेको मुख्यमन्त्री आचार्यले बताएका थिए ।

मुख्यमन्त्री तथा मूल समारोह समितिका संयोजक चेतनारायण आचार्यको अध्यक्षता तथा लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संविधानमा उल्लिखित अधिकार कार्यान्वयन गर्न तीन तहका सरकारबिच आवश्यक समन्वय, सहकार्य र सहअस्तित्वको मर्मलाई आत्मसात् गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले जनमुखी कानुन निर्माण गर्ने र हिजो बनेका कानुनलाई समयसापेक्ष परिमार्जन गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

संविधानलाई इमानदारीपूर्वक कार्यान्वयन गर्न सबै जुट्नु पर्ने अहिलेको आवश्यकता रहेको भन्दै सभामुख घर्ती मगरले भने, ‘संविधान कार्यान्वयनका लागि सबै दलबिचमा सद्भावपूर्ण एकता कायम गरेर अघि बढ्नु आवश्यक छ ।’ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै जनतामा आशा जगाउन सबै एकजुट हुनुको विकल्प नरहेको उनको भनाइ थियो ।

मुल समारोहलाई संम्वोधन गर्दै निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेकपा एकीकृत माओवादीका नेता जोखबहादुर महराले समतामूलक समाज निर्माण गर्न, समृद्धि हासिल गर्ने आकाङ्क्षा बोकेको संविधानको पूर्ण कार्यान्वयनमा सबै एक ठाउँमा उभिनु पर्ने बताए । अहिलेको मुख्य सवाल संविधानको पूर्ण कार्यान्वयन भएको भन्दै निवर्तमान मुख्यमन्त्री महराले भने, ‘सवाल कार्यान्वयनको हो तर अहिले संशोधनको बजार हल्ला चलाइँदैछ ।’

पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले संविधानको मूल मर्म सङ्घीयता र एकता आवश्यक रहेको बताएका छन् । प्रदेशलाई अधिकार सम्पन्न बनाउँदै बलियो बनाउने गरी अघि बढ्नु पर्ने भन्दै पूर्व मुख्यमन्त्री चौधरीले भने, ‘प्रदेशको भूमिका बढाउँदै संविधानको भरपुर उपभोग गर्नु पर्छ तर यो अवधिमा संविधान कार्यान्वयनले गति लिन सकेको छैन ।’ सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले प्रदेशले कानुनी आधार निर्माण गरिसकेका भन्दै अब विकास र प्रतिफल नागरिक तहमा पु¥याउन सरकार प्रतिबद्ध भएर लाग्नु पर्ने बताएका थिए ।

झाँकी र प्रभातफेरीको उत्सव

संविधान दिवसलाई भव्य र रचनात्मक बनाउन विभिन्न समुदायको कला संस्कृति झल्किने झाँकी प्रदर्शनी गरिएको थियो । मगर, थारू, नेवार, ब्राह्मणलगायतका समुदायले आ–आफ्नो समुदायको कला संस्कृतिसहितको झाँकी प्रदर्शन गरेका थिए । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको थियो ।

प्रदेश स्वास्थ्य मन्त्रालयले राजधानी परिसर क्षेत्रमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरलगायत स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए । संविधान दिवसको अवसरमा प्रदेश मातहतमा रहेका १२ जिल्लाका अस्पतालमा विहीवार एक दिनका लागि निःशुल्क ल्याव परीक्षण, ओपिडी शुल्क निःशुल्क गरिएको छ ।

मूल समारोहको अवसरमा ब्लड प्रेसर, सुगरलगायत एक सय ५० जनाको स्वास्थ्य जाँच गरिएको थियो । लमही रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा गरिएको रक्तदान शिविरमा २१ प्वाइन्ट रगत सङ्कलन गरिएको थियो ।

घोराहीमा प्रभातफेरी

संविधान दिवसको अवसरमा घोराहीमा प्रभातफेरी कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला समन्वय समिति दाङ, घोराही उपमहानगरपालिका लगायतको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङ, रणसिंह दह गण, उद्योग वाणिज्य संघलगायतका विभिन्न संघसंस्थाको समन्वयमा विहीवार बिहान घोराहीमा प्रभातफेरी गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयबाट सुरु भएर बजार परिक्रममा गर्दै जिल्ला समन्वयन समितिको प्राङ्गणमा गएर सकिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताले देशलाई समृद्ध बनाउन संविधानको पूर्ण कार्यान्वयनसँगै सुशासनमैत्री व्यवस्था कायम गर्न ध्यान दिनु पर्ने बताएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीलगायतले सम्बोधन गरेका थिए ।

प्रभातफेरी भव्य र रचनात्मक बनाउन विभिन्न समुदायको कला संस्कृति झल्किने झाँकी प्रदर्शनी गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, प्रहरी, सेना, स्काउट, आमा समूह, टोल विकास संस्थालगायत विभिन्न समुदायका कला संस्कृति झल्किने झाँकीको सहभागिता रहेको थियो ।