विपत् व्यवस्थापनका लागि तयार छ, तुलसीपुर
खेमराज रिजाल
तुलसीपुर, २८ भदौ । विपत् पूर्वतयारी र विपत्सम्बन्धी ऐन कानुन बनाउन तुलसीपुर उपमहानगरपालिका सक्षम भएको छ । राष्ट्र सङ्घीय सहयोग नियोग (युएसएआइडी) तयार नेपालको आर्थिक सहयोग र तुलसीपुर उपमहानगरपालिकासँगको साझेदारीमा पाँच वर्षसम्मका विभिन्न अभियानले तुलसीपुर उपमहानगरपालिकाले विपत् व्यवस्थापन कार्ययोजना तयार गरेको हो ।
यसबाट तुलसीपुर उपमहानगरपालिका विपत् व्यवस्थापनका सन्दर्भमा नविनतम उपमहानगरपालिका बनेको छ । पाँचवर्षे कार्यक्रम सकिँदै लाग्दा तुलसीपुर उपमहानगरपालिका र तयार नेपालले विपत् व्यवस्थापनमा भए–गरेका कार्यक्रमको विहीवार सरोकारवालाको उपस्तिथिबिच विपत् व्यवस्थापनका सन्दर्भमा समीक्षात्मक बैठक भएको हो । यो अभियान तत्कालीन नगर प्रमुख घनश्याम पाण्डेको पालामै भएको थियो । परियोजनाको अवधिमा तुलसीपुर उद्योग वाणिज्य संघ पनि यो अभियानमा जोडिएको थियो । त्यसो त युएसएआइडीको सहयोगमा सञ्चालित तयार नेपालले समग्र जिल्लाकै विपत् प्रतिकार्य योजना समेत निर्माण गरेको थियो ।
तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले युएसएआइडी तयार नेपालले विपत्बाट जोगिनका लागि आवश्यक कानुन निर्माणदेखि विपत् पूर्व तयारीका सम्बन्धमा पनि आवश्यक भूमिका निर्वाह गरेको अभिव्यक्ति दिए । ‘तयार नेपाललाई फेरि पनि अन्य पालिकामा यस्तै काम गर्नका लागि हामी आग्रह गर्दछौँ, यसलाई स्थानीय सरकारले पनि अनुशरण गर्ने छन्’, प्रमुख अतिथि शर्माले भने ।
मुलुकको समग्र विकास सरकार एक्लैले गर्न सक्ने अवस्था नभएको भन्दै प्रमुख अतिथि शर्माले मुलुकको समग्र समृद्धिका लागि गैरसरकारी निकाय, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्शलगायतका सबै निकाय एकीकृत भएर कार्यक्रम ल्याउने कुरामा जोड दिए । तुलसीपुर उद्योग वाणिज्य संघले जसरी विपत् व्यवस्थापन कोष स्थापना गरेको छ त्यसरी नै राज्यका हरेक निकायले विपत् पूर्व तयारी र विपत् व्यवस्थापन कोष स्थापना गर्न पनि आग्रह गरे । ‘हामी विकासे अड्डा होइनौँ तर विपत् व्यवस्थापनमा हाम्रो पनि उत्तिकै चासो रहन्छ, त्यसका लागि मुलुकका तीनै तहका सरकारसँग समन्वय र सहजीकरण गर्न मैले प्रतिबद्धता जनाउँछु’, प्रमुख अतिथि शर्माले भने ।
तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथि घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले विपत् व्यवस्थापन र विपत् प्रतिकार्यका सन्दर्भमा तयार नेपालको सहयोग र सहकार्यमा तुलसीपुर उपमहानगरपालिकाले अनुकरणीय प्रगति गरेको भन्दै युएसइआडीलाई हरेक क्षेत्रमा यस्ता गतिविधि सञ्चालन गर्न पनि आग्रह गरे । ‘विपत् जुनसुकै बेला आउन सक्छ, त्यसका लागि हामीले पूर्व तयारी गर्न आवश्यक छ र गरेका पनि छौँ’, चौधरीले भने, ‘तर पनि हामीले यो बिचमा धेरै विषयलाइ विपत्सँगै जोडेर सम्बोधन गर्नु पर्ने छ ।’
प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले समग्र जिल्लाकै विपत् प्रतिकार्य योजना निर्माणमा तयार नेपालले गरेको भूमिकाको प्रशंसा गरेका थिए । सरकार एक्लैले सबथोक गर्न असम्भव भएकाले विपत् आइसकेपछिको अवस्थामा आवश्यक स्रोत र संसाधनको व्यवस्थापन गर्न पनि उनको स्थानीय सरकारलाई आग्रह थियो । युएसएआइडी तयार नेपाल परियोजनाको सहयोगमा तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघले पनि यसबिचमा सहकार्य गरेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले बताए । ‘कुनै बेला कोरोना भाइरसको विश्वव्याधि सङ्कटका बेला हामीले यही विश्व स्वास्थ्य संगठनको मापदण्डको सेनिटाइजर उत्पादन गरेका थियौँ, यसमा तयार नेपाललाई विशेष धन्यवाद दिन चाहन्छु’, अध्यक्ष विनिलले भने । तयार नेपालकै सहकार्यमा तुलसीपुर उद्योग वाणिज्य संघले आर्थिक पुनर्लाभका कार्यक्रम पनि सञ्चालन गरेको अध्यक्षको भनाइ थियो ।
कार्यक्रममा व्याकवार्ड सोसायिटी एजुकेसन (बेस)का लक्षमण चौधरीले पनि तयार नेपालसँग सहकार्य गरेर धेरै कार्यक्रम गरेको प्रस्तुति देखाएका थिए । सो अवसरमा तुलसीपुर उपमहानगरपालिवकाका पूर्व विपत् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, तयार नेपालका कृष्णा कार्की, युएसएआडी तयार नेपाल परियोजनाका प्रमुख तीर्थराज जोशीलगायतले शुमकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा तयार नेपाल परियोजनाले पाँच वर्षको अवधिममा गरिएका कार्यगत समीक्षा एवम् भिडिओ डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिका विपत् व्यवस्थापन महाशाखा प्रमुख टोपबहादुर डाँगीले तयार नेपालले परियोजना अवधिभर तुलसीपुर उपमहानगरपालिकामा गरेका विभिन्न कार्यक्रमको प्रस्तुति देखाएका थिए । कार्यक्रममा युएसएआइडीका नेसनल डाइरेक्टर सञ्जना मिश्रलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका सूचना अधिकारी बाबुराम न्यौपानेले गरेका थिए । सो अवसरमा तयार नेपालले यो अवधिमा गरेका कार्यक्रमबारेको प्रकाशित भएको पुस्तक विमोचन गरिएको थियो ।
