कविताका माध्यमबाट व्यक्तित्व र योगदानको चर्चा
१११औ“ वीपी जयन्ती
गोरक्ष समाचारदाता
दाङ, २५ भदौ । कविताका माध्यमबाट विद्यार्थीले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको राजनीतिक, सामाजिक योगदान तथा जीवनीको चर्चा गरेका छन् । नेपाली कांग्रेस दाङले १११औँ वीपी जयन्तीको अवसरमा सोमवार घोराहीमा आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितामा सहभागी विद्यार्थीले वीपीको जीवन र दर्शनलाई आफ्नो सिर्जनशीलताका माध्यमबाट उजागर गर्दै नेपालको राजनीतिक परिवर्तनसँगै भाषा, साहित्यको विकासमा पु¥याएको योगदानबारे चर्चा गरेका हुन् ।
प्रतियोगितामा सहभागी विद्यार्थीले कवितामा वीपी कोइरालाको राजनीतिक दूरदर्शिता, समाज सुधारमा गरेका सङ्घर्ष र साहित्यिक योगदानलाई प्रमुख रूपमा उठाउँदै नेपाली समाजलाई प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रताका लागि गरेको सङ्घर्ष कवितामार्फत् प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीले वीपी कोइरालाको योगदानलाई कविताका माध्यमबाट प्रकट गर्दै विद्यार्थी आयुष देवकोटाले राजनीतिक, सामाजिक तथा साहित्यिक क्षेत्रमा पु¥याएको योगदानको नेपाली जनताले सधैँ स्मरण गर्ने बताए ।
कोइरालाको जीवन, विचार र योगदानलाई कवितामा उतारेका देवकोटाले कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखाएको नेतृत्व, समाजको परिवर्तनका लागि गरेका सङ्घर्ष र साहित्यमा पु¥याएको योगदानका कारण सधैँ जनताको मनमा रहन सफल भएको बताए । वीपी कोइराला केवल राजनीतिज्ञ मात्र नभएर साहित्यिक क्षेत्रमा ठुलो योगदान पु¥याएको भन्दै त्यही योगदानका कारण नेपालमा परिवर्तन भएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुबाङकमा कक्षा १० अध्ययनरत निर्मला सुनारले बताएकी थिइन् ।
आर्थिक रूपमा सम्पन्न परिवारमा जन्मिएर पनि देश र जनताका लागि त्याग गर्ने महामनाव कोइरालाको विचार र दर्शनले आजको पुस्तालाई प्रेरणा दिने गरेको बताएका थिए । उनीहरू जस्तै कार्यक्रममा सहभागी तीन दर्जन बढी विद्यार्थीले कविताका माध्यमबाट कोइरालाको व्यक्तित्व र योगदानको चर्चा गरेका थिए । नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी वक्ताले कांग्रेस दाङले आयोजना गरेको कार्यक्रमले वीपीको योगदान, विचार र जीवनीबारे नयाँ पुस्तालाई जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् पूर्वमन्त्री राजु खनालले वीपीको योगदानबारे चर्चा गर्दै जहानिया राणा शासनको अन्त्य गर्दै जनतालाई अधिकार सम्पन्न बनाउनदेखि आधुुनिक नेपालको निर्माणका लागि महत्वपूर्ण योगदान रहेको बताएका थिए । वीपीले आफ्नो राजनीतिक यात्रा मात्र नभई साहित्यिक योगदानबाट पनि नेपाली समाजलाई नयाँ दिशा दिन सफल भएको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयले प्रतियोगिता केवल साहित्यिक सिर्जना गर्न मात्र नभएर वीपीको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । उनीहरूले देश र जनतालाई माया गर्ने, अत्यन्त दूरदर्शी, सबैलाई मिलाउनु पर्छ भन्ने भावना रहेका वीपी सबैका प्रिय नेता भएको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति मोहनलाल वली, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पुष्पा श्रेष्ठ, नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति भीमप्रकाश खडका, घोराही उपमहानगरपालिका–१० का वडाध्यक्ष एवम् नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिहरू दीपक पाण्डेय, देवका नेपाली, मधु न्यौपाने, श्याम सुवेदी, गोमा रावत, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं २ (क) का सभापति प्रकाश श्रेष्ठ, क्षेत्र नं. २ (ख) का सभापति अभियान बस्नेत, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेपाल तरुण दलका केन्द्रीय सदस्य सनत घिमिरे, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–१४ का सभापति टेकबहादुर बुढाथोकी, नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
गोरखाका देवकोटा प्रथम
अन्तर माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितामा गोरखा इन्टरनेसनल पब्लिक माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी आयुष देवकोटा प्रथम भएका छन् ।
नेपाली कांग्रेस दाङले १११औँ वीपी जयन्तीको अवसरमा भएको अन्तर माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितामा सहभागी ६० बढी विद्यार्थीलाई पछि पार्दै देवकोटा प्रथम भएका हुन् । प्रथम भएका विद्यार्थी देवकोटाले नगद दश हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी प्रतियोगितामा घोराहीकै पद्मोदय नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सुप्रिया शर्मा द्वितीय, सिद्धार्थ एकेडेमी घोराहीमा कक्षा ८ मा अध्ययनरत अंशु पौडेल तृतीय भए ।
द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीले नगद सात हजार र पाँँच हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरहेका छन् । यसैगरी प्रतियोगितामा वीपी कोइराला माध्यमिक विद्यालय बयालेमा अध्ययनरत सुजाता पङ्गाली र सिद्धार्थ एकेडेमी घोराहीमा अध्ययनरत इप्सा न्यौपानेले सान्त्वना स्थान प्राप्त गरहेकी छन् । सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीले नगद १५÷१५ सयसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बालिका लम्सालले गरेकी थिइन् । प्रतियोगितामा सहभागी विद्यार्थीबाट छनोट गरेर ३६ जना विद्यार्थीलाई कार्यक्रममा कविता वाचनका लागि सहभागी गराइएको थियो ।
