लीला शाह
दाङ,१३ भदौ । दाङमा पानी उद्योगहरुको अनुगमन गरिएको छ । पानीको मुल्यमा एक रुपता नभएको, सरसफाईमा ध्यान नदिने गरेको कतिपय उद्योग प्रक्रिया नै पुरा नगरेर सञ्चालन भएको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले पानी उद्योगको अनुगमन गरेको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी साबित्रा पुनको नेतृत्वमा देउखुरी क्षेत्रमा रहेको तीन वटा खानेपानी उद्योगहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा लमही नगरपालिका–५मा रहेको देउखुरी ड्रिङकिङ वाटर र वडा नं. ३ मा रहेको सत्स साई ड्रिङकिङ वाटर र राप्ती गाउँपालिकाको भालुबाङमा रहेको एस.एम. बि. ड्रिङकिङ वाटर प्रालीको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा पानी उद्योगमा समस्या देखिएपछि अनुगमन टोलीले एस.एम.बि. ड्रिङकिङ वाटर प्रालीलाई तत्काल खानेपानीको जार सफा गर्ने मेसिन राख्न निर्देशन दिएको निमित्त प्रमुख जिल्ला अधिकारी पुनले बताइन । जार सफा गर्ने मेसिन नै नराखेर पानी वितरण गर्ने गरेको पाइएकाले मेसिन जडान गरेर उपभोक्तालाई गुणस्तरीय पानी उपलब्ध गराउन निर्देशन दिएको बताइन । निमित्त प्रमुख जिल्ला अधिकारी पुनले भन्नुभयो,‘अनुगमनका क्रममा कतिपय उद्योग मापदण्ड नप¥याएर पानी उद्योग सञ्चालन गरेको र सरसफाईमा पनि ध्यान नदिइएको भेटिएपछि तत्काल सुधार गर्न निर्देशन दिएका छौ । फेरी अनुगमनका कैपियत देखिए कारवाही गर्ने छौ ।’
त्यसैगरी गरी तोकिएको अबधिभित्र संस्था नबिकरण गर्नुपर्ने, उद्योगभित्रको सरसफाईमा ध्यान दिनुपर्ने, पानीको प्लान्टभित्र प्रबेश गर्दा बाहिरबाट प्रवेश गर्ने व्यक्तिले लगाउने छुट्टै जुत्ता–चप्प्लको व्यवस्था गर्न निर्देशन दिएको खाद्य निरीक्षक राजेश चौधरीले जानकारी दिएका छन् । उनका अनुसार बोत्तलमा भरिएको पानी र जारको पानी शुद्ध भनेर उपभोक्ताले मुल्य तिरेर किन्ने गरेकोले त्यसको शुद्धतामा सचालकहरुले बिशेष ध्यान दिनुपर्ने अनुगमनका क्रममा सुझाव दिइएको बताए ।
जिल्ला प्रशासन कार्यालय दाङका निमित्त प्रमुख जिल्ला अधिकारी साबित्रा पुनको नेतृत्वमा गएको अनुगमन टोलीमा खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय खाद्य निरीक्षक राजेश चौधरी, देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशव घिमिरे, लमही नगरपालिकाका शाखा अधिकृत महेश थापा ठेडी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक रकमबहादुर खड्कालगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।