calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

कुरिलो खेतीबाट आम्दानी लिँदै डिल्ली

नारायण खड्का
दाङ, १२ भदौ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका निवासी ६० बर्षीय किसान डिल्लीबहादुर केसी १२ वर्षअघिसम्म निजामती सेवामा थिए । उनी सरकारी जागिरे भएपनि परिवारजनले भने व्यावसायिक रूपले कुखुरापालन गर्थे । जब उनको पेन्सन पाक्यो त्यसपछि जागिर छोडे ।

पेन्सन पाके पनि अनिवार्य अवकाश पाउने समय १० वर्ष बाँकी थियो । तर व्यवसाय गर्ने हुटहुटीले २०६९ सालमा स्वइच्छिक अवकाश लिए अनि पारिवारिक व्यवसाय कुखुरापालनमा लागे । अहिले पनि उनको फार्ममा करिब आठ हजार कुखुरा छन् ।

कोरोना महामारीपछि भने डिल्लीको मन कुरिलो खेतीले तान्यो । कोरोना भाइरस सङ्क्रमणको महामारी फैलिएको समयमा डिल्लीले कुरिलोको चर्चा सुनेका थिए । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनेर मानिसले कुरिलो खोजी–खोजी खाने गर्थे । त्यतिखेर केही मानिस कुरिलो खोज्दै डिल्लीको घरमा पनि आए तर दिन पुग्ने गरी थिएन ।

उनले कृषि विकास कार्यालयमा काम गर्ने आफन्त भरत बस्नेतको प्रेरणाले १० वर्ष अघि आफ्नो बारीमा कुरिलोका २० वटा बिरूवा रोपेका थिए । त्यो कुरिलो घरायसी खपतमै सकिन्थ्यो । रोग प्रतिरोधात्मक क्षमता बढाउन कुरिलोको तरकारी खानु पर्छ भन्ने धारणा फैलिएपछि जब मानिसले कुरिलो खोज्न थालेपछि डिल्लीले यसको व्यावसायिक खेती गर्ने सोच बनाए ।

कुरिलो भिटामिनयुक्त र औषधीय गुण भएको तरकारी मानिन्छ । अशक्त, बिरामी, सुत्केरीलगायत सबैका लागि लाभकारी छ भन्ने विश्वास छ । डिल्लीले अन्य तरकारी खेतीभन्दा कुरिलो खेती गर्न सजिलो भएको बताउँछन् । उनका अनुसार कुरिलोमा विषादी प्रयोग गर्नु नपर्ने र थोरै लगानीमा गर्न सकिन्छ । कुरिलोको माग र बजार मूल्यबारे समेत उनले अध्ययन गरेका थिए ।

निकै महँगोमा बिक्री हुन्छ भन्ने थाहा पाएपछि आफ्नो ठाउँ कुरिलो खेती लागि उपयुक्त छ भन्ने पनि थाहा पाए । अन्ततः डिल्ली व्यावसायिक रूपमा कुरिलो खेती गर्ने निष्कर्षमा पुगे । आफ्नो निष्कर्ष श्रीमती निर्मलालाई पनि सुनाएको बताउँदै उनले भने, ‘घरमा सल्लाह मिल्यो । आफ्नै साडेतीन कट्ठा जग्गामा कुरिलो खेती गरेको हु, अहिले राम्रो आम्दानी भइरहेको छ ।’

उनले अमेरिकी भनिने ‘जर्सी सुपुर’ जातको कुरिलो लगाएका छन् । उनका अनुसार यो जातमा मोटो टुसा (मुना) हुन्छ । उनले यो जातको कुरिलोको बिउ ६ वर्ष अघि अमेरिकामा रहेका मामाका छोरामार्फत् मगाए । त्यही बिउबाट बेर्ना बनाएर आफ्नो साडेतीन कट्ठा जग्गामा रोपे । उत्पादन राम्रो भएपछि थोरथोरै विस्तार गर्दै अघि बढे ।

दुई वर्षअघि उनले स्थानीयवासी तीन जनाको मिलाएर २७ कट्ठा बाँझो जमिन प्रतिकट्ठा वार्षिक दुई हजार रुपैयाँका दरले भाडामा लिए । डिल्लीले जग्गामा तारबार गरे । सबै प्रबन्ध मिलाएर २४ कट्ठामा कुरिलो रोपे । अहिले आम्दानी लिन सुरु भइसकेको छ । ‘मलाई गाउँलेहरू हामीले गाईभैंसी चराउने ठाउँमा तारबार गरेर के रोपेका हौ भन्थे’, उनले भने, ‘मैले आम्दानी लिन थालेको देखेर तिमीले ठिक ग¥यौ भन्न थालेका छन् । यो जमिनमा १० हजार बोट छन् । आफ्नो जग्गामा छुट्टै एक हजार बोट छन् ।

दाङमा अरू केही किसानले पनि कुरिलो खेती गरेका छन् तर डिल्लीको जति क्षेत्रफलमा छैन, थोरथोरै छ । गत वर्ष जिल्ला वन कार्यालय, दाङले केही सामुदायिक वनमा कुरिलो रोपाउने प्रयास गरेको भए पनि सफल हुन नसकेको जानकार बताउँछन् । डिल्लीका अनुसार दुई वर्षदेखि नै मुना निकाल्न सकिने भए कुरिलोबाट पूर्णमात्रा उत्पादन लिन बिरूवा तीन वर्षको हुनु पर्छ । उनी हाल दैनिक सरदर २० केजीसम्म कुरिलो बेच्दै आएका छन् । प्रतिकेजी न्यूनमत तीन सय रुपैयाँमा बिक्री हुने गरेको छ । पूरै खेतीले उत्पादन दिन थालेपछि दैनिक कम्तिमा ५० केजी कुरिलो बेच्छन् ।

डिल्ली अझै घरेलु ग्राहकमा सीमित छन् । धेरैजसो ग्राहक उनको बारीमै आइपुग्छन् । सबै ग्राहक घोराही क्षेत्रकै हुन् । उनी होटल र रेस्टुरेन्टलाई ग्राहक बनाउने क्रममा छन् । डिल्लीका छोरा गौरवले स्नातकोत्तर तहसम्म र छोरी गरिमाले स्नातक तहसम्मको पढाइ पूरा गरेका छन् । उनीहरू पनि खेतीमा सघाउँछन् । सिँचाइका लागि ‘थोपा सिँचाइ’ प्रणाली अपनाएका छन् । यसमा नौ लाख रुपैयाँ खर्च भएको डिल्लीले बताए । गोडमेलमा पनि केही खर्च लाग्छ । वर्षमा एकपटक गोठे मल प्रयोग गर्छन् ।

गोठे मलमा आफ्नै कुखुरा फर्माको मल मिसाउँछन् । कुरिलो खेतीमा नियमित काम गर्ने तीन जना कामदार छन् । ती कामदारले कुखुरापालनमा पनि सघाउँछन् । आवश्यकता अनुसार दैनिक ज्यालादारी कामदार पनि लगाउँछन् । सिँचाइका लागि डेडसय मिटर परको डिप बोरिङबाट पाइपमार्फत् पानी ल्याएका छन् । डिप बोरिङ ‘भूमिगत जल सिँचाइ विकास डिभिजन, लमही’ को हो । पानी भण्डारण गर्न सानो पोखरी बनाएका छन् । त्यहाँ जम्मा भएको पानीबाट थोपा सिँचाइको प्रबन्ध गरेका छन् । एकपटक रोपेपछि कुरिलोको बिरूवाले १२ देखि १५ वर्षसम्म नियमित उत्पादन दिन्छ । सिँचाइ, मलखाद र गोडमेल नियमित हुनु पर्छ ।

कुरिलोले जाडो मौसममा उत्पादन दिँदैन । बिरूवा नै नदेखिने भई सुषुप्त रूपमा जमिनमा रहन्छ । चैतमा मुना हाल्न सुरु भएपछि सामान्यतया कार्तिकभर उत्पादन दिन्छ । त्यसपछिका चार महिना उत्पादन शून्य हुन्छ । कृषि ज्ञान केन्द्र, दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार दाङमा डिल्लीको जति क्षेत्रफलमा कुरिलो खेती गरेको जानकारी छैन । कसैले पनि कुरिलोको बिउ मागेका छैनन् । करिब झन्डै १० वर्षअघि घोराहीका एक जना किसानले दुई बिघा क्षेत्रफलमा कुरिलो खेती गर्ने प्रयास गरेको भए पनि असफल भएको आफूले थाहा पाएको लामिछानेले बताए । उनका अनुसार कुरिलो खेतीका लागि दाङ उपयुक्त ठाउँ हो । कुरिलोलाई बलौटे दोमट माटो र पानी नजम्ने ठाउँ चाहिन्छ ।

मानिसले आफ्नो जग्गामा बजारको सम्भावना अनुसार थोरै भए पनि जुनसुकै कुनै खेती गरे फाइदा लिन सक्ने डिल्लीको विश्वास छ । जग्गा बाँझै छोड्ने प्रवृत्तिलाई गलत भन्दै उनी भन्छन्, ‘मान्छेहरू आफ्नो जग्गा बाँझै छोडेर साग, खुर्सानी, प्याज पनि किनेर खान्छन् । यसो गर्नु राम्रो होइन ।’ विदेश पलायन हुनुभन्दा आफ्नो माटोमा सम्भावना खोजेर गरिखान युवापुस्तालाई डिल्लीको सुझाव छ ।