दुधेना कृष्णमन्दिर, श्रीकृष्णाष्टमीको उल्लास र महाआरती

खेमराज रिजाल
तुलसीपुर, ११ भदौ । भगवान श्रीकृष्ण जन्मेको दिनलाई श्रीकृष्ण जन्माष्टमी पर्वका रूपमा मनाइन्छ । सरकारले सार्वजनिक बिदा पनि दिएको छ । यही विशेष दिनमा दाङको तुलसीपुर उपमहानगरपालिका स्थित दुधेना कृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा तीनदिने महाआरती सहित ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाइएको छ ।

सधैँ एक दिन मात्र कृष्णजन्माष्टमी उत्सवको रूपमा मनाइने परम्परालाई बढी धार्मिक महत्व झल्काउन मन्दिर व्यवस्थापन समितिले यो वर्षदेखि तीन दिनसम्म महाआरती सहित मनाउन थालिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटाले बताए । महाआरतीको शुभारम्भ आइतवार साँझदेखि नै गरिएको थियो । महाआरतीको शुभारम्भ प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गरेका थिए । आइतवार साँझ कम्तिमा ४२ जनाले महाआरतीमा सहभागिता जनाएका थिए । एक जनालाई आरतीको न्यूनतम शुल्क दुई हजार एक सय रुपैयाँ मन्दिर व्यवस्थापन समितिले निर्धारण गरेको मन्दिर व्यवस्थापन समितिका सचिव भुपबहादुर केसीले बताए । सोमवार राति करिब १२ बजेसम्म महाआरतीको कार्यक्रम जारी रहने छ ।

भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा हिन्दु पञ्चाङ्ग अनुसार भाद्र कृष्णपक्ष अष्टमीको मध्यरातमा भएकाले भक्तजनले मध्येरामा पूजाआजा गरी भोजन ग्रहण गर्ने प्रचलन रहेको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ पनि भनिन्छ । आजको दिन कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ तथा रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पाइन्छ । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ग्रन्थलाई ‘श्रीमद्भागवत् गीता’ पवित्र मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको ग्रन्थ हो ।

मन्दिर व्यवस्थापन समितिका अनुसार सोमवार साँझको आरतीका लागि कम्तिमा एक सय बढीले नाम दर्ता गराइसकेका छन् । महाआरतीका लागि भव्य मञ्च समेत आयोजकले व्यवस्थापन गरेको छ । दुधेना स्थित श्रीकेष्ण मन्दिरभित्र कृष्ण मन्दिर मात्र नभएर सूर्य नारायणको मन्दिर, शिव मन्दिरलगायत विभिन्न देवीदेवताका मूर्ति पनि छन् । आयोजकले यसलाई एउटा महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना बनाएको व्यवस्थापन समितिका अध्यक्ष सापकोटाले बताए । मन्दिर रहेको क्षेत्र सामुदायिक वन क्षेत्रभित्र पर्छ । यसले पनि धाार्मिक पर्यटनको प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।

अघिल्ला वर्षभन्दा यो वर्ष दुधेना स्थित श्रीकृष्ण मन्दिरमा भक्तजनको अत्यधिक भिड देखिएको तुलसीपुर उपमहानगरपालिका–३ का स्थानीय राजेन्द्र महताराले गोरक्षलाई बताए । मन्दिरमा दर्शन गर्न जाने सवारी साधनका लाइन तुलसीपुर बसपार्कदेखि नै छ । मन्दिरभित्र सहज रूपमा प्रवेश गरी श्रीकृष्ण झुला दर्शन र भजनकीर्तन तथा कथा श्रवणमा सहभागी हुनेका लागि भव्य मञ्च र टेन्टको व्यवस्थापन गरिएको छ । अधिकांशले आफ्ना साना छोराछोरीलाई भगवान श्रीकृष्णको पहिरनमा सिँगारेर मन्दिर दर्शनमा आएका देखिन्थे । नेपाली हिन्दु महिलाको महान पर्व तिजको भाकामा भजनकीर्तनमा नृत्य गर्नेको बाक्लो सहभागिता छ । युवतीदेखि वृद्धवृद्धा समेत भजनकीर्तनमा उत्साहपूर्वक नृत्य प्रस्तुत गरिरहेको देखिन्छन् । सवारी साधन व्यवस्थापनका लागि दर्जन बढी ट्राफिक प्रहरी परिचालित छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेना स्थित पहिलो पटक सञ्चालन हुन लागेको महाआरतीमा स्वामी श्री केशवाचार्य (सूर्यपाकी) महाराजको उपस्थितिमा सन्ध्याकालीन महाआरती सञ्चालन भइरहेको छ । बुटवलबाट भजन टोली तथा कृष्णलीला देखाउने कलाकार झिकाइएका छन् । ‘यो सहभागिताले हामीलाई हौस्याएको छ, हामीले यो अभियानलाई अर्को वर्ष पनि भव्य र सभ्य बनाउने प्रण गरेका छौँ’, अध्यक्ष सापकोटाले भने, ‘धर्म संकृतिको जगेर्ना, प्रवर्धन एवम् संवर्धनमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको सहयोगको पनि हामीले अपेक्षा गरेका छौँ ।’

उनले मङ्गलवार पनि कृष्ण मन्दिरमा भजनकीर्तन तथा महाआरती चल्ने भएकाले सहभागिताका लागि भक्तदनहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन् । अपिल पनि गरेका छन् । यसैगरी लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि दुधेना स्थित कृष्ण मन्दिर पुगेका थिए । विभिन्न जातजाति र समुदायका विविध धर्म संस्कृति एवम् परम्परालाई संरक्षण र संवद्र्धन गर्नु राज्यको दायित्व भएको भन्दै पूर्व मुख्यमन्त्री चौधरीले यस क्षेत्रलाई उत्कृष्ट धार्मिक एवम् पर्यटकीय स्थल बनाउन आफूले पहल गर्ने बताएका थिए ।