गोरक्ष समाचारदाता
काठमाडौं, ९ भदौ । समग्र आर्थिक एवम् भौतिक विकासको माग लिएर दाङका जनप्रतिनिधि र प्रधानमन्त्रीबिच शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बृहत छलफल भएको छ । प्रधानमन्त्रीसँग जनप्रतिनिधिहरूको भेटघाटको समन्वय नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर ३ का सांसद दीपक गिरी र एमाले महासचिव शंकर पोख्रेलले गरेका थिए ।
प्रधानमन्त्रीसँग यी विषयमा करिब आधाघण्टा छलफल भएको भेटवार्ता समन्वयकर्ता गिरीले बताएका छन् । दाङको समग्र विकासको मागपत्र कांग्रेस नेता गिरीले पढेर सुनाइसकेपछि प्रधानमन्त्रीको सचिवालयलाई बुझाएका छन् । जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको मागपत्रमा दाङ जिल्लाको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलको धावनमार्ग स्तरोन्नतिका लागि डिपिआर गर्ने र यसका लागि आवश्यक बजेट विनियोजन गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
यसैगरी घोराही–तुलसीपुर चारलेन सडक यथाशीघ्र टेण्डर गर्ने, दाङसँग सीमा जोडिएको कोइलाबास भन्सार नाकालाई सुचारु गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा प्राप्तिलाइ तत्काल स्वीकृत गरी प्रतिष्ठानमा एमबिबिएस तहको पढाइ तत्काल सुरु गर्ने, दंगीशरण राजाको पहिचान थारू संस्कृति झल्किने सुकौरा राजकोटको पुनःनिर्माणका लागि पाँच करोड रुपैयाँ विनियोजन गर्ने, सुकौरा–चरकमटिया सडकमा आवश्यक बजेट विनियोजन गरी टेण्डर गर्ने, देउखुरी उपत्यकामा रिङरोड निर्माण गरी मेट्रो बस सञ्चालन गर्ने, राप्ती बबई क्याम्पसलाई त्रिविविको आङ्गीक क्याम्पस बनाउने माग समेटिएका छन् ।
यसैगरी मागपत्रमा राप्ती र बबई नदीको दुवैतर्फ तटबन्ध निर्माण गर्ने, दाङ उपत्यकामा चक्रमथ तथा बबई करिडोर निर्माण गरी मेट्रो बस सञ्चालन गर्ने, ग्वारखोला हाइड्याम निर्माण प्रक्रिया अघि बढाउने, स्वर्गद्वारी आश्रम र नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वमा रहेको अतिक्रमित जग्गा संरक्षण गरी सदुपयोग गर्ने तथा बेलझुण्डी आयुर्वेद चिकित्सा शिक्षण अस्पताल बिजौरीको स्तरोन्नति गर्नेलगायतका माग मागपत्रमा समेटिएका छन् । मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफू दाङको एयरपोर्ट स्तरोन्नतिका लागि सकारात्मक भएको भन्दै धावनमार्ग विस्तारका लागि नेपाल सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गर्न अर्थमन्त्रयलाई निर्देशन दिने तथा अन्य बाँकी काम हवाई उड्ययन प्राधिकरणले गर्ने भेटघाटमा सहभागी जनप्रतिनिधिलाई आश्वासन दिएका थिए ।
‘भैरहवामा एयरपोर्ट छ, नेपालगञ्जमा पनि एयरपोर्ट छ, सुर्खेतमा पनि एयरपोर्ट छ तर बिचमै बनेको तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तरोन्नति गर्न अत्यन्तै आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि आफूले गम्भीरतापूर्वक पहल गर्ने छु ।’ प्रधानमन्त्री ओलीले पश्चिम क्षेत्रका अन्य विमानस्थल खराब भएको समयमा वैकल्पिक रूपमा दाङमा एयरपोर्ट आवश्यक रहेको प्रधानमन्त्री ओलीले जनप्रतिनिधिबिच स्वीकार गरेका थिए ।
‘प्रधानमन्त्रीलाई टरिगाउँ विमानस्थलको धावनमार्गको वृद्धिलगायतका विविध विकास निर्माणका विषयमा मागपत्र बुझाएका छौँ, मागपत्रप्रति प्रधानमन्त्री ओलीले देखाएको चासोप्रति हामी आशावादी छौँ’, डेलिगेसन संयोजक तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य, सङ्घीय सांसद एवम् पूर्व सिँचाइमन्त्री गिरीले भने । उनले समग्र दाङको आर्थिक समृद्धि एवम् भौतिक विकासमा आफू निरन्तर लागिरहने पनि प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा नेकपा एमालेका केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोख्रेलले पनि जनप्रतिनिधिबाट आएका मागलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई अनुरोध गरेका थिए । प्रदेशको स्थायी राजधानी भएको स्थानमा एउटा पनि नियमित हवाई सेवा हुन नसक्नु नितान्त दुर्भाग्य भएको बताउँदै पोख्रेलले टरिगाउँ विमानस्थलको तत्काल धावनमार्गको स्तरोन्नति र चारलेन सडकको चाँडै टेण्डर गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री समक्ष मागपत्र लिएर संयोजक गिरीसहित नेपाल कम्युनिस्ट पार्टीका महासचिव पोख्रेल, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्का, एयरपोर्टमा निरन्तर चासो लिँदै आएकी तुलसीपुर उपमहानगरकी उपप्रमुख स्यानी चौधरी, घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी, तुलसीपुर च्याम्बर अफ कमर्शका अध्यक्ष ऋषि भण्डारी, पूर्व अध्यक्ष टोपबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका पूर्व नगर प्रमुख घनश्याम पाण्डे, पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मी, नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीलगायतका जनप्रतिनिधि तथा उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।
‘प्रधानमन्त्रीको आश्वासनप्रति हामी आशावादी छौँ, सम्भवतः यही आर्थिक वर्षमा टरिगाउँ विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढ्नेमा हामी शतप्रतिशत आशावादी छौँ’, एयरपोर्टका विषयमा जनप्रतिनिधि निर्वाचित भएलगत्तै विशेष चासो राख्दै आएकी तुलसीपुर उपमहानगरपालिका उपप्रमुख चौधरीले गोरक्षलाई टेलिफोनमा भनिन् । प्रधानमन्त्रीको आश्वासनप्रति उद्योगी व्यवसायी पनि सकारात्मक देखिएका छन् । ‘टरिगाउँ विमानस्थलको धावनमार्गको स्तरोन्नति र चारलेन सडकको चाँडै ठेक्का हुन्छ भन्नेमा हामी प्रधानमन्त्री ओलीको अभिव्यक्तिबाट आशावादी छौँ’, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष केसीले गोरक्षलाई प्रतिक्रिया दिए । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष जोशी पनि प्रधानमन्त्रीले दिएको आश्वासनमा विश्वस्त रहेको अभिव्यक्ति दिएका छन् ।
विसं २०११ मा स्थापना भएर घाँसे मैदानमा नियमित हवाई सेवा सुरु गरेको टरिगाउँ विमानस्थल पछिल्लो समयमा कालोपत्रे भएर पनि सेवा नियमित हुन सकेको छैन । जम्मा सात सय ५० मिटर मात्र लम्बाइको धावनमार्ग रहेको सो विमानस्थलमा १८ सिटे टुइनअटर जहाज बाहेक अन्य ठुला जहाजले उडान भर्न सक्दैनन् । पछिल्लो समयमा त्यही १८ सिटे जहाजको हवाई सेवा समेत बन्द भएको छ ।