घोराही, ४ भदौ । विपतको समयमा प्रदान गर्नुपर्ने न्यूनतम यौन तथा प्रजनन् स्वास्थ्य सेवामा ध्यानदिनपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
विश्व मानवीय दिवसका अवसरमा मानवताका लागि कार्य भन्ने नाराका साथ नेपाल परिवार नियोजन संघ दाङ शाखाले सोमबार घोराहीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्ने बक्ताहरुले विपतको समयमा राहत तथा पुनस्थापनासँगै यौन तथा प्रजनन् स्वास्थ्यलाई पनि प्राथमिकताा राख्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विपतका बेला उद्धार, राहत र पुनस्र्थापनालगायत विषयमा सबैको ध्यान जाने तर यौन तथा प्रजनन् स्वास्थ्य जस्तो सम्बेदनशील विषयमा धेरैको ध्यान नजाँदा विपतमा परेकाहरुले अनेकौँ समस्या भोग्नु पर्ने अवस्था रहेको सहभागीले बताएका थिए ।
भूकम्प, आगलागी, बाढी, पहिरो, महामारी जस्ता विपतमा राज्यको ध्यान अरु विषयमा बढी हुने तर विपतका बेला गर्भवती, सुत्केरी, अशक्त, महिला, किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्यमा गम्भीर असर गरी शारिरीक तथा मानसिक समस्या उत्पन्न हुने अवस्थाप्रति सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए ।
विपतका बेला अपनाउनु पर्ने न्यूनत आवश्यक सेवा प्याकेजमा तीन तहका सरकार र संघसंस्था बीच सहज सरल समन्वय स्थापित गरेर विपतमा काम गर्न सकेमा विपतको समयमा प्रदान गर्नुपर्ने न्यूनतम यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रभावकारी हुने उनीहरुको भनाई थियो ।
यौन तथा प्रजनन् स्वास्थ्यका लागि न्युनतम प्रारम्भिक सेवा सुनिश्चित गर्ने प्रमुख स्वास्थ्य सेवा प्रदायक संस्थाको पहिचान गर्ने, यौन हिंसा रोक्ने र हिंसा प्रभावितहरूको आवश्यकतालाई सम्बोधन गर्ने, एचआईभी र अन्य यौन रोगहरूको सर्ने दर तथा त्यसको कारणले हुने बिरामी र मृत्युदर घटाउने तर्फ ध्यान दिनुपर्ने सहभागीहरुको जोड थियो ।
यसैगरी, मातृ तथा नवजात शिशु बिरामी हुने र मृत्यु हुने दरमा कमी ल्याउन पहल गर्ने, अनिच्छित गर्भधारण रोकथामका लागि प्रयास गर्ने, वृहत् यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरूको लागि योजना बनाउने, सकेसम्म चाँडो प्राथमिक स्वास्थ्य सेवामा एकीकृत गर्ने र स्वास्थ्य सेवाका ६ वटै प्रणालीसँग सम्वद्ध समुह वा उपसमुहसँग सहकार्य गर्ने काममा विशेष ध्यान दिनुपर्ने सरोकारवाला सबैको भनाई थियो ।
नेपाल परिवार नियोजन संघ दाङ शाखा कोषाध्यक्ष माया पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका कमल चन्द, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडेल, विपत व्यवस्थापन शाखा प्रमुख सुनिल कुमार शर्मा,नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमलगायतले विपतको समयमा हुन सक्ने जोखिमसँगै, भईरहेको प्रयास र सुधार गर्नुपर्ने पक्षका बारेमा धाराना राखेका थिए ।
परिवार नियोजन संघ शाखा प्रबन्धक बसन्त खनालले दिवसको सन्दर्भ र विपतको समयमा प्रदान गर्नुपर्ने न्यूनतम यौन तथा प्रजनन् स्वास्थ्य सेवाका विषयमा जानकारी गराएका थिए ।