बेसको ‘जीवन रूपान्तरण’ परियोजना

खेमराज रिजाल
दाङ, १ भदौ कुनै बेला थारू समुदलायले चाडपर्वमा नाचेर कमाएका लाल्टिनबाट गाउँगाउँमा साक्षारता अभियान थालेको दाङ जिल्लामा क्रियाशील गैरसरकारी संस्था व्याकवार्ड सोसाइटी एजुकेसन अहिले दक्ष र सक्षम नाागरिक उत्पादनका लागि स्वास्थ्य अभियानमा जोडिएको छ ।

यस अघि विभिन्न आठवटा शीर्षकमा परियोजना सम्पन्न गरिसकेको बेसले पछिल्लो पटक बालबालिका र आमाहरूको पोषण सुधारको कार्यक्रम ल्याएको छ । यसमा हेलेन केयर इन्टरनेसनल र डिआइडी संस्थाले सहयोग गरिरहेका छन् । बेसले यी परियोजनाको सहयोगमा दाङ जिल्लाका १० वटै पालिकामा पोषणमार्फत् दक्ष नागरिक निर्माण गर्ने अभियानमा जुटेको छ । यही अभियान जिल्ला समन्वय समितिको आयोजना र बेसको क्रियाशीलता र हेलेन केयर तथा डिआइडी नेपालको सहयोगमा सुभारम्भ गरिएको छ ।

जिल्ला समन्वय समितिका संयोजक नित्यानन्द शर्माको अध्यक्षतामा भएको परियोजना ब्रिफिङ कार्यक्रममा कुपोषण घटाउन स्थानीय सरकारले पनि सहयोग र सहकार्यको प्रतिबद्धता व्यक्त गरेका छन् । बालबालिकामा हुने कुपोषण न्यूनीकरणका लागि जिल्लाका १० वटै पालिका प्रमुख तथा स्वास्थ्य शाखाहरूले पनि प्रतिबद्धता जनाउँदै स्थानीय सरकारका शिक्षा तथा जनस्वास्थ्य महाशाखाको पनि समन्वयको अपेक्षा गरेका छन् । यद्यपि सहभागीको गुनासो अनुरूप स्वास्थ्य इकाइले भने स्वास्थ्य प्रवर्धन शाखालाई आधिरिक रूपमा कुनै पनि सहयोग नगरेको पालिकाका स्वास्थ्य प्रमुखहरूको गुनासो थियो ।

कार्यक्रमको सुरुआतमै बेसको परिचय दिँदै बेसकी परियोजना संयोजक पिङ्की डाँगीले पर्वमा भैलो खेलेर बटुलेको ७ सय रुपैयाँले बेस कार्यालय सञ्चालन भएको अभिव्यक्ति दिँदै अब बेसले जनअपेक्षा अनुसारका काम गर्नेलगायतका विषयमा जानकारी दिएकी थिइन् । साथै उनले त्यस बेलाको शैक्षिक अभियानको लाल्टिनको उज्यालालेलाई अझै चम्काउने गरी बेसले विभिन्न क्षेत्रमा परियोजना सञ्चालन गरेको अभिव्यक्ति दिइन् । बेस आफैँ पनि सङ्घर्षबाट जन्मिएको संस्था भन्दै उनले अहिले बेसले थालेका सबै अभियानलाई स्थानीय सरकारले पनि अपनत्व लिने र निरन्तरता दिन आग्रह गरेकी थिइन् ।

भर्खरै जिल्लामा सुरु भएको पोषणमार्फत जीवन रूपान्तरण परियोजनालाई सफल पार्न थुप्रै चुनौती भएको सहभागी स्वास्थ्यकर्मीले बताएका थिए । जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख राधा पौडेलले आइरन चक्की सबै विद्यालयमा पु¥याउन पनि शिक्षा शाखाले आवश्यक सहयोग नगरेको बताइन् । यसैगरी शान्तिनगर गाउँपालिका स्वास्थ्य प्रमुखले पनि सरकारको तालिका अनुसार आइरन चक्की विद्यालयमा खुवाउन समेत समस्या हुने बताउँदै यसलाई परिमार्जन गर्ने सुझाव दिएका थिए । पहिलो दृष्टि शिक्षामा हुँदा पनि यसमा स्वास्थ्यलाई नजोडिएकोमा स्वास्थ्यकर्मीले गुनासो गरेका थिए । यस्तै गुनासो तुलसीपुर जनस्वास्थ्य प्रवर्धन शाखाका ओमपी न्यौपानेले पनि गरेका थिए । औषधी खुवाउने तालिका र विद्यालयको क्यालेन्डर सहमतिमा निर्माण गर्न उनले आयोजकलाई स्वास्थ्य मन्त्रालयसँग पनि आग्रह गर्न अनुरोध गरेका थिए ।

सो अवसरमा दाङको समग्र पोषणको अवस्थाका विषयमा फोषण फोकल पर्सन रिता न्यौपानेले जानकारी गराएकी थिइन् । लुम्विनी प्रदेश मुलुकका सातै प्रदेशमध्ये स्वास्थ्य क्षेत्रमा सबैभन्दा तल्लो तहमा छ । यो नितान्त गम्भीर अवस्था रहेको भन्दै यसलाई सुधार गर्न जिल्लाका १० वटै पालिकाका प्रतिनिधिले स्वास्थ्यलाई शिक्षासँग जोडेर नयाँ आयामका साथ स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले व्यक्त गरे । यसमा आफूहरू अत्यन्तै गम्भीर भएको भन्दै सरकारी अभियान र प्रदेशको स्वास्थ्य अवस्था उकास्न आफूले भरमग्दुर प्रयत्न गर्ने अभिव्यक्ति दिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले यहाँका सबै स्थानीय निकायले तयार पारेको स्थानीय पाठ्यक्रम आफूले हेरेको बताउँदै पोषण, खानपान र आनीबानीका विषयमा कुनै पनि पाठ्यक्रममा उल्लेख नभएको बताएका थिए । ‘स्थानीय पाठ्यक्रममा पोषणको कुनै अवस्था उल्लेख छैन, कस्तो भान्सामा खाना खानेदेखि नैतिक आचरण समेत स्थानीय पाठ्यक्रममा उल्लेख भएको देखिनँ’, उनले भने, ‘शिक्षा मन्त्रालयबाट हायर गरेर स्थानीय पाठ्यक्रम निर्माण गरिनु पर्ने मेरो व्यक्तिगत सुझाव हो ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक शर्माले मुलुकका सात वटा प्रदेशमा सबैभन्दा तल्लो स्वास्थ्य तह लुम्बिनी प्रदेश भएकोमा चिन्ता व्यक्त गर्दै भान्सा सुधार्न आग्रह गरे । ‘हरेक रोग भान्साबाटै सुरु हुन्छ, हरेक रोगको उपचार पनि भान्साबाटै हुन्छ, त्यसैले खानपिनले मात्रै जनताको स्वास्थ्य सुधार हुने उनको अभिव्यक्ति थियो । साथै यो परियोजनाले भान्सा सुधारदेखि अस्पतलमा बोतलबाट ल्याक्टोजिन खुवाउने प्रवृत्तिलाई पनि क्रमिक रूपमा निराकरण गर्न आग्रह गरेका थिए । सो अवसरमा हेलेन केयरका प्रतिनिधि भरत शर्मा र आइडिइका प्रतिनिधि कल्पना धितालले समेत आ–आफ्नो प्रस्तुति देखाएका थिए । जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रमको सहजीकरण कार्यलयकी नायव सुब्बा बिमला पाण्डेले गरेकी थिइन् ।