सुशील कोइराला त्याग, सर्मपन र निष्ठावान् नेता

गोरक्ष समाचारदाता
दाङ, २९ साउन । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाका त्याग, समर्पन र निष्ठावान् नेता भएको कार्यक्रमका सहभागीले बताएका छन् । स्वर्गीय कोइरालाको ८५औँ जन्म जयन्तीका अवसरमा सोमवार नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले घोराहीमा आयोजना गरेको कार्यक्रमका सहभागीले देश, जनता र पार्टीलाई सधैँ उच्च प्राथमिकतामा राखेर राजनीति गर्ने नेता भएको बताएका हुन् ।

सत्ता, शक्ति र धनभन्दा देश र जनालाई प्राथमिकतामा राखेर विचार र सिद्धान्तमा प्रतिबद्ध स्वर्गीय सभापति कोइरालाका कारण देशले आजको संविधान प्राप्त गरेको बताएका थिए । पार्टीमा त्याग, योगदान र समर्पण गरेका नेतालाई प्राथमिकता दिनु पर्ने भए पनि पछिल्लो समय धन, सत्ता र शक्तिलाई प्राथमिकतामा राख्दा त्यागी नेता ओझेलमा पर्ने गरेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयले बताए । पछिल्लो समयमा एकले अर्काको अस्तित्व स्वीकार नगर्ने समयमा निष्ठा र त्यागको राजनीति गर्ने नेतालाई खोज्नु पर्ने बेला आएको भन्दै नेता पाण्डेयले, ‘सत्ता, शक्ति र धनलाई प्राथमिकता दिएर गरिने राजनीतिले पार्टीलाई फाइदा पुग्दैन ।

नेता तथा कार्यकर्ता समयमा सचेत हुनु पर्छ ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सहमहामन्त्री पाण्डेयले नेता जीवन अध्ययन गरेर आदर्शका कुरा गर्ने तर व्यवहारमा कहिलै लागु नगर्ने नेतामा प्रवृत्ति रहेको भन्दै पढेका मान्छेलाई व्यवहार लागु गर्न आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशरी गौतमले पूर्व पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला सरल व्यक्तित्व भएका राष्ट्रवादी र त्यागी नेता भएको बताए । संविधानका पिता एवम् कहिले पनि धान सम्पत्तिको लोभ नगर्ने नेताका रूपमा नेपाली राजनीतिमा आपूmलाई स्थापित गरेको भन्दै उनले नयाँ पिढीले उनको जीवनीबाट धेरै सकारात्मक कुराहरू जीवनमा अनुशरण गर्न आवश्यक रहेको बताएका हुन् ।

नेपाली कांग्रेसमा देश र जनताको हितका लागि आपूmलाई सर्वहारा नेताका रूपमा स्थापित गर्ने स्वर्गीय कोइरालालगायत धेरै नेता भएको भन्दै उनको योगदानलाई जनतासम्म बुझाउन सके कांग्रेसप्रति जनता आकर्षित हुने बताए । नेपाली कांग्रेस दाङका पूर्व सभापति मोहनलाल वलीले पार्टी र जनताका लागि सधैँ प्रतिबद्ध, पदका लागि कहिलै लोभ नगर्ने नेता सुशील कोइराला भएको भन्दै पछिल्लो समय उनीजस्ता नेताको पार्टीमा अभाव रहेको बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले स्वर्गीय कोइरालाले संविधानदेखि पार्टी संगठन निर्माण र उनको सादगी जीवनीको चर्चा गर्दै राजनीतिमा सफल हुनका लागि उनका सकारात्मक पक्षलाई अनुशरण गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापतिहरू कमानसिंह भारती, गिरिराज सुवेदी, महासमिति सदस्य भुपबहादर डाँगी, महाधिवेशन प्रतिनिधि बमबहादुर डिसी, नेपाली कांग्रेस क्षेत्र नं २ (क) सभापति प्रकाश श्रेष्ठ, नेपाल महिला संघकी यशोदा पाण्डेय, नेपाल दलित संघ दाङका अध्यक्ष बाबुराम विश्वकर्मा, नेपाली कांग्रेस घोराहीका नगर सभापति तिलक रावत, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–१८ का सभापति केशरबहादुर रावत, घोराही उपमहानगरपालिका–४ का सभापति नारायण घर्तीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली कांग्र्रेस दाङ क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण सचिव हिमबहादुर डाँगीले गरेका थिए । कार्यक्रममा भर्खरै सम्पन्न नेपाल आदिबासी जनजाति महासंघको अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेपाली कांग्रेस दाङका पूर्व जिल्ला कोषाध्यक्ष सावित्रा राना मगर, नेता हुमबहादुर शेरचन थकाली र अम्विकेश्वरी मन्दिर संरक्षण समितिको उपाध्यक्षमा निर्विरोध निर्वाचित निरजा पोख्रेललाई सम्मान गरिएको थियो ।