महेश्वरप्रसाद पौडेल
आमा धर्ती हुन् । आमा सृष्टि हुन् । यो संसार आमाभित्र समाहित छ । आमा प्रेमका साक्षत मूर्ति हुन् । तिनै आमा, जसको काखमा लडीबुडी गर्दै हामी हुर्कियौ । आमा, जसको छातीमा टाँसिएर मनको वह पखाल्यौ । तिनै आमा, जसको औला समाएर हामीले हिँड्न सिक्यौ ।
आमाले हामीलाई बोल्न सिकाइन्, खेल्न सिकाइन् । उनी हाम्रो जन्मदाता, उनी हाम्रा गुरुआमा, उनै हाम्रो आदर्श, उनै हाम्रो खुशीको स्रोत ।
आमाको ऋण हामीले कहिल्यै तिर्न सक्दैनौ । आमाले हामीलाई प्राण दिनका लागि आफ्नो प्राणलाई दाउमा लगाएकी छिन् । आफु मृत्यु झेलेर हामीलाई जीवन दिएकी छिन् । आज उनै आमालाई सम्झने दिन आमा । आमाको महिमालाई स्मरण गर्ने दिन । तमाम आमाप्रति श्रद्धा, स्नेह, सम्मान गरौं, जसले सृष्टिलाई चलयमान बनाए ।प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित) आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।
छोराछोरीले आज विहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मिठामिठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएका भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
शास्त्रहरूमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाएको छ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुशी बनाइन्छ ।
दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाख कृष्ण औंसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुशी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ। जीवित आमालाई खुशी बनाउने र मृत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने धर्मशास्त्रविद्को भनाई छ ।