Goraksha

National Daily

मोफसलका व्यवसायी धरासायी छन् : महासचिव केसी

तुलसीपुर उद्योग वाणिज्य संघ उन्तिसँगै साधारणसभा र बिसौँ अधिवेशनको सङ्घारमा छ । साधारणसभा तथा अधिवेशनका लागि सदस्यता नवीकरणको काम सकिएको छ । साथै अधिवेशनको कार्यतालिका समेत सार्वजनिक भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको साधारणसभा आगामी वैशाख १५ गते सम्पन्न हुँदै छ । साथै वैशाख २९ गते नयाँ नेतृत्वको चयनका लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक भइसकेको छ । तुलसीपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा अधिवेशन भइरहँदा व्यवसायीको पलायनको अवस्था भने जर्जर रहेको छ ।

उपभोक्ता घटिरहेका छन् । हरेक दिन व्यवसाय छाडेर पलायन हुने पवृत्तिले व्यवसायीक भवनका सटर खाली हुँदै गरेका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले यसमा चिन्ता समेत व्यक्त गरेको छ । पछिल्लो समयमा मोफसलका व्यवसायीको समस्या, व्यवसायीको पलायन तथा मोफसलको आर्थिक मन्दीको समस्याका विषयमा केन्द्रित रहेर गोरक्षले तुलसीपुर उद्योग वाणिज्य संघका वर्तमान महासचिव तथा प्रखर युवा व्यवसायी विनिल केसीसँग गरेको कुराकानीको सारसंक्षेप ।

 तुलसीपुर उद्योग वाणिज्य संघले केहीाफ्नो उन्तीसाँै साधारणसभा र बिसौँ केहीधिवेशन गरिरहँदा तपाईहरूका मुख्य व्यवासायिक एजेण्डाहरूका विषयमा केही जानकारी गराइदिनुस न ?

 सबैभन्दा पहिले त मुलुकको अर्थतन्त्र अझै पनि गम्भीर खतराको अवस्थामा छ । हरेक दिन व्यवसाय छाडेर पलाईन हुने अवस्था छ । नागरिक समेत घटिरहेको अवस्था छ । यो अवस्थालार्ई हामीले गम्भीर रूपमा लिएका छौँ । त्यसैले आगामी साधारणसभामा हामीले पहिलो एजेण्डाका रूपमा यस अघि उद्योग वाणिज्य संघले गरिरहेका गतिविधिको निरन्तरतालार्ई प्राथमिकतामा राख्ने छौँ । त्यसमा सामाजिक अभियानदेखि व्यवासायिक समृद्धिदेखि व्यवसाय उत्थानका लागि दिइने सहयोग र सचेतना कार्यक्रम पनि हुने छन् ।

त्यसपछिको हाम्रो अभियान भनेको विद्यमान अर्थतन्त्रलार्ई उकास्न मोफसलमा रहेका व्यवसायीलार्ई के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भनेर हामीले प्रदेश उद्योग वाणिज्य संघमार्फत् नेपाल उद्योग वाणिज्य संघसँग पनि निरन्तर परामर्श गरिरहेका छौँ । ताकि यहाँको बजारलार्ई चलाईमान बनाउन सकौँ र यहाँको पैसालार्ई यही क्षेत्रमा खर्च हुने वातावरण बनाउन सकौँ । अर्को कुरा पनि मैले तपाईलार्ई स्मरण गराउन चाहन्छु कि हामीलार्ई उद्यमशिलताको विकास अपरिहार्य भएको छ । यसका लागि यहाँको सम्भावना भनेको कृषि र पर्यटन क्षेत्रकै हो । यसमा साना तथा मझौला उद्योग यही सञ्चालन गरेर व्यवासायिक विस्थापन एवम् युवा विस्थापनको अवस्थालाई न्यूनीकरण गर्न चाहेका छौँ ।

एक वर्ष एक उद्यमशिलताको अभियानमा हामी जुटेका छौँ । ताकि स्थानीय तहमै केही कमाइ होस् अनि केहिले स्थानीय स्तरमै रोजगारीको अवस्था पनि पाउन भन्ने हाम्रो आधारशिला हो । यसका लागि समबन्धित इच्छुक व्यवसायीलाई अनुशिक्षण तालिम दिने र उद्यमशिलताको विकासमा लगाएर साना तथा मझौला उद्योगको स्थापनालाई राज्यको पनि सहयोग जुटाउने हाम्रो ध्येय रहेको छ । यसमा हामीले स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार समक्ष पनि हाम्रा मागलाई हाम्रा प्रादेशिक संरचनामार्फत् संघसम्म पु¥याउने तयारीमा पनि छौँ । त्यसैगरेर अर्को व्यवसायीक एजेण्डा भनेको व्यवासायीलाई आधुनिक सूचना प्रविधिमा जोडेर करको दायरामा ल्याउने र कर करले होइन रहरले तिर्ने वातावरणको पनि व्यवस्थापन गर्ने हाम्रो अर्को एजेण्डा रहेको छ ।
त्यसैगरी यहाँका व्यवासायीको जल्दो बल्दो समस्याका रूपमा रहेको घरवहाल करको समस्या हो । हामीले यो विषयमा के निक्यौल गरेका छौँ भने घरवहाल कर व्यवसायीले तिर्ने होइन, घर धनीले तिर्ने हो । त्यसैका लागि हामीले यो विषयमा स्थानीय सरकारसँग सहकार्य गरी घरवहाल करका विषयमा घर धनीलाई नै तिर्नु पर्ने व्यवस्थापनका लागि प्रतिवद्ध छौँ ।

हाम्र्रो अर्को समस्या भनेको व्यवसायीक सुरक्षाको पनि हो । यसलाई हामीले सूचना प्रविधिसँग जोडेर हरेक बजारमा ढुक्कसँग सुरक्षित भएर व्यापार व्यवसाय गर्ने वातावरण मिलाउनका लागि स्थानीय सरकार, स्थानीय सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग पनि सहकार्य गरी व्यवसायीक सुरक्षालाई आधुनिक प्रविधिमा जोड्ने छौँ । यसमा हामीले तत्काल कार्यान्वयन गर्ने योजना पनि बनाइसकेका छौँ । अको कुरा पनि हामीले यही साधारणसभामा एजेण्डाका रूपमा लैजाने छौँ । भैपरी आउने समस्यालाई नीतिगत हिसाबले दिर्घकालीन रूपमा समाधान गर्नका लागि प्रदेश उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघमा पनि यो कुरालाई लैजाने छौँ । सबैभन्दा गहन विषय त युवा पलायन कै हो । यसलाई रोक्न स्थानीय उद्यमशिलता र स्थानीय रोजगारी नै हो । यसमा पनि हामी नितान्त गम्भीर भएर योजना ल्याउने तयारीमा छौँ ।

 सरकार भनिरहेको छ, मुलुक आर्थिक समृद्धिको लयमा फर्किसक्यो तर दिनदिनै सटर खाली गरेर व्यवासायी पलायन हुँदै छन् नि ?

 सरकारको आर्थिक इन्डिकेटर अर्कै होला, तर हामी मोफशलमा बस्नेहरूको यथार्थ अर्कै छ । हो, कर्पोरेट विज्नेस हाउसहरूको आर्थिक इन्डिकेटर सुध्रिएको हुन सक्छ । सरकारका आर्थिक विश्लेषकहरूले गर्ने अध्ययन र दिने रिपोर्ट भनेको ठुला कर्पोरेट विज्नेस हाउसको हो । तर मोफशलको अर्थतन्त्र सुध्रिएको हामीलाई अनुभुति भएको छैन । साना तथा मझौला उद्योगलाई टिक्नै गाहा्रो भएको अवस्था छ । त्यहि कारण मुलुकको अर्थतन्त्र लयमा फर्कन लागेको भन्ने अर्थमन्त्रालय र प्रधानमन्त्रीको स्पीचमा हामी मोफशलका व्यवसायी विस्वस्त हुने कुनै आधार नै छैन ।

हामीले यो विचमा युवाहरू गुमाएका छौँ, जुन हाम्रा जनशक्ति हुन् । हामीले व्यवसायी पनि गुमाइरहेका छौँ, जुन व्यवसायीहरू आफ्नो घरजग्गा लिलाम गरी विदेश पलाईन भैसकेका छन् । अनि हामीले यीनीहरूलाई गुमाउदै गर्दा उपभोक्ताहरू पनि गुमाएका छौँ) । किनकि युवा र व्यवसायीहरू हाम्रा उपभोक्ता पनि हुन् । यो अर्थमा यहांको अर्थतन्त्र सुध्रोको भन्नु झुठो प्रचार मात्रै हो । जुन प्रचारबाजी गर्नकालागि अर्थ विश्लेषकहरू मोफशलमा आएर तथ्यांक लिएको हामीले पाएका छैनौं । यो त सरकार टिक्न र टिकाउन गरेको झुठो प्रचारबाजी मात्रै हो । मोफशलको अर्थतन्त्र अझै पनि लयमा फर्केको छैन ।

 मुलुकको समग्र अर्थतन्त्रलाई लयमा फर्काउन राज्यले के सहयोग गर्नुपर्छ जस्तो लाग्छ, तपाईलाई ?

 हो, हामी उद्योगी व्यवसायी विगतको आधा दशकदेखि निकै गम्भीर सङ्कटमा छौँ । विगतमा फैलिएको विश्वव्याधि कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र मै गम्भीर सङ्कट उत्पन्न भयो । त्यसमा नेपालका व्यवसायी पनि अछुतो रहन सकेनन् । त्यस लगत्तै विश्वव्यापी आर्थिक मन्दीको अवस्था सिर्जना भयो । यसले पनि नेपालको अर्थतन्त्रलाई गम्भीर प्रभाव पार्यो तर अब मुलुकका सबै क्षेत्रलाई अर्थतन्त्रको लयमा फर्काउन राज्यले विशेष राहत प्याकेजको कार्यक्रम ल्याउन आवश्यक छ । यसका लागि विभिन्न क्षेत्रमा सहुलियत र अनुदानको कुरा आउँछ ।

योजना बनाउनेले यो विषयलाई गम्भीरतापूर्वक लिन आवश्यक छ । विद्युत शुल्कमा सव्सिडिका कुरा हुन सक्छन् । साना तथा मझौला उद्योग सञ्चालनका लागि अनुदानका कुरा हुन सक्छन् । कृषिलाई व्यवसायीकरण गर्नका लागि यान्त्रिक सहयोगका कुरा हुन सक्छन् । लगानीकर्तालाई कष्ट अफ प्रोडक्शनका लागि व्यवसायीक वृत्ति विकास कार्यक्रम हुन सक्छन् । त्यसैगरी कृषि उपजको बजारीकरणका कुरा हुन सक्छन् । यी सबै विषयमा सरकारले गम्भीरतापूर्वक प्रस्तुती भएमा मात्र मुलुकको अर्थतन्त्र लयमा फर्कन सक्ने छ, अन्यथा केन्द्रमा अर्थविदलाई उदृत गर्दै केही सञ्चार माध्यमले प्रचार गरेकै भरमा मोफसलको अर्थतन्त्र लयमा फर्केको भन्ने स्वीकार्ने अवस्था रहँदैन ।

 तुलसीपुर उद्योग वाणिज्य संघको साधारणसभासंँगै अधिवेशन पनि हुँदै छ । नयाँ नेतृत्व पनि चयन होला । यसमा तपाई वर्तमान महासचिवको नाताले कुन पदमा दाबी हुन सक्छ ?

 मैले स्पष्ट रूपमा भन्नु पर्दा मेरो दाबी भनेको तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि हो । किनकि मैले दुई कार्यकाल तुलसीपुर उद्योग वाणिज्य संघकै पदाधिकारी भएर कार्यकुशलता निर्वाह गरिसकेको छु । व्यवसायीक समस्या भोगिरहेको छु । अनि नेतृत्वका लागि मेरो मात्र चाहना होइन, साथीभाइको पनि चाहना हो । किनकि धेरै उद्योगी व्यवसायी साथीभाइले मलाई तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वको जिम्मेवारी अनौपचारिक रूपमा दिई सक्नु भएको छ । मेरो चाहनाभन्दा पनि तुलसीपुर उद्योग वाणिज्य संघका अधिकांश व्यावसायी मित्रहरूको चाहनालाई सम्बोधन गर्न पनि मैले तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्व लिनु मेरो नैतिक दायित्व पनि हो ।

हो,यसमा फेरि पनि हाम्रो संस्थामा पनि सल्लाह गर्नु पर्ने छ । पार्टीसँग पनि सरसल्लाह होलान् तर पनि मेरो अनुभवलाई पार्टीले पनि विश्वास गर्ने छ भन्नेमा म पूर्ण विश्वस्त छु । तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्व मेरो एकल अभियान होइन, अधिकांश कर्मशील व्यवसायीको साथ सहयोग र समर्थनले मात्रै मैले आगामी अधिवेशनमा तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनेमा तपाईको सञ्चार माध्यममार्फत् तुलसीपुर उद्योग वाणिज्व्यसंघमा आवद्ध आम उद्योगी व्यवसायीलाई पनि जानकारी गराउन चाहन्छु ।