Goraksha

National Daily

जीवन कसरी सहज बनाउने !

नारायणप्रसाद श्रेष्ठ
जीवन जन्ममरण बिचको त्यो समय चक्र हो । जसले सुखदुःख, लाभ, हानी, उतारचढाव, जय, पराजय अहंका्र, घमण्ड, माया, मोह जस्ता कठोर परिस्थितिको मुकाविला गर्दै गतिशील भएको हुन्छ । यति कठिनाई हुँदा हुँदै पनि स्वच्छ र पवित्र विचार प्रवाह गरेर सामाजिक रुपान्तरणको लागि हाम्रो जिम्मेवारी भनी कर्तव्य पथमा हिडिरहेको पनि हुन्छ । समयको गतिसँगै आफूलाई रुपान्तरण गरेर सहज वातावरण बनाउन लागि परेको हुन्छ । भौतिक चकाचौधको कारण मनमा उब्जने मोह र पीडालाई अन्त्य गर्न लागि परेको हुन्छ र निरन्तर कोशिस पनि गरिरहेको हुन्छ । किनकि सृष्टिको सर्वोत्कृष्ट जीव मानिसको पहिचान उसले दिन खोजिरहेको हुन्छ ।
सुखदुःख एउटै सिकाको दुई पाटा हुन् भन्दै माया मोह तथा ममत्वबाट जागृत हुने दुःखको कारण मानव मन स्वयम् हो भनी, जहाँ मेरो भन्ने भाव जागृत हुन्छ त्यहीबाट सुरु हुने दुःखको कारणलाई विचार र कर्मको माध्यम सरल र सहज बनाउन उ लागि परेको हुन्छ । उसले मनमा उब्जेको भावनाको अन्त्य जीवनको अन्तिम घडीसम्म पनि पूरा नहुने सत्य जान्दछ । पाप र पुण्यको अर्थ उसले राम्रोसँग बुझेको छ तर पनि क्षणिक लोभ, मोह, अहंकार आशक्तिमा उ आफैलाई रनभुुल्लमा पारिरहेको छ । क्षणिकतामा प्राप्त हुने सुख नै सबै हो भन्ने गरी मानिस क्रियाशील भएको पाइन्छ । वक्ररेखा झै कहिले उकाली कहिले ओराली, कहिले यता कहिले उता यस परिस्थितिको सामना गर्दै सङ्घर्ष नै जीवन हो भनी मानिसले सरलीकरण गर्दै अघि बढ्ने दृढता गरेको हुन्छ । समय जतिसुकै कठिन र नाजुक भए पनि उसभित्रको सुखको अभिलाषा तथा सुखद् दिन आउला भनी धैर्य लगनशील भई आफूलाई प्रस्तुत गरेको हुन्छ । कुनै समय हाम्रो पनि सुदिन आउला भनी प्रतिक्षाको घडीमा धैर्यता कायम गरी अघि बढेको हुन्छ । वास्तवमा मानव जीवनको यो महत्वपूर्ण आयम हो ।
प्रकृतिको नियम आफैमा निश्चित दिसामा गतिशील भइरहने सत्य हो । यहाँ जाडो, गर्मी, झरी, हावाहुरी, भूक्ष्य जस्ता प्राकृतिक घटना, परिघटना घटिरहेका हुन्छन् । भूकम्प जस्तो अप्रत्याशित घटना छिन्–छिन्मा आइरहेको हुन्छ । समय र परिस्थिति अनुकुल आफूलाई बद्ल्दै मानवीय स्वभावलाई आफूसँग एकाकार गराउन खोजिरहेको हुन्छ । फरक यति हो कतिपय परिस्थिति र त्यहाँ उत्पन्न हुने सम्वादले मानव जीवनलाई प्रत्यक्ष असर पु¥याइरहेको हुन्छ भने कतिपय अवस्थामा मानिस स्वयम् अपरिचित भई क्रियाशील भइरहेको हुन्छ । समय र परिस्थिति अनुसार सोच बदलिँदै गएको हुन्छ । बर्षा पछि हिउँद र हिउँद पछि बर्षा यो प्रक्रिया हिजो पनि थियो आज पनि छ र भोलि पनि रहिरहन्छ तर मानव चिन्तनले खोजेको सत्य र यस सत्यभित्र हुने गतिविधिको तालमेल नमिलिरहेको पनि अवस्था देखिन्छ ।
मानिसले तत्कालै नतिजा हेर्न, देख्न चाहन्छ भने प्रकृति आफ्नै रेखामा सधै एकै किसिमले गतिशील भइरहन्छ । आफूभित्र क्षमता र विवेक हुँदा हुँदै पनि मानिस आफैमात्र सर्वशक्तिमान बन्न, म नै अधिकारी हुँ भन्ने जस्ता अहंकारले आफै पतित भइरहेको पनि छ । हिरातुल्य जीवनलाई कौडिको मूल्यमा तुलना गरी मानिस स्वयम्ले आफूलाई पतित गर्दै गरेको पनि पाइन्छ । के गर्दा सर्वजन हिताय सर्वजन सुखाय हुन्छ त्यसतर्फभन्दा के गर्दा म र मेरो परिवेश बलियो र सक्षम बन्छ भन्ने कुरामा मानवीय चिन्तन बढेको छ । वास्तवमा यी र यस्तै प्रवृतिका विकृत जन्य विचारले पवित्र विचारको खानी भएर पनि मानिस अहंकारको दलदलमा फसिरहेको देखिन्छ । तसर्थ जीवनमा आउने यस्ता गलत विचारलाई हटाउन आफूले आफैलाई सम्हाल्नु पर्छ । धैर्य र सहनशील भई वचन र कर्ममा सावधान हुनु पर्दछ ।
हिड्न नजान्ने दौड्न खोज्ने प्रवृतिबाट अलग भई वर्तमानलाई भविष्यसँग गाँसेर कर्म र व्यवहारमा परिस्कृत गर्नु पर्दछ । भविष्य के कस्तो हुन्छ कसैलाई थाहा हुँदैन । केवल आशाको किरण मात्र मनभित्र जागृत हुन खोजेको हुन्छ । यो कुरालाई सोचेर उत्तम गति निर्धारण गर्न प्राप्त जीवनलाई ज्ञानी, योगी र कर्मशील बनाई प्रस्तुत गर्न सक्नु पर्दछ । आफूलाई सधै हर्षित बनाई जे हुन्छ राम्रै हुन्छ भन्ने सकारात्मक चिन्तन गर्दै जसले आफूलाई सामाजिकीकरण गर्दछ उ नै सफल रहने यथार्थ कुरा सबैले मनन गर्न जरुरी छ । संस्कृति र संस्कारले निर्दिष्ट गरेको जीवनशैली वर्तमानले खोजेको सत्य भएकोले आफूभित्रको दिव्य गुणलाई आत्मसात गरी दुर्गुण अविवेयकिपनलाई परित्याग गर्नु पर्दछ । जीवनलाई सहज योगी बनाई व्यर्थ सङ्कल्प र आशक्तिलाई छोड्नु पर्दछ । जीवनको गतिशीलतामा देखिने गलत संस्कार र मानसिकतालाई परित्याग गरी आफ्नो अन्तरसत्यभित्रको श्रेष्ठ आचरणलाई साकार रुप दिन निरन्तर सुकर्मतर्फ ध्यान केन्द्रित गरिरहनु पर्दछ ।
जसरी निराकार आत्म र साकार शरीर मिलेर हर असम्भवलाई सम्भव बनाउन प्रयत्नशील भएको हुन्छ, जीवनको गतिलाई आस्था, विश्वास र भरोसा राखी व्यवहारलाई निरन्तरता दिइरहेको हुन्छ । त्यसरी नै निश्चल र निर्भयतापूर्वक उत्तम विचारको सङ्कल्पबाट मानव जीवनलाई गतिशील बनाउनु पर्दछ । ज्ञान सिप र व्यवहारबाट मायारुपी गलत चरित्रलाई नष्ट गरी अघि बढ्ने सङ्कल्प गर्नु पर्दछ । त्यस्तो मानवीय सत्यलाई धमिरा लाग्न नदिई प्रत्येकले प्रत्येक आत्माको सत्यलाई आफ्नै आत्माको प्रतिक स्वरुप सम्झेर अघि बढ्ने इच्छा शक्ति बढाउनु पर्दछ । सामाजिक रितिरिवाज धर्म संस्कृति र भेषभुषाले सिकाएको हाम्रो पहिचानलाई आत्मसात गरी जीवन जिउने कलाकार बन्नु पर्दछ ।
अहिलेको वर्तमानलाई हेर्ने हो भने मानिसको सोच चिन्तन स्वार्थपरक पाइन्छ । जसको कारण उ स्वयम् दुखी छ । सृष्टिको रचनामा मानव जाति मात्र यस्तो प्राणी हो जसको लागि नैतिक धरातलमा रहने ज्ञान र सिप प्रदान गर्नु पर्ने आवश्यक पर्दछ । प्रकृतिमा हुर्कने जे जति जीवजन्तु चराचुरुङ्गी छन् तिनको जीवनलाई हेर्ने हो भने उनीहरु आफै परिश्रम गर्छन् । जीवनको प्रत्येक पलमा आउने समस्या आफै सजिलै समाधान गर्छन्, उनीहरु उद्देश्यविहीन गन्तव्यमा कहिले हिडिरहेको हुँदैनन् कतै भड्किँदैनन् । जहाँ जतिसुकै भड्के पनि उनीहरु एकतामा विश्वास राख्छन् र आफ्नो गन्तव्य र कर्तव्यप्रति इमान्दार बनी आफ्नो थाकथलोमा आइपुग्छन् तर मानव जाति यस्तो प्राणी हो उससँग ज्ञान बुद्धि विवेक भएर पनि आफ्नो दायित्व र कर्मप्रति उनीहरुको चिन्तन कमजोर भएको पाइन्छ ।
सिक्न र सिकाउने कार्यमा नै उनीहरुको अधिकांश समय वेथित भएको हुन्छ । स्वभाव र कर्ममा भिन्नता भई अहंकारयुक्त जीवनशैली अपनाइरहेका हुन्छन् । तसर्थ यसतर्फ सबै सचेत आत्मा जानकार हुन जरुरी छ । प्रकृति आफ्नो नियममा गतिशील भइरहेको हुन्छ तर विवेकशील मानव क्षणिक लोभ मोह र अहंकारको कारण आफ्नो गन्तव्य भुल्न पुग्दछ । जसको कारण उ दुखी पनि भइरहेको हुन्छ । त्यसैले जन्ममरणको चक्रमा गतिशील हुने मानव जीवनले पनि प्रकृतिको गतिशीलता झै आफ्नो जीवनलाई निश्चित उद्देश्यमा अघि बढाउनु पर्दछ । जीवनशैलीमा उच्च भावना जागृत गरी परिचालन गर्नु पर्दछ । जीवन म र मेरो होइन उ र उसको लागि आएको हो भन्ने सत्यलाई स्वीकारी नैतिक धरातलमा रही दृढ सङ्कल्प गर्नु पर्दछ । मनमा उब्जन सक्ने हजारौँ अपेक्षा किन जागृत भइरहेको छ ? जीवनको उद्देश्य के हो ? यी कुरालाई मनन गरी लिने होइन दिने कुरामा बढी केन्द्रित हुनु पर्दछ । दिने भन्दैमा धन सम्पत्ति ऐशआराम दिनु पर्छ भन्ने होइन ।
पवित्र विचार, सङ्कल्पको माध्यम आदर्श समाज निर्माणमा दिनु पर्ने विचार, योगदान, कर्मदान दिनु पर्दछ भनिएको हो । सांसारिक जीवन पद्धतिमा जुन अपवित्र आचरणले डेरा जमाएको छ, आसुरी र आशक्ति मानसिकता बढेको छ त्यसलाई शुद्ध सङ्कल्पको माध्यम हटाई नैतिकतामा आधारित जीवनशैली अपनाउनु परेको छ । हामी माग्न जान्दछौ तर दिन जान्दैनौ यति मात्र होइन दिँदा हात खुम्चाएर दिन बाध्यता मान्छौ तर माग्दा दुवै हात फैलाएर सबै मैले पाउनु पर्छ भनी हात थाप्छौ । यो प्रवृति नै मानव जीवनलाई अहंकारमा बसी भूत बनाउने कर्म हो । यस्तो प्रवृति जबसम्म अन्त्य हुँदैन तबसम्म जीवनमा सधै दुःखको सामाना गरिरहनु पर्दछ ।
त्यसैले मानव अन्तरनिहित दिव्य गुण र सत्यको पहिचान गरी जीवनको गतिशीलतामा सकारात्मक चिन्तनलाई आफ्नो कर्तव्य ठानी अगाडि बढ्नु पर्दछ । आफू र आफ्नो इच्छा शक्तिभित्र रहेको सत्यलाई पहिचान गरी आफूलाई परिमार्जित गर्नु पर्दछ । जन्म पछि मृत्यु हुने सत्यलाई बुझी एकअर्काप्रतिको हाम्रो हेराई, सोँचाइ, सम्बन्ध र विश्वासलाई भरोसा युक्त बनाई आफूलाई गतिशील बनाउन सक्नु पर्दछ । यो यथार्थ सत्य सबैले बुझ्न जरुरी छ । बाह्य आवरणमा सजाइएको दृष्टि भ्रममा होइन अन्तरआत्मा भित्रको सत्यलाई बुझी गतिशील हुनु पर्दछ । जिन्दगीमा विगतलाई सम्झेर दुःख मनाउनु र भविष्यको चिन्ता गरी दुखित हुनुभन्दा वर्तमानलाई प्रयोग गर्नु पर्दछ । यसले जीवनलाई सधै हसिलो र खुसीलो बनाउन मद्दत गर्छ । सोच सकारात्मक बनाउ जीवन सहज बन्छ । अस्तु ।