काठमाडौँ,८ चैत । निरन्तरको लगाव र मिहिनेतबाट सफलता प्राप्त हुन्छ भन्ने उदाहरण सागर अधिकारी ‘शरद’ ले प्रस्तुत गरेका छन् । साङ्गीतिक क्षेत्रमा २३ वर्ष संघर्ष गरेका अधिकारीले विश्व कृतिमानी गायकका रुपमा गीनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएर सफलता प्राप्त मात्र गरेनन् सफलताका लागि धैर्यता, निरन्तरता र मिहिनेत आवश्यक पर्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।
बाह्रवर्षमा खोला फर्कन्छ भन्ने उखान सागरको जीवनमा चरितार्थ हुन पुरै २३ वर्ष लाग्यो । २०५७ सालमा पहिलोपल्ट गीतमा आवाज भरेका सागरको अहिले चौतर्फि चर्चा चुलिएको छ । काममा विश्वास गर्ने सागर चल्तीका गायक र सङ्गीतकारमा गनिन्छन् । धैर्यता र निरन्तरलाई सफलताका सूत्र मान्ने सागर भन्छन,‘निरन्तर मिहिनेत गर्ने हो भने एक दिन सफल भइदो रहेछ । निरन्तर २३ वर्ष मैले गरेको परिश्रमका कारण आज एउटा उपलब्धी हासिल गरेको छ ।’
संगीतिक यात्रामा प्राप्त गरेको सफलताबारेमा सुउँदै उनी भन्छन, ‘धैर्यता नहुँदो हो त म उहिले नै यो क्षेत्रबाट हराइसकेको हुने थिएँ । त्यसैले सफलताका लागि आफ्नो कामलाई निरन्तरता दिन आग्रह गर्दछु ।’ सुगम संगीत, आधुनिक गायन र सेमी क्लासिकल शैलीका गजल गाउन र सङ्गीत गर्न रुचाउने सागरका दुई सय ५० बढी गीत गजल रेकर्ड भइसकेका छन् । सङ्गीतको औपचारिक ज्ञान बिना गायनमा प्रवेश गरेका सागर शाश्त्रिय संगीतमा गायनतर्फ स्नातकोत्तरसम्मको अध्ययन पुरा गरिसक्नुभएको छ ।
महेन्द्र बहुमुखी क्याम्पस दाङमा आयोजित कार्यक्रममा गीत गाएको सुनिसकेपछि डा. गोविन्द आचार्यले २०५७ सालमा गीत रेकर्ड गराइदिएको स्मरण गर्दै सागरले भने,‘सङ्गीतको औपचारिक ज्ञान नहुँदा गोविन्द दाइले गीत गाउने अवसर दिनुभयो । त्यसपछि मैले व्यवसायिक रूपमै अघि बढाउँछु भन्ने धारणाका साथ गीत रेकर्डिङ भन्दा पनि संगीत अध्ययनलाई बढी प्राथमिकता दिन थाले । जो अहिले बाँच्ने आधार बनेको छ ।’
वर्तमान पुस्ता राम्रो सिर्जना गर्ने भन्दा पनि कसरी हिट बनाउने भन्नेतर्फ मात्रै लाग्ने गरेको बताउँदै सागरले आफूले सुन्दर श्रीजनाका लागि लागिपर्ने बताउछन् । म तड्पिएको हेर्ने हौ भने मरुभूमि भई हेर बोलको गीतबाट साङ्गीतिक यात्रा प्रारम्भ गरेका सागरका नजाऊ टाढा कतै यी नजरदेखि, मलाई लट्ठै लट्ठै लट्ठै बनायो, मैले जति माया तिम्लाई कस्ले, मदिराले आज मलाई रमाउन सिकायो चर्चामा रहेका गीत हुन् ।
यसरी भएको थियो विश्व कृतिमानी काम विश्वकै उच्च स्थानमा रहेको तिलिचो तालमा प्रत्यक्ष गीत रेकर्ड गरेर गीनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएर विश्व कृतिमानी कायम गरेका सागरले काम गर्दाका दुःखद् क्षण सफलताले भुलाएको बताउँछन् । ‘आजको खुसीले हिजोको पीडा बिसाई दिएको छ । त्यति अग्लो स्थानमा रेकर्ड र छायांकन गर्न सहज थिएन ।
छायांकनको दौरानमा अनेकन घटनाहरु घटे त्यहाँबाट लडेको मात्र भए के के हुन्थ्यो कसैलाई थाहा थिएन’, सागर भन्छन,‘खुट्टाको पाइला राख्नेबाहेक अरू ठाउँ थिएन । केही तलमाथि भयो भने ढ्ंगाले मान्छेसमेत लग्ने बाटो हुँदो रहेछ त्यहाँ । डिआर उपाध्याय सरलाई त अन्नपूर्ण बेस क्याममै गाह्रो भएर इमर्जेन्सी हेलिकप्टर बोलाएर पोखरा ल्याई काठमाडौँ ल्याउनुपरेको थियो । त्यस्तो गाह्रो हुँदा पनि हामीले रेकर्ड राख्नुपर्छ भनेर पीडालाई पनि उछिन्दै रमाउँदै काम ग¥यौं । आज मिहिनेतको फल पाएका छौँ ।’
डा. डिआर उपाध्यायको शब्द, भेषप्रसाद श्रेष्ठको संगीत र सागर अधिकारी ‘शरद’ को स्वर रहेको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय रहेको छ । ५ हजार १ सय ५ मिटर उचाइमा छायांकन गरिएको थियो । तिलिचो ताल विश्वकै अग्लो स्थानमा रहेको ताल हो । काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले गायक अधिकारीसहित सम्पूर्ण टीमलाई विश्वकीर्तिमानको सम्मान प्रदान गरेका छन् ।