गोरक्ष समाचारदाता ।
स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस घोराहीले क्याम्पसको कब्जा जग्गा फुकुवाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । स्ववियु सभापति मनोज डिसी नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीलाई ज्ञापन पत्र बुझाएको हो ।
लामो समय देखि भूमिहिन सुकुम्बासीका नाममा कब्जामा रहेको जग्गाबाट क्याम्पसको आम्दानी आउन नसकेको र यसले क्याम्पसको शैक्षिक गतिविधीमा बाधा पुर्याएको भन्दै स्ववियुले जिल्ला प्रशासन कार्यालयलाई जग्गा फुुकुवाका लागि पहल थालिदिन अनुरोध गरेको हो ।
ज्ञापन पत्र बुझाउँदै स्ववियु सभापति डिसीले जिल्ला प्रशासन कार्यालय मार्फत कडा प्रकृया थालनी गरेर क्याम्पसको जग्गा फूकुवा गरिदिन प्रमुख जिल्ला अधिकारी सुवेदीलाई आग्रह गरे । ज्ञापन पत्र बुझ्दै क्याम्पसको कब्जा जग्गा फूकुवाका लागि आफूले पहल गर्ने आश्वासन दिए । क्याम्पसको विभिन्न स्थानमा झण्डै ३५ विघा जग्गा बर्षौँ देखि कब्जामा छ ।