गोरक्ष समाचारदाता
दाङ, ५ चैत्र । घोराही उपमहानगरपालिकाले मातृ भाषाको पढाइ सञ्चालन गर्ने निर्णय बमोजिम थारू भाषाको पढाइ सञ्चालनका लागि आर्थिक वर्ष २०७६÷०७७ मा पाठ्यक्रम निर्माण ग¥यो । थारू कल्याणकारी सभामार्फत् पाठ्यक्रम निर्माण गरेको उपमहानगरको पाठ्यक्रम निर्माण लागत खर्च डेढलाख रुपैयाँ भयो । यो रकम १ देखि ३ कक्षासम्मको पाठ्यक्रम निर्माणका लागि थियो ।
अर्को वर्ष उपमहानगरले पाठ्यपुस्तक निर्माण गर्ने निर्णय ग¥यो । आर्थिक वर्ष ०७७÷०७८ मा उपमहानगरका विद्यालयमा थारू भाषाको पढाइ सञ्चालन गर्ने लक्ष्य अनुरूप कक्षा १ को थारू भाषाको पुस्तक छाप्ने निर्णय उपमहानगरले ग¥यो । पुस्तक लेखनका लागि मात्रै उपमहानगरले दुई लाख खर्च ग¥यो र छपाइका लागि एक लाख रुपैयाँ । यो लागतबाट दुई सय पुस्तक छापिएको घोराही उपमहानगर बताउँछ तर छापिएका दुई सय थान पुस्तक सबै बेकामे बने ।
अहिले ती पुस्तक उपमहानगरको स्टोरमा थन्किएका छन् । उपमहागर आधारभूत शिक्षा शाखा स्रोत भन्छ, ‘पत्रकार वा अरू कोही थारू भाषाको किताबमा के लेखिएको छ भनेर खोज्न आउनुभयो भने यी किताब उहाँहरूलाई दिने गरेका छौँ, किताब स्टोरमै राखिएका छन् ।’ यी पुस्तक विद्यार्थीका निम्ति छापिएका थिए तर अहिले थारू भाषाको किताबमा के लेखिएको छ भनेर खोज्न आउनेलाई उपमहानगरले वितरण गरिरहेको छ । पुस्तक उपमहानगरको स्टोरमा थन्किनुको कारण हो, उपमहानगरले सुरुमा यी पुस्तक सादा छापेको थियो । ‘सुरुमा सादा छापियो तर विद्यार्थीका लागि रङ्गिन पुस्तक पढ्न सजिलो हुने भएकाले ती पुस्तकको काम भएन’, घोराही उपमहानगर शिक्षा शाखा स्रोतले भन्यो ।
पहिलो चरणमा ठुलो आर्थिक लागतमा छापिएका पुस्तक स्टोरमा थन्क्याएको उपमहानगरले फेरि उनै पुस्तक रङ्गिन छाप्ने निर्णय ग¥यो । उपमहानगरले पुनः २५ थान पुस्तक रङ्गिन प्रकाशन गरेको थियो । ‘रङ्गिन पुस्तक हुनु पर्छ भनेर पछि फेरि रङ्गिन पुस्तक छापिएको हो’, स्रोतले भन्यो, ‘रङ्गिन छाप्दाखेरि चाहिँ अलि महँगो पर्न गयो ।’ तर स्रोतले यो बेला लागेको लागत रकम भने यकिन नभएको बतायो ।
दुई सय थान सादा पुस्तक प्रकाशन गरेर ठुलो धनराशी खर्च गरेको उपमहानगरले पछि २५ थान पुस्तक मात्र एउटा विद्यालयका लागि भनेर छापेको थियो । किनकि थारू भाषाको पढाइ सञ्चालन गर्न एउटा विद्यालय मात्रै इच्छुक देखियो । घोराही उपमहानगरपालिका वडा नं ३ स्थित रात्री प्राथमिक विद्यालय बेलुवाले मात्रै थारू भाषाको पढाइ सञ्चालन गरेको छ । मातृभाषा पढाइ सञ्चालन गर्ने निर्णय गरेको उपमहानगरपालिकाको मातृभाषा पठनपाठन गर्ने अभियान यहाँनेर पनि धेरै कमजोर देखिन्छ ।
घोराही उपमहानगरका विद्यालयमा यो विषयको पठनपाठन गर्ने निधो गरेको उपमहानगरको यो शिक्षा एउटा विद्यालयमा मात्रै, त्यो पनि २१ विद्यार्थीले मात्रै उपभोग गर्न पाएका छन् । उसले कुन–कुन विद्यालयमा यो विषयको पठनपाठन गराउने भनेर अग्रिम तयारी नगरेरै हँचुवामा पुस्तक छपाइ गरेको देखिन्छ । ‘हामीले इच्छुक विद्यालयलाई थारू भाषाको पढाइ सञ्चालनका लागि आह्वान ग¥यौँ तर एउटा विद्यालय मात्रै इच्छुक देखियो’, उपमहानगर सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले भने, ‘अरू कोही पनि इच्छुक भएनन् त के गर्नु ?’
यो उपमहानगरले पाठ्यपुस्तक तयार पार्नु अघि थारू भाषाको पढाइका लागि विद्यालयको इच्छा बुझेको थिएन । एकैपटक स्टोरमा थन्क्याउने गरी दुई सय थान सादा पुस्तक छपाइ गरेपछि मात्रै थारू भाषाको पढाइ गर्न इच्छुक विद्यालयको खोजी गरेको थियो तर उपमहानगरको यो प्रस्तावमा विद्यालय सहमत देखिएनन् । एउटा विद्यालयले मात्रै पढाउने इच्छा देखाएको थियो र धन्न भातृभाषा पढाई गर्ने उपमहानगरको इज्जत छोपिदियो । ‘थारू भाषाको पढाइ सञ्चालनका लागि हामीले इच्छा देखाएपछि कक्षा १ मा थारू भाषाको पठनपाठन यो शैक्षिक सत्रदेखि सुरु भएको हो’, विद्यालयका शिक्षक लक्ष्मीमान चौधरीले भने, ‘हाम्रो विद्यालयका एक कक्षाका २१ विद्यार्थीले अहिले यो विषय पढिरहेका छन् ।’ यसर्थ थारू भाषाको पठनपाठनका लागि भन्दै लाखौँ रकम खर्च गरेको उपमहानगरको अभियानमा २१ विद्यार्थी मात्रै सहभागी भएका छन् ।
एउटा विद्यालयका २१ विद्यार्थीका लागि मात्रै थारू भाषाको पठनपाठन सुरु गरेको उपमहानगरले आगामी शैक्षिक सत्रका लागि उनै २१ विद्यार्थीकै लागि कक्षा २ को पाठ्यपुस्तक छपाइ गर्दै छ । २५ थान पुस्तक निर्माणका लागि तीन लाख रुपैयाँ लागत उपमहानगरले थारू कल्याणकारिणी सभालाई जिम्मा लगाइसकेको छ । कक्षा २ का लागि २५ थान पाठ्यपुस्तक छपाइका लागि उपमहानगरले दुई लाख रुपैयाँ विनियोन गरेको थियो । थारू कल्याणकारिणी सभाले यो बजेटमा पुस्तक निकाल्न सहमत भएर कामको सम्झौता समेत गरेको थियो तर रकम नपुग्ने भन्दै सभाले जानकारी गराएपछि पुस्तक निर्माणका लागि उपमहानगरले थप एक लाख रुपैयाँ निकासा दिने सम्भौता गरेको छ ।
‘सुरुमा दुई लाख रुपैयाँ छुट्याइएको थियो तर पछि यो रकम नपुग्ने भनियो’, उपमहानगरको शिक्षा शाखा स्रोतले भन्यो, ‘रकम नपुग्ने भनेपछि थप एक लाख रुपैयाँ पुस्तक छपाइका लागि छुट्याइएको छ, यसरी कक्षा २ को पाठ्यपुस्तक छपाइका लागि तीन लाख रुपैयाँ बजेट छुट्याइएको छ ।’ यो शैक्षिक सत्रमा कक्षा १ मा पठनपाठन गरिरहेका विद्यार्थीलाई मात्रै लक्षित गरेर कक्षा २ को पाठ्यपुस्तक छपाइमा लागेको घोराही उपमहानगरले अरू विद्यालयमा मातृभाषाको पढाइका लागि पहल भने गरेको छैन । शिक्षा शाखा स्रोत भन्छ, ‘नयाँ शैक्षिक सत्रमा कुनै पनि विद्यालयमा थारू भाषाको पढाइ हुँदैन, त्यही एउटा विद्यालयमा मात्रै हो ।’