देवेन्द्र बस्नेत
दाङ, ४ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १० स्थित धनपत लयरको घरदेखि पश्चिमतर्फको सडकमा नाला निर्माण गर्ने योजना वडा कार्यालयले सिफारिस गरेको थिएन । वडाले सिफारिस नगरेको यो योजना नगरसभाबाट पास पनि भएन । स्थानीय तहमा योजना पास गर्ने उच्च निकाय भनेकै नगरसभा हो । नगरसभाबाट समेत पास नभएको यो योजना एकाएक योजना किताबमा उल्लेख भएर आयो ।
योजना किताबमा यो योजना उल्लेख भएर आएपछि मात्रै वडा अध्यक्ष दीपक पाण्डेले थाहा पाए । जबकी वडा तहमा परेका योजना सम्बन्धीत वडा अध्यक्षलाई थाहा हुनु पर्ने हो । ‘यो योजना वडाले सिफारिस गरेको पनि थिएन, न त १४औँ नगरसभाबाटै यो पास भएको योजना थियो,’ वडा अध्यक्ष पाण्डेले भने ‘ढोकाबाट ल्याइनु पर्ने योजना झ्यालबाट चोर्ताशैलीमा ल्याइयो, एकै पटक योजना किताबमा उल्लेख भएपछि मात्रै मैले यो योजनाका बारेमा थाहा पाएँ ।’
त्यसोत, वडाको योजना कार्यान्वयनका लागि उपभोक्ता समिति निर्माण गरेर वडासँग सम्झौता गर्नुपर्छ । तर यो योजना निर्माणको प्रक्रियाकाबारे वडाले अहिलेसम्म थाहै पाएको छैन । स्रोतका अनुसार यो योजना निर्माणको काम समेत भइसकेको छ । ‘कुनै पनि वडाको योजनाको काम गर्दा उपभोक्ता समिति निर्माण गरेर वडा कार्यालयसँग सम्झौता गरिनु पर्ने हुन्छ,’ वडा अध्यक्ष पाण्डेले भने ‘तर यो योजना निर्माणबारे अहिलेसम्म वडालाई केही पनि जानकारी छैन, मैले पनि यो योजना निर्माणको काम सम्पन्न भइसकेको छ भन्ने सुनेको छु, एकिन भने छैन ।’ यो वडाको यो एउटा योजना मात्रै हैन, यसरी उपमहानगरले वडालाई थाहै नदिई आफू खुसी पारेका योजना आधा दर्जनको हाराहारीमा छन् । ‘यस्ता योजना ५,६ वटा छन्, जुन योजना माथिबाटै आफू खुसी आएका हुन्,’ अध्यक्ष पाण्डे भन्छन् ‘यी योजना कसरी निर्माण पूरा हुन्छन्, त्यो पनि वडालाई थाहा हुँदैन ।’
घोराही उपमहानगरपालिका वडा नम्बर ४ कै डाँडागाउँमा कल्भर्ट निर्माण गर्ने भनेर ७ लाख रुपैयाँ बजेटको योजना प¥यो । यो योजना पनि वडाबाट सिफारिस भएकै थिएन । वडा अध्यक्ष मुनाल घिमिरेले पनि यो योजना एकै पटक योजना किताबमा उल्लेख भएर आएपछि थाहा पाए । ‘नगरकै बजेटमा हालिएको योजना भए पनि वडा अध्यक्षलाई जानकारी हुनु पर्ने होनि,’ वडा अध्यक्ष घिमिरे भन्छन् ‘नगरसभामा एकै पटक आयो, मैले असन्तुष्टि राखेँ पनि तर पछि कसरी पास भयो, एकै पटक योजना किताबमा उल्लेख भएर आयो ।’ उपमहानगरको स्वार्थमा आफ्नो वडाको पारिएको यो योजना निर्माणका लागि सम्झौता गरिदिन वडा अध्यक्ष घिमिरेलाई करै लाग्यो ।
‘नत्र विकास विरोधी भनेर आरोप खेप्नु पर्ने हुन्छ,’ उनले भने ‘योजना कसरी आयो, त्यो पनि थाहा छैन, तर सम्झौता भने वडाले गरिदियो ।’ वडाको सिफारिस तथा जानकारी बिनानै चोरबाटोबाट वडामा पारिएको यो योजनाको काम सम्पन्न भइसकेको छ । तर वडा अध्यक्ष घिमिरेले वडामा कहाँ विकासको आवश्यकता हो भन्ने कुराको जानकारी वडा अध्यक्षलाई हुने भए पनि उपमहानगरका पदाधिकारीहरूले नै आफू खुसी योजना हालिदिँदा मनोपोली हुने गरेको बताउँछन् । ‘आवश्यक्ताका आधारमा योजना हालिनु पर्छ भन्ने हो, वडामा कहाँ कुन विकास चाहिएको छ भन्ने हामी गाउँमा घुम्ने वडाअध्यक्षलाई थाहा हुने होनि,’ उनले भने ‘तर आफ्नो स्वार्थका लागि माथिबाटै योजना हालिन्छन्, जबकी हामीलाई थाहै हुन्न, यसको एउटै कारण भनेको उहाँहरूको व्यक्तिगत स्वार्थ र फाइदा नै हो ।’
वडालाई जानकारी नै नदिई अँझ नगरसभाबाट पासै नभएका योजना वडामा हालिँदा वडा अध्यक्षहरूले असन्तुष्टि व्यक्त गर्दै आएका पनि छन् । तर उपमहानगरका पदाधिकारी भने आफ्नो स्वार्थ देखिएका स्थानमा आफू खुसी बजेट हालिदिने गर्छन् । घोराही ४ कै गोग्ली सोतामा वडालाई थाहै नदिई हालिएको तटवन्धको योजनाका विषयमा त वडा अध्यक्ष घिमिरेले असन्तुष्टि नै पोखे तर उपमेयर हुमा डिसीको स्वार्थमा मात्रै हालिएको यो योजनाप्रति राखेको वडा अध्यक्षको असन्तुष्टिको के अर्थ ? झ्यालबाट घुसाइएको यो योजना पास भएरै छोड्यो ।
‘यो योजनाका विषयमा उपमेयर र मेरो बिचमा विवाद पनि भएको हो, उहाँको व्यक्तिगत स्वार्थका कारण हालिएको यो योजनाका विषयमा उहाँले आफूलाई चुनावमा भएको सहयोगको ऋण तिरेको आशय राख्नु भएको थियो,’ वडा अध्यक्ष घिमिरेले भने ‘तपाईँको वडाबाट तपाईलाई मात्रै भोट आएको हो ? मलाई पनि त्यहाँका जनताले भोट हालेका हुन् भनेर उहाँले भन्नु भएको थियो, आफूलाई भोट दिएकै कारण होला, योजना त्यहाँ थाहा नदिई हालियो ।’ यो वडामा पनि अहिले यसरी आफू खुसी हालिएका योजना ३, ४ वटा छन् । यी दुई वडामा मात्रै हैन, उपमहानगरका सबै वडाहरूमा यस्ता खालका योजना पुगेका छन् । नगरसभाबाट पासै नभएका योजना समेत वडामा आफू खुसी हालिनु कार्यकर्ता पोस्ने उपाय हो । आफूलाई चुनावमा सहयोग गरेकाहरूलाई सहयोगको ऋण तिर्नकै लागि यसरी योजना गलत बाटोबाट गाउँ पुग्ने गरेको जानकारहरू बताउँछन् ।
‘कुन क्षेत्रबाट आफूलाई चुनावमा बढी सहयोग भयो ? त्यहाँ विकासका योजना हालेर सहयोगको ऋण तिर्ने परिपाटी छ,’ एक जनप्रतिनिधिले भने ‘विशुद्ध कार्यकर्ता पोस्ने नियतका साथ नै यसरी चोरबाटो बाट योजना गाउँ पुग्ने गरेका हुन्, यसमा अरू कारण केही पनि छैन ।’घोराही उपमहानगरको विकट वडाका रूपमा चिनिने १९ नम्बर वडाका वडा अध्यक्ष ज्ञानबहादुर रायमाझीले वडा सरकारको नेतृत्व गरिरहँदा आफूले काम गर्न नसकिरहेको महसुस गरिरहेका छन् । यो महसुस नहोओस् पनि कसरी ? उपमहानगरका पदाधिकारी वडामा हाबी भइदिएका छन् । फलतः उनी आफूलाई निरिह अध्यक्षका रूपमा चिनाउँछन् । वडा अध्यक्ष रायमाझीले १० बढी योजना उपमहानगर समक्ष सिफारिस गरेका थिए ।
१० बढी सिफारिस भएका योजनामध्ये उपमहानगरले एउटा योजना मात्रै पास गरिदियो । वडा अध्यक्ष रायमाझीले प्रस्ताव गरेका अरू सबै योजना फालिए । अनि उपमहानगरबाट सिधै अरू योजना यो वडामा पारिए । ‘हामीले वडाबाट प्रस्ताव गरेका १० भन्दा बढी योजनामध्ये एउटा मात्रै पास भयो, हामीले सिफारिस गरेका अरू सबै योजना फालिए,’ वडा अध्यक्ष रायमाझीले भने ‘तर कार्यकर्ता आफन्तिको भनसुनका आधारमा उपमहानगरबाट योजना छिराइए, जबकी उपमहानगरले आफै हालिदिएका योजनामध्ये मैले सिफारिस गरेको एउटा योजना पनि थिएन ।’
आफूले सिफारीस गरेका योजना फालिए, तर उपमहानगरले आफू खुसी पारेका योजना सम्झौता गर्न भने उनलाई करै लाग्यो । ‘के गर्नु वडामा आएका योजना पास गरिदिनु हाम्रो दायित्व हो,’ उनले भने ‘तर वडामा उपमहानगरका पदाधिकारी यसरी हाबी भईँदिँदा हामी वडाअध्यक्षलाई काम गर्न धेरै अप्ठेरो परिरहेको छ ।’ उनले आफू अनुकुल मेयर तथा उपमेयर नहुँदासम्म काम गर्न सहज नहुने बुझेका छन् । ‘कार्यकर्ताकै भनसुनका आधारमा योजना वडामा पठाइदिने तर वडा अध्यक्षले प्रस्ताव गरेका योजना फालिदिने भनेको त हाम्रा लागि धेरै जटिल कुरा होनि,’उनले भने ‘मैले एउटा कुरा बुझेको के हो भने उपमहानगरका मेयर र उपमेयर आफ्नो अनुकुलका भएनन् भने वडा अध्यक्षलाई काम गर्न सजिलो नहुँदो रैछ ।’
वडाको कार्यालय सहयोगी समेत नियुक्त गर्न नपाएको दुखेसो समेत उनले पोखे । कार्यालय सहयोगी समेत उपमहानगरले आफै तोकेर पठाइदिएको छ । ‘वडाको कार्यालय सहयोगी राख्नसम्म मैले पाएन,’ उनले भने ‘उपमहानगरले नै तोकेर पठाइदियो, आफै सोच्नुस् हाम्रो घोराही उपमहानगर हाम्रो वडामाथि कति गलत तरिकाले हाबी भएको होला ?’
यता आफू खुसी बजेट वडा तहसम्म हाल्ने उपमहानगर भने आफ्नो कर्मलाई सफा नियतका रूपमा बढाईचढाई गरिरहेको छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले नियमानुसार नै वडा तहमा विकासे योजना पुगेको दाबी गर्छन् । ‘नगरसभाबाटै पास भएका योजना कार्यान्वयनमा जाने हुन्,’ उनले भने ‘नियमभन्दा बाहिर गएर योजना हाल्ने कुरा हुँदैन नि ।’