‘उपभोक्ता सचेत हुनुपर्छ’

अमरराज आचार्य
दाङ, ३ चैत । उपभोक्ता आफनो अधिकारका लागि सचेत हुनु पर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् । घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

सहभागीले नागरिकको अधिकार संरक्षण गर्नु पर्ने राज्यको दायित्व भएको बताएका थिए । उपभोक्ता सचेत हुन नसक्दासम्म आफ्नो अधिकार पाउन नसक्ने सहभागीको जोड थियो । उत्पादक तथा व्यवसायीले पनि उपभोक्ताको स्वास्थ्यप्रति संवेदशील हुनु पर्ने बताएका थिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सुनारले पछिल्लो समय नागरिक सँचेत हुँदै गएको बताएका थिए । ‘बजारमा सामग्री खरिद गर्दा उत्पादन मिति, गुणस्तरको बारेमा समेत प्रश्न गर्ने र उजुरी गर्न थाल्नुभएको छ’, प्रमुख सुनारले भने ।

बजारमा खाद्यवस्तु खुल्ला रूपमा बिक्रीवितरणमा रोक लगाइएको उनले बताए । स्थानीय सरकार बजार व्यवस्थापन ऐन २०८० पूर्ण रूपमा कार्यान्वन हुन नसकेको भने उनले बताए । ‘केही कार्यान्वयनमा आए पनि पूर्णरूपमा कार्यान्वयमा आउन सकेको छैन’, उनले भने । ऐनको कार्यान्वय गर्न सबैको सहयोग हुनु पर्ने उनको भनाइ छ । उपभोक्ता हित संरक्षण मञ्चका चिन्तामणि पौडेलले कार्यपत्र प्रस्तुत गर्दै ठगिने उपभोक्तालाई छिटोछरितो न्याय प्रदान गर्नु पर्ने बताए । यसका लागि उपभोक्ता अदालतको व्यवस्था गर्नु पर्ने उनले बताए ।

सर्वोच्च अदालतले समेत उपभोक्ता अदालत बनाउन भने पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ । उपभोक्ताले वस्तु खरिद गरेको बिल समेत पाउन नसकेको बताए । दर्ताबिनाका व्यवसायबाट सामग्री खरिद गर्न नहुने समेत उनले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षक राजेश चौधरीले गुणस्तरहीन खाद्यान्न उपभोगबाट नागरिक बच्नु पर्ने बताए । गुणस्तरहीन वस्तुले मानिसको स्वास्थ्यमा असर पुग्ने भएकाले यसबाट बच्नु पर्ने उनको भनाइ रहेको छ । खाद्यवस्तु उत्पादनदेखि उपभोग गर्दासम्म विशेष ध्यान दिनु पर्ने उनले बताए । ‘नागरिकको स्वास्थ्यप्रति संवेदशील भएर उत्पादनदेखि उपभोग गर्दा सावधानी अपनाउनु पर्दछ’, खाद्य निरीक्षक चौधरीले भने ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले नाफा कमाउनेभन्दा पनि उपभोक्ताको स्वास्थ्यप्रति सचेत हुनु पर्ने बताए । हामीले खाइरहेको वस्तु कस्तो छ भनेर परीक्षण समेत नहुने गरेको बताए । ‘कस्तो खाइरहेका छौँ भनेर प्रमाणित गर्ने काम हुन सकेको छैन’, उनले भने । जिल्लामा परीक्षणको सुविधा नहुँदा यस प्रकारको समस्या भएको उनको भनाइ छ । बाहिरबाट आउने वस्तु पनि परीक्षण नगरी सहजै आउने गरेको उनले बताए । सङ्घीय सरकारले समेत परीक्षण ल्यावको स्थापना गर्न नसकेको नगर प्रमुख चौधरीको भनाइ रहेको छ । ‘नाफा कमाउनका लागि मात्र व्यवसाय गर्नु हँुदैन, स्वास्थ्यप्रति संवेदनशील हुनु पर्दछ’, नगर प्रमुख चौधरीले भने । घोराही उपमहानगरपालिकाले आवश्यक पर्ने कानुन निर्माण गर्दै अगाडि बढेको उनले बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका सरसफाई शाखाका प्रमुख लक्ष्मण अधिकारी, घोराही खानेपानी संस्थाका बरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डे, मानव अधिकारकर्मी विनोद केसी, सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका अध्यक्ष मिनु गिरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य निमबहादुर बुढाथोकी, डेरी व्यवसायी संघका अध्यक्ष नरबहादुर बुढाथोकी, खाद्य अधिकार सञ्जालका अध्यक्ष साजिदा सिद्दिकी, सरस्वती खत्रीलगायतले भनाइ राखेका थिए । कार्यक्रम घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सुनारले गरेका थिए ।