मुलुकको समृद्धिका लागि संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्छ : उपकुलपति लामिछाने

दाङ, २६ पुस  । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले मुलुकको समृद्धिका लागि संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

बह्मकुमारी ईश्वरीय विश्वविद्यालय घोराहीले आयोजना गरेको शान्ति सद्भावना समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. लामिछानेले भन्नुभयो, ‘नेपाली संस्कार र संस्कृति अमूल्य सम्पत्ती हुन् । यहाँ बसोबास गर्ने सबैका संस्कार र संस्कृतिको संरक्षण गरेर मात्रै मुलुकको समृद्धि सम्भव हुन्छ । यसर्थ संस्कार र संस्कृतिको रक्षार्थ सबै पक्ष लाग्नुपर्छ ।’

पूर्वीय संस्कार र संस्कृतिप्रति पश्चिमा जगत्को आकर्षण बढिरहेको समयमा नेपालीहरुले सनातन मौलिक संस्कृतिको संरक्षण गर्नुपर्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. लामिछानेले बह्मकुमारी ईश्वरीय विश्वविद्यालयजस्ता संघसंस्थाहरुले आफ्नो सक्रियता बढाउनुपर्ने बताउनुभयो ।

‘पूर्वीय भाषा, साहित्य, बाङ्मयप्रति पश्चिमा जगत्को आकर्षण बढिरहेको छ । यहाँका पौराणीक ग्रन्थप्रति पश्चिमाहरुको खोज, अध्ययन र अनुसन्धान भइरहेको छ’, उपकुलपति प्रा.डा. लामिछानेले भन्नुभयो, ‘मुलुकको पहिचान बचाउनका लागि मौलिक सनातन संस्कृति र संस्कारको रक्षार्थ बह्मकुमारी ईश्वरीय विश्वविद्यालयजस्ता संघसंस्थाहरुले आफ्नो भूमिका बढाउनुपर्दछ । यसका लागि नेपाल संस्कृत विश्वविद्यालय सहकार्य गर्न तयार छ ।’

सभ्य समाजको निर्माणका हरेक व्यक्ति अनुशासित र नैतीकवान् हुनुपर्ने बताउँदै उपकुलपति प्रा.डा. लामिछानेले भन्नुभयो, ‘नेपाली समाजले दिनप्रतिदिन आफ्नो मूल्य मान्यता गुमाउँदै गएको छ । हामीले हाम्रा संस्कार र संस्कृतिक पहिचानको रक्षा गर्न सकेनौं भने कुनै बेला नेपाल यस्तो थियो रे भन्ने अवस्था आउन सक्छ । यसतर्फ समयमै सबैको ध्यान जान आवश्यक छ । ।’

नेपाल संस्कृत विश्वविद्यालयले हजारौं हजार वर्षदेखि अस्तित्वमा रहेका विविध धर्म, संस्कृति, सभ्यता, इतिहास, कला, वास्तुकला, रहनसहन, रीतिरिवाज तथा सबै जातजातिका भाषाभाषिकाहरुको अध्ययन, अनुसन्धान र संरक्षणका लागि सक्दो प्रयत्न गर्र्दै आइरहेको उपकुलपति लामिछानेको भनाइ छ ।

महाशिवरात्रीको अवसर पारेर आयोजित शान्ति सद्भावना समारोहमा विश्वविद्यालयका कलाकारहरुले लागुऔषध दुव्र्यसन बिरुद्धको नाटक प्रस्तुत गरेका छन् । कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठानका कलाकारहरुले भजन प्रस्तुत गरेका छन्, भने विश्वविद्यालयका कलाकारहरुले नृत्य प्रस्तुत गरेका छन् । विश्वविद्यालयका प्रमुख गीतदिदीको अध्यक्षतामा भएको कार्यक्रममा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राप्तीका महासचिव शिवलाल महतराले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो, भने सहजीकरण विश्वविद्यालयका माधव तिमिल्सिनाले गर्नुभएको थियो ।