विद्यालय सामुदायिक बढी, निजीमा विद्यार्थी

गोरक्ष समाचारदाता
दाङ, २६ फागुन ।सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउने विषयमा लामो समयदेखि बहस र छलफल चल्दै आएका छन् । सामुदायिक विद्यालयको पठनपाठन चुस्त बन्न नसकेको भन्दै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुने गरेको निक्र्योल समेत हुने गरेको छ । सामुदायिक विद्यालयको पठनपाठनमा सुधार ल्याउने लामो समयदेखिका बहस र छलफलको कुनै परिणाम भने अहिलेसम्म आउन सकेको छैन । अहिले पनि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या दर उँचो बन्न सकेको छैन । निजी विद्यालयमा विद्यार्थीको सङ्ख्या भने बाक्लिइरहेको छ ।
जिल्लामा सामुदायिक विद्यालयको सङ्ख्या चार सय ३६ छ । चार सय ३६ विद्यालयमा अध्ययनरत विद्यार्थीको सङ्ख्या ९८ हजार सात सय पाँच मात्रै छ । विद्यालय सङ्ख्याको तुलना गर्ने हो भने जिल्लाभर निजी विद्यालयको सङ्ख्या सामुदायिकभन्दा आधा कम छन् तर विद्यार्थी भने सामुदायिक विद्यालयभन्दा बढी छन् । चार सय ३६ सामुदायिक विद्यालयमा अध्ययनरत कूल विद्यार्थी सङ्ख्या ९८ हजार सात सय पाँच रहेकोमा कूल दुई सय १७ निजी विद्यालयमा अध्ययनरत विद्यार्थी सङ्ख्या एक लाख एक हजार १३ छ । इमिस २०८० को तथ्याङ्क अनुसार जिल्लामा सामुदायिक विद्यालय संस्थागतभन्दा दोब्बर बढी रहेको भए पनि विद्यार्थी सङ्ख्या भने सामुदायिक विद्यालयमा कमजोर देखिन्छ ।
प्याब्सनका अनुसार राष्ट्रिय रूपमै नतिजालाई हेर्ने हो भने शैक्षिक गुणस्तरलाई धानेको भन्दै निजी विद्यालयप्रतिको आकर्षण बढेको हो । ‘राष्ट्रिय रूपमै नतिजालाई हेर्ने हो भने पनि धेरै विद्यार्थीको नतिजा संस्थागत विद्यालयकै राम्रो हुने गरेको देखिन्छ’, प्याब्सनका जिल्ला सचिव आदिम केसीले भने, ‘यसले पनि शिक्षाको गुणस्तर कायम राख्न संस्थागत विद्यालयकै ठुलो भूमिका रहेको भन्न सकिन्छ । यसर्थ संस्थागत विद्यालयले यो विश्वास कायम गरेका छन् ।’ संस्थागत विद्यालयमा राम्रो पठनपाठन हुन्छ भन्ने छाप विद्यालयले छोड्न सकेका कारण पनि अभिभावकको आकर्षण संस्थागत विद्यालयतर्फ दिन प्रतिदिन बढ्दै गएको सचिव केसीले बताए । ‘तपाईँले हेर्नु भयो भने पनि अहिले निजी विद्यालयतर्फ अभिभावकको आकर्षण दिनानुदिन बढ्दै गइरहेको छ’, केसीले भने, ‘यसको कारण के हो त भन्दा संस्थागत विद्यालयले कायम गरेको शैक्षिक गुणस्तरियता नै हो भन्नु पर्छ ।’
सामुदायिक विद्यालयमाजस्तो शिक्षक तथा कर्मचारी व्यवस्थापनमा झन्झट समेत हुँदैन । संस्थागत विद्यालयमा कुनै शिक्षक तथा कर्मचारीको अभाव हुनासाथ विद्यालयले दक्ष जनशक्ति व्यवस्थापन गरिहाल्ने तर सामुदायिक विद्यालयमा भने जनशक्ति पूर्तिका लागि समय लाग्ने र यसले गुणस्तरीय शिक्षा प्रदान गर्न समस्या हुने गर्दछ । ‘संस्थागत विद्यालयमा शिक्षक वा कर्मचारी रिक्त हुनासाथ तत्काल विद्यालयले दक्ष जनशक्ति व्यवस्थापन गरिहाल्ने वातावरण हुन्छ’, सचिव केसीले भने, ‘तर सामुदायिक विद्यालयमा यो जनशक्ति व्यवस्थापनका लागि त्यति सहज प्रक्रिया हुँदैन ।’
त्यसो त संस्थागत विद्यालयमा गरिएको लगानी संरक्षण लगानीकर्ताको अर्को जिम्मेवारी हुन्छ । फलतः लगानीको संरक्षणका लागि संस्थागत विद्यालय सञ्चालकले कसरी पठनपाठन चुस्त बनाउने र विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्ने भन्ने विषयमा गम्भीर हुन्छन् । ‘संस्थागत विद्यालयको कुरा गर्दा त्यहाँ मोटो लगानी पनि जोडिएको हुन्छ’, सचिव केसीले भने, ‘यो लगानीको संरक्षणका लागि पनि विद्यालयमा शैक्षिक गुणस्तर बढाएर विद्यार्थी आकर्षित गर्ने दायित्व बढी हुन्छ ।’ यसैगरी संस्थागत विद्यालयमा विकास भइरहेको अतिरिक्त क्रियाकलाप विद्यार्थी आकर्षणको अर्को कारण रहेको सचिव केसीले बताए । अधिकांश संस्थागत विद्यालयले अहिले नृत्य, गायनलगायत अतिरिक्त कक्षासमेत सञ्चालन गरिरहेका छन् ।
यता सामुदायिक विद्यालयमा संस्थागत विद्यालयभन्दा विद्यार्थी सङ्ख्या कम रहे पनि अहिले भने बढ्दो क्रममा रहेको शिक्षक महासंघका घोराही नगर अध्यक्ष निशान्त आचार्यले बताए । ‘केही समय अघि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै कम थियो, अहिले त्यो अनुपात कम भइरहेको छ’, आचार्यले भने, ‘यसले के देखाउँछ भने अहिले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दो क्रममा छ ।’ उनले यसको कारण सामुदायिक विद्यालयले थालेको अङ्ग्रेजी माध्यमको पठनपाठनलाई मानेका छन् । अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दो क्रममा रहेको भन्दै उनले सामुदायिक विद्यालयमा पनि अब अङ्ग्रेजी माध्यमको पठनपाठन आवश्यक देखिएको बताए । ‘अङ्ग्रेजी माध्यमबाट पढाइ सञ्चान गरेका विद्यालयमा अहिले विद्यार्थीको सङ्ख्या बढ्दै गइरहेको देखिन्छ’, उनले भने, ‘यसले के सावित हुन्छ भने अभिभावकको रोजाइँ अङ्ग्रेजी माध्यमको शिक्षा बन्दै गइरहेको छ, फलतः सबै सामुदायिक विद्यालयमा यो माध्यमको पढाइ सञ्चालन गर्नु पर्ने आवश्यक देखिन्छ ।’
स्थानीय तहमा शिक्षाको अधिकार गएपछि नियमित अनुगमन हुने भएकाले पनि सामुदायिक विद्यालयमा शैक्षिक वातावरण चुस्त बन्दै गएको उनले बताए । ‘अहिले शिक्षाको अधिकार स्थानीय तहमा गएपछि नियमित अनुगमन हुने वातावरण बनेको छ’, उनले भने, ‘यसले पनि सामुदायिक विद्यालयमा उचित सिकाइको वातावरण निर्माणमा टेवा पुरयाएको छ र विद्यालय व्यवस्थापन समितिहरू शैक्षिक गुणस्तर कायम गर्न बढी जिम्मेवार हुनु पर्ने देखिन्छ ।’