दाङ क्रिकेट लिग–२ को तयारी पूरा, ट्रफि सार्वजनिक

गोरक्ष समाचारदाता
घोराही, १३ फागुन । दाङमा क्रिकेट खेलको विकाससँगै खेललाई व्यावसायिक बनाउने उद्देश्यले आयोजना गरिएको नेपाल टेलिकम दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) को तयारी पुरा भएको छ । आयोजक दाङ क्रिकेट संघले आइतवार गुलरियास्थीत घोराही क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गरेर लिगको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

लुम्बिनी प्रदेशकै ठूलो राशिको फेन्चाइज दाङ क्रिकेट लिगको दोश्रो संस्करणमा घोराही टाइगर्स, दंगाली लायन्स, तुलसीपुर रोयल्स, पुरन्धारा च्यालेन्जर्स र देउखुरी वारीयर्स गरी पाँच वटा टिमहरू सहभागी भएको दाङ क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाँले जानकारी दिएका छन् ।

प्रतियोगिताका लागि क्रिकेट मैदानमा आवश्यक व्यवस्थापनसँगै खेलाडी बक्स, अफिसियल बक्स, मिडिया बक्स, मेडिकल बक्सलगायत सबै प्रकारको तयारी पूरा भएको अध्यक्ष मजगैयाले बताए । त्यसैगरी पाँचवटै टिममा रहेका सम्पूर्ण खेलाडीहरु, रेफ्रिलगायतका अतिथिहरु घोराही आइसकेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको सोमवार विहान ९ बजे लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक दाङ क्रिकेट संघका अध्यक्ष मजगैयाँले जानकारी दिएका छन् ।

लिगको बिजेता टिमले नगद दुई लाख ५० हजार र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश÷दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिने भएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा लिगको बिजेटा टिमले जित्ने ट्रफि समेत सार्वजनिक गरिएको थियो ।

ट्रफि सार्वजनिक कार्यक्रममा लिगका पाँचवटै टिमका कप्तानहरुको सहभागीता रहेको थियो । प्रतियोगिताले जिल्लामा क्रिकेट खेलको विकासका लागि वातावरण निर्माणदेखि खेलाडीहरुको क्षमतावृद्धिमा सहयोग गर्ने अध्यक्ष मजगैयाँले बताए । अध्यक्ष मजगैयाँले भने,‘जिल्लामा क्रिकेट खेलको विकाससँगै खेलाडीलाई व्यवसायिक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको छौ । आशा छ, योसले जिल्लाको खेलकुद क्षेत्रलाई माथि उठाउन सहयोग गर्नेछ ।’

प्रतियोगिता आगामी फागुन १४ देखि फागुन १९ गतेसम्म घोराही उपमहानगरपालिका–१७ गुलरिया रहेको घोराही क्रिकेट मैदानमा हुनेछ् । पत्रकार सम्मेलनको सहजीकरण दाङ क्रिकेट संघका सचिव सञ्जु केसीले गरेका थिए । प्रतियोगिताको उद्घाटन खेल घोराही टाइगर्स र दंगाली लायन्सका बिचमा हुने भएको छ ।