हिमाल महरा
घोराही,११ फागुन । बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवलाई भव्य रुपमा सफल बनाउनका लागि जिल्लामा क्रियाशिल विभिन्न राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिवद्धतासहित एक्येवद्धता जनाएका छन् ।
शुक्रबार दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एंव महोत्सव मुल आयोजक समितिका संयोजक बसन्त जोशीको अध्यक्षतामा जिल्लामा क्रियाशिल राजनीतिक दलहरुका प्रतिनिधिसँग बसेको बैठकमा सहभागीले अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवलाई सफल बनाउन सहयोग गर्ने ऐक्यवद्धता जनाएका हुन ।
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै एभरेष्ट नेपाल कल्चर ग्रुप काठमाण्डौंको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानीय आयोजनामा फागुन १८ देखि २१ गतेसम्म घोराहीको कृषि सामाग्री केन्द्रको खुल्ला मैदानमा बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव हुन थालेको छ ।
नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि अभियानलाई निरन्तरता दिँदै लोक संस्कृति आदान–प्रदान गर्न अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव सहयोग बन्ने संयोजक जोशीले बताएका छन् ।
अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा नेपालसहित १३ देशका करिव ३०० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रि कलाकारद्वारा सांस्कृतिक प्रस्तुती हुने भएको छ । १८ गते जिल्लाको संस्कृति झल्किने झाकी, भेषभुषासहित घोराही परिक्रमा गरिने भएको छ । महोत्सवमा स्थानीय उत्पादन, लघु तथा घरेलु उधम तथा स्थानीय श्रोत साधनमा आधारित उत्पादन सामाग्रीक साथै नेवारी, थारु, मगरलगायतका विभिन्न समुदायका मौलिक परिकारका रुपमा रहेका बस्तुहरु समेत प्रदर्शनीमा राखिएको भइएको छ ।