अमरराज आचार्य
दाङ, ९ बैशाख । सोमवार दिउँसो साढे १२ बजेको थियो । विपी चोक नजिकै एउटा स्कुटीमा २ जना युवाहरु खानाको प्याकेट बोकेर हिडिरहेका थिए । सडकमा देखिने नागरिकलाई उनीहरुले तपाईलाई भोक लागेको छ ? भन्दै प्रश्न गर्दै हिडिरहेका थिए । उज्यालो बिहानी फाउण्डेसन र बेसमेन्ट क्याफे एण्ड रेस्टुरेण्टको सहयोगमा निःशुल्करुपमा खाना खुवाउन थालेका हुन् । लकडाउनको समयमा कोही पनि भोकै हुन नपरोस् भनेर यस प्रकारको अभियान थालेको ती युवाहरुले बताएका छन् ।
केही दिनअघिसम्म खाद्यान्न, तेल, नूनलगायतका सामग्री सहयोग गर्दै आएका उनीहरुले आइतवारबाट खाना नै पकाएर वितरण गर्न शुरु गरेका हुन् । आइतवार मात्रै उनीहरुले १ सय ३० जनालाई खाना खुवाएको उज्यालो विहानी फाउण्डेसनका सचिव तुला विकले बताए । ‘लकडाउनको समयमा कोही पनि भोकै बस्न नपरोस् भनेर यस प्रकारको अभियान थालेका हौं’, सचिव विकले भने । यसका लागि युवाहरुले आफूहरुले गोजीको रकम खर्च गरेर अभियान सञ्चालन गरेका हुन् । विभिन्न जिल्लाबाट मजदुुर गरेर आउने व्यक्ति तथा सडकमा रहेका व्यक्ति, तथा डेरा गरेर बसेका विद्यार्थीहरुलाई समेत खाना खुवाइने गरेको उनको भनाइ रहेको छ ।
‘हामीलाई खबर गरेको स्थानसम्म नै खाना पु¥याइदिने गरेका छौं’, सचिव विकले भने । भात, तरकारी प्याकेट पारेर र मिनिरल वाटर पानीसमेत सम्बन्धित क्षेत्रमा लगेर प्रदान गरिने गरिएको छ । युवाहरुले आफ्नै खर्चमा यस प्रकारको कार्यको शुरु गरेको जनाएका छन् । यस प्रकारको अभियान लकडाउन अवधिभर सञ्चालन गर्ने सोचमा रहेको सचिव विक बताए । नयाँ काम गर्दा केही समस्या भए पनि त्यसलाई समाधान गर्दै अगाडि बढ्ने उनको भनाइ छ । हालसम्म कुनै समस्या नपरेको उनले बताए । ‘हामी काम गर्दै सिक्दै अगाडि बढिराखेका छौं’, विकले भने । सडकमा हिड्नेलाई खाद्यान्न सहयोग गर्नुभन्दा पकाएर नै खुवाउनु उपयुक्त हुने भएकाले यसतर्फ आफूहरु लागेको विक बताउँछन् ।
लकडाउनको अवधिमा घोराही क्षेत्रमा मात्र ५० बढी घर परिवारलाई सहयोग गरि सकेको उनको भनाइ रहेको छ । यस अभियानमा सहयोग गर्ने चाहनेले विना स्वार्थ सहयोग गर्न सक्ने फाउण्डेसनले बताएको छ । यस अभियानमा २० जना युवाहरु जोडिएकोे जे पी केसीले बताए । ४ जनाले स्कुटी र मोटरसाइकलमा खाना बोकेर हिँड्ने गरेको र अरुले खाना बनाउनमा सहयोग गर्ने गरेको उनले बताए । ‘हामीले पनि केही गर्नुपर्दछ भनेर यस प्रकारको अभियान थालेका हौं’, केसीले भने । खानाको लागि समस्या भएको जो–सुकैले पनि सम्पर्क गर्न सक्ने उनी बताउँछन् । उनीहरुलाई खाना बनाउनका लागि स्थान, खाना बनाउने कर्मचारी र ग्यासको व्यवस्थापन घोराहीमा रहेको बेसमेन्ट क्याफे एण्ड रेस्टुरेण्डले गरेको उनको भनाइ रहेको छ । हाल यस प्रकारको अभियान घोराही उपमहानगरपालिका क्षेत्रमा शुरु गरिएको छ ।