दाङ, ४ फागुन । तुलसीपुर २, दाङमा अवस्थित पश्चिम क्षेत्रको एकमात्र अव्वल र आफ्नो बेग्लै पहिचान गराउन सफल जनप्रिय इङ्लिस स्कूलले आफ्नो स्थापनाको १८ औ वार्षिकोत्सव मनाएको छ।
“शिक्षा र संस्कारको एउटै धरोहर“ भन्ने मुल नारा बोकेको स्कूलको वार्षिकोत्सव समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिकाप्रसाद योगीको अध्यक्षता र २ नं वडा कार्यालयका अध्यक्ष भीम बहादुर योगीको प्रमुख आतित्थतामा कार्यक्रम सम्पन्न भएको थियो।
त्यसअवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम अन्तर्गत गीत, नृत्य, नाटक, प्रहसन, लगायतका प्रस्तुति राखेका थिए । कार्यक्रम बोल्ने अतिथिहरुले शिक्षासँगै संस्कार पनि विद्यार्थीहरुका लागि अपरिहार्य भएको कुरा बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि योगीले आजको युग विज्ञान र प्रविधिको विकाससँगै सस्कार र सस्कृति हराउँदै गएको भन्दै विद्यालयले पढाईसँगै सस्कारपनि सिकाउनुपर्ने बताएका थिए ।
विशिष्ट अतिथि विद्यालयका प्राचार्य प्रकाश कुमार शर्माले विद्यालयले हालसम्म गरेका चुनौती, सफलता र प्रगतिको बारेमा प्रकाश पारेका थिए । अभिभावक नै आफ्नो लागि भगवान स्वरुप भएको औल्याउँदै विद्यालय उत्थानको लागि विद्यालय, अभिभावक र विद्यार्थी सबैको त्रिकोणात्मक सम्बन्ध रहेकाले विद्यालयलाई सफल र सबल पार्नको लागि सबैको उत्तरदायित्व हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा अस्थायी प्रहरी चौकी बालापुरका इन्चार्ज दिनेश डाँगी, विद्यालय अनुगमन तथा संरक्षण समितिका अध्यक्ष कान्छी चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका परीक्षा संयोजक नवीनकुमार शर्माले कार्यक्रम सफल पार्न साथ र सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । विद्यालयका शिक्षक एवम् कार्यक्रम निर्देशक बासुदेव आचार्यको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षकद्वय कमल डाँगी र अंकित आचार्यले गरेका थिए ।