घोराही, २ फागुन । बैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा पुगेको बेला बन्धक जीवन विताउँन बाध्य हुनुभएकी घोराही उपमहानगरपालिका–१९ धञ्चौर निवासी केशरी रागुमगरलाई उद्धारपछि परिवार मिलन गराइएको छ ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले नेपाली दुतावासको समन्वय एवं पाल्पाली सेवा समाज दुवइका अध्यक्ष ओमकुमारी खाणको सहयोगमा उद्धार गरेको हो । उनको विदेश गएको सात महिनापछि उद्धार गरिएको हो ।
रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका–१९ का वडा अध्यक्ष ज्ञान बहादुर रायमाझीको प्रमुख आतिथयता तथा समाजका केन्द्रीय सल्लाहकार कैलाश रोकामगरको बिशेष आतिथ्यतामा राहुमगरलाई परिवारमा पुनस्थापना गरिएको थियो ।
कार्यक्रममा रोल्पाली सेवा समाज दाङ शाखा अध्यक्ष ओम प्रकाश खड्का, कतार शाखा महासचिव शोभाराम वली, पोर्चुगल शाखाका महासचिव खुमबहादुर वलीलगाएतको सहभागिता रहेको थियो ।
त्यसअबसरमा वडा अध्यक्ष ज्ञानबहादुर रायमाझीले बन्धक बनाइएकी पिडित केशरीलाई उद्धार कार्यमा सहयोग गर्ने सवैलाई धन्यावाद ज्ञापन गरेका थिए ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीले सामाजले बैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेर समस्यामा परेका नेपालीहरुको उद्धार गर्दै आएको बताएका थिए । उनले कुनै पनि नेपालीलाई विदेशजानुअघि त्यस ठाउँ र आफुले पाउने सेवा सुविधाका बारेमा स्पष्ट भएर मात्र जान आग्रह गरेका थिए । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले संस्था स्थापना कालदेखि नै विभिन्न खालका सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।