सोच र चिन्तनमा एक बनौँ परिकल्पनाको सहर सम्भव छ

नारायणप्रसाद श्रेष्ठ

हाम्रो राष्ट्र, हाम्रो गौरव, हाम्रो सोच र चिन्तन हाम्रो आचरण, यी हाम्रो स्वाभिमानसँग गाँसिएका सोच र आचरण हुन् । ऋषिमुनीको तयोभूमि, देवताको बास स्थान, कला संस्कृतिको बेजोड नमुना बोकेको क्षेत्र, पर्यटन र पर्यावरणीय दृष्टिकोणले उत्कृष्ट अस्थान, महाभारत र चुरे भावरले संरक्षित गरेको समतल र खेतीयोग्य उर्वराभूमि, वन जंगल र जडीबुटीले सुशोभित हाम्रो परिवेश र भूगोललाई चिनाउने स्वर्गद्धारी तपोभूमिको काखमा रहेको भित्री मधेश दाङ जिल्ला एसियाकै ठूलो उपत्यका मानिन्छ ।

अनादिकालदेखि आफै संस्कृति र पौरख बोकी भूमिपुत्रको रुपमा पहिचान बोकेको दंगीशरण, देवपुरी क्षेत्र साच्चीकै सबै वर्ग क्षेत्रको आशा लाग्दो क्षेत्र मानिन्छ । विभिन्न भाषा, धर्म, संस्कार, जाति भएर पनि अनेकतामा एकता कायम गरी विश्वास र भाइचारामा वि.स. ८०६ भन्दा अघिदेखि परिचित भएको यस क्षेत्र नेपालकै नमुना जिल्ला भएर विकास हुने र धेरै सम्भावना बोकेको मानिन्छ । प्राकृतिक सम्पदा र पर्या पर्यटनको प्रचुर सम्भावना बोकेको यो क्षेत्रको विकास जल जंगल जमिन भएर पनि सदुपयोग हुन नसकि, विभिन्न किसिमको खानी जडीबुटी भएर पनि विधि प्रयोग हुन नसकेको, सोच र चिन्तनमा निखार आउन नसकेको, एवम् भोतिक पूर्वाधार निर्माणको लागि धेरै सम्भावना बोकेको क्षेत्र साच्चीकै भन्नु पर्दा नेपालको नमुना सहरी क्षेत्र भएर प्रस्तुत हुनु पर्ने थियो तर विडम्बना मान्नु पर्छ यति सम्पदा र बौद्धिकता हुँदा हुँदे पनि भेगीय नाराले विकासका सम्भावना खुम्चिएर रहन पुग्यो । सोच, चिन्तनमा आएको विविधकरण, समन्यायको सिद्धान्तप्रति एक्यबद्धता हुन नसक्नु तथा राजनैतिक दृष्टिकोण बक्ररेखामा दौडिनु दाङ जिल्लाको लागि दुर्भाग्य हुन पुग्यो ।

हो, व्यक्ति समाज आफै परिपक्क हुँदैन समय र परिस्थितिले सोच चिन्तनमा केही फरक हुन सक्छ तर पनि सम्रग विकासमा उसको अवधारणामा उसको क्षमता र विवेकमा एक हुन नसक्नु विडम्बना मान्न पर्दछ । यसको ज्वलन्त प्रमाण ७ दशक अघि सुरु भएको तुलसीपुर एयरपोर्ट अहिलेसम्म पनि नियमित हुन सकेको छैन । जसको कारण दाङको विश्वास पछि पर्न गयो । यसरी स्वास्थ्यलगायत अन्य केही क्षेत्रमा पनि भेगीय नाराको कारण दाङ जिल्ला विकास योजनामा पछि पर्न गयो । यो केवल नेतृत्वको सोच र चिन्तनले ल्याएको भेगीय नाराको परिणाम हो । अझै पनि घोराही, तुलसीपुर, लमही, भालुवाङ, पुरुन्धारा यो दाङ होकि अन्य हो भन्ने गरी विचारहरु सलबलाइरहेका छन् । साझा अवधारणा विकास हुन सकेको छैन । जहाँ भए पनि दाङ देउखुरी एउटै हो, यहाँको प्राकृतिक स्रोत सम्पदा, खनिज उर्वराभूमि यी सबै हाम्रा सम्पत्ति हुन् । हाम्रो भूगोल जहाँ रहे बसे पनि दाङ नै हो । यस्तो चिन्तन नेतृत्व तहमा अझै मौलाउन सकेको छैन ।

एउटा योजना सम्पन्न नहुँदै त्यसको पक्ष विपक्षमा आवाज उठ्नु राजनैतिक नेतृत्वको इच्छा शक्ति एकात्मक बन्नु, सम्वृद्ध दाङको विकासमा अवरोध भएर देखा परेको छ । धेरै अवसर पाएर पनि एकले अर्काको खुट्टा तान्ने प्रवृतिले धेरै अवसर गुमेको छ । समृद्ध दाङको सपना हाम्रो परिकल्पनाको सहर भनी समर्पण हुने वातावरण र सङ्कल्प हुन नसक्नु विडम्बना मान्नु पर्दछ । मानव सोचमा देखिएको यही अंहपन र अंहकारले निम्ताएको द्वन्द्वको कारण अहिलेसम्म दाङ पछि परेको छ । अहंमवादी चिन्तनभित्र लुटपुटीएको छ । मानव सोचमा देखिएको हठवादी चिन्तन र विचारले निम्ताएको द्वन्द्व प्रतिनिधिमूलक शासन व्यवस्थामा प्रतिनिधि स्वयम् अलमल पर्नु, सत्ता केन्द्रित राजनीति हावी हुनु, यस्ता कारणले दाङ पछि पर्दै गयो ।

तसर्थ यिनै तितामिठा अनुभव बटुलेका दाङ घोराहीमा केही युवाले फुटेर होइन जुटेर, राजनीतिको खोल ओडेर होइन, विश्वासमा एक्यबद्धता कायम राख्न दृढता सङ्कल्प र एकतामा सफलता मिल्छ भनी घोराही बनाऔँ अभियान सुरु गरेका छन् । यो दाङ जिल्लाको विकासको पहिलो उज्यालो झिल्को हो । यसरी नै सबै एक हुन सके दाङको विकास सम्भव छ । हाम्रो परिकल्पनाको सहर निर्माण सम्भव छ । हामी शुभकामना दिन्छौ । गलत र अर्थहिन गतिशीलताले केवल समय र अवसर गुम्ने हुन्छ । केवल प्राप्तीको अवसर खोज्ने प्रवृति गलत मानसिकता हो । तसर्थ यसतर्फसचेत रहेर दाङको भविष्य निर्माणमा सबै जुट्न सकौ यो आवश्यकता छ ।

दाङको भूगोल पृथ्वी हाम्रो आमा हुन् । आमाको त्याग र समर्पण हाम्रो आदर्श हो तसर्थ आमाप्रतिको हाम्रो जिम्मेवारी महान बन्नु पर्छ । यहाँको हरेक बोट, वृक्ष, घास पास जंगल तथा उर्वराभूमि वन जंगल खोलानाला हाम्रो स्वास्थ्य र जीवनको लागि वरदान भएर रहेको छ । हिमालबाट सुरु भई तराईमा बग्ने खोलानाला स्वच्छ पानी हाम्रो जीवनको आधार हो । उर्वराभूमिमा उब्जने जति पनि खाद्यान्न बाली हुन् ती हाम्रो जीवन धान्ने आधार हुन् । प्राकृतिक माटो र ढुंगाले बनेको हाम्रो ओत हाम्रो जीवनलाई सहज गति दिने आधार हुन् । बोट बिरुवाबाट उत्पादित फलफूल हाम्रा लागि पौष्टिक आहारा हुन् । स्वच्छ हावा हाम्रो जीवनको बाच्ने आधार हो । अक्सिजनबिना मानिस बाच्न सक्दैन न त बोट बिरुवा नै बाच्न सक्छन् । तसर्थ यसको संरक्षण र सम्वद्र्धन हाम्रो जिम्मेवारी र दायित्वभित्र पर्दछ ।

प्रकाश हाम्रो बाच्ने अर्को आधार हो । प्रकाशबिना सृष्टि चक्रको इतिहास अधुरो हुन्छ । प्रकृति शून्यमा परिणत हुन्छ त्यसैले भन्ने गरिन्छ जहाँ शुद्ध वन जंगल हावा छ त्यहाँ पानी छ जहा पानी छ त्यहाँ उर्वरा जमिन छ, जहाँ उर्वरा जमिन छ त्यहाँ प्राकृतिक सत्य बोट बिरुवा खानी जडीबुटी छ जहाँ प्राकृतिक सुन्दरता छ त्यहाँको पर्यावरण सुन्दर छ जहाँ स्वच्छता र सुन्दरता छ त्यहाँ जीवनको उज्यालो भविष्य छ । जहाँ उज्यालो जीवनशैली छ त्यहाँ सम्वृद्धि र सुखी जीवन छ । त्यसैले जीवनलाई चलायमान बनाउन चाहिने आधारभूत आवश्यकताप्रतिको हाम्रो सम्बन्ध सधै नङ र मासु सरह सम्बन्धीत भइरहनु पर्दछ । तसर्थ मानव चिन्तनभित्र सलबलाउने जति पनि विचार र चिन्तन छन् त्यस सङ्कल्पलाई युगौदेखि एक अर्कासँग गाँसिएको सम्बन्धसँग जोडेर भोलिको आधार तयार गर्न आजैदेखि एकतावद्ध भएर विकासको अवधारणामा एकमत हुन जरुरी छ ।

स्वच्छ हावा, स्वच्छ जल, स्वच्छ वातावरण, स्वच्छ गतिशीलता, स्वच्छ चिन्तन जीवनलाई सम्वृद्धि तिर लैजाने महत्वपूर्ण आधार हुन् । स्वच्छता र सुन्दरता मानव जातिको विवेकमा निर्भर रहने हुँदा यसतर्फ गम्भीर बन्न जरुरी छ । प्रकृति आफैमा स्वच्छ र सुन्दर छ यसलाई प्रदुषित बनाउने वातावरणलाई द्वन्द्वमा धकेल्ने मानिसको कलुषित विचार र अंहकारले निम्ताएको परिस्थिति हुन् । यसले अवश्य पनि मानव जातिलाई क्षति पु¥याउँछ । यही सम्पदाको विकास अहिले मानव जातिको लागि चुनौती भएर देखा परेको छ । तसर्थ दाङको सम्वृद्धिको नारा ओझेल पर्नुमा यिनै हाम्रा सोच र चिन्तनमा एकरुपता नभई खिचातानी र विविधता देखिनु मूल कारण हुन् । तसर्थ यसले पार्ने दुर्गामी असरलाई मूल्यांकण गरी सम्वृद्ध दाङ हाम्रो सपना भनी सोच र चिन्तन सफा राख्न जरुरी छ ।

विकास स्वच्छ विचार र सङ्कल्पमा निर्भर रहेको हुन्छ । विचारमा एकता, कर्म र व्यवहारमा शुद्धता यी मानव विचारमा उत्पादित चिन्तन हुन् । यही चिन्तनलाई शुद्धताको कसीमा घोट्दै सङ्कल्पको माध्यमबाट कर्म र व्यवहारमा परिस्कृत गर्दै लैजानु पर्छ तबमात्र माटोले रोजेको विकासले खोजेको समृद्धको नारा साकार हुन सक्छ । स्वच्छ र सुन्दर परिकल्पनाको सहर निर्माण सम्भव हुन्छ । त्यसैले समृद्धिको नारालाई सफल पार्न फुटेर होइन जुटेर एकतावद्ध कायम गर्दै विकासको खुटकिलो चढ्दै अगाडि बढौँ । विकास हाम्रो सपना हो, सपना साकार गराउने हाम्रो सङ्कल्प र दृढता हो भन्ने मान्यता राखी हिजोको इतिहास नदोहोरिने कृषि, शिक्षा स्वास्थ्य विद्युत, यातायातको समग्र विकासमा एक चिन्तन हुने अभ्यास गराँै । सोचमा परिवर्तन ल्याउ, विकासको प्रत्येक कार्य योजनालाई दुर दृष्टिले मूल्यांकण गर्ने अभ्यास गर्दै विकासको मूल आधार तयार गर्न सबै एक जुट बनाँै यो आजको आवश्यकता हो । भेगीय नाराले दाङको विश्वासमा धेरै अवसर गुमेका छन्, तसर्थ अब त्यो इतिहास नदोहोरिने गरी सोच र चिन्तनमा परिवर्तन गरौँ अनेकतामा एकता कायम गर्न सक्ने नेपाली आदर्शको पहिचान दाङबाट सुरु गराँै हाम्रो दाङ स्वच्छ र सुन्दर दाङ भनी एउटै आवाजको प्रतिनिधित्व हुने गरी कर्म र व्यवहार गरौँ यो आजको आवश्यकता हो ।