ज्योतिपुञ्जले मनायो २३ औं स्थापना दिवस

दाङ, ११ माघ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले बिहीबार एक कार्यक्रमको आयोजना गरी आफ्नोे २३ औ स्थापना दिवस मनाएको छ ।

२०५७ सालमा स्थापित ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले हरेक बर्ष माघ ११ गतेका दिन आफ्नो स्थापना दिवस मनाउने परम्परालाई निरन्तरता दिंदै स्थापना दिवस मनाएको हो ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको सभापतित्वमा भएको कार्यक्रममा गत शैक्षिक बर्षमा कक्षा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार बितरण गरिएको छ ।
त्यसैगरी विद्यालयको २३ औं बार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेदकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमाणपत्र, मेडल र पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सञ्चालक समिति सदस्य माधव खनाल, विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु नारायणप्रसाद शर्मा र शिवा भण्डारी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका हुन । स्थापना दिवसका अवसरमा सामाजिक कार्यमा लगाउने गरी स्वच्छिक अनुदान कोषको शुभारम्भ गर्नुका साथै विद्यार्थीहरुलाई मिठाई बितरण गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न गीत, गजल, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका कोर्डिनेटर तुल्सीप्रसाद शर्माले गरेका थिए । विद्यालयले आउने शनिवार माघ १३ गते एक भब्य कार्यक्रमको आयोजना गरी आफ्नो बार्षिकोत्सव समापन समारोह गर्ने तयारी गरेको विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिएका छन् ।