घोराही,१ माघ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका मौलिक चाडपर्वले एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । मकर सक्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना सन्देश दिदै स्वास्थ्य मन्त्री खनालले आ आफ्नै सांस्कृतिक महत्व बोकेका चाडपर्वले नेपालको विविधतामा सांस्कृतिक एकता कायम गरेको बताउनु भएको छ ।
‘यस माघि पर्वबाट मौलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र संवर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपाली बीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् प्रादेशिक एवं राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने हार्दिक शुभ कामना गर्दछु ’ मन्त्री खनालले आफ्नो शुभकामना सन्देशमा भन्नू भएको छ ।
थारू समुदायले नयाँ वर्ष र सबै भन्दा ठूलो पर्वको रूपमा मनाउदै आएको, मगर, गुरूङ्ग, ब्राहमण, क्षेत्री लगायतका समुदायमा पनि यस पर्वको छुट्टै महत्व रहेको उल्लेख गर्दै नेपाली काग्रेस लुम्बिनी प्रदेशका उप सभापती समेत रहेका स्वास्थ्य मन्त्री खनालले नेपाली समावमा माघी पर्वको छुट्टै मौलिक पहिचान रहेको बताउनु भएको छ ।
मन्त्री खनालले नेपालका विभिन्न जातजाति तथा समुदायहरूद्वारा मनाइने माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा सम्पुर्ण लुम्बिनी प्रदेशवासी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना ब्यक्त गर्नु भएको छ ।