विषयवस्तु बारे जानकारी लिन विद्यार्थी खोलामा पुगेपछि…

दाङ, १८ पुस । वारीपारी घनावस्ती । बिचमै छ पातुखोला । खोलाको बिच भागमै किताब कापी लिएर पढ्न बसे विद्यार्थी । यो कुनै न चलचित्रको छायाँकन थियो, न त विद्यार्थीलाई कक्षा कोठा अभाव भएर खोलामा पढ्न गएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इंलिस बोर्डिङ स्कुलका विद्यार्थी प्राकृतिक श्रोत साधनको संरक्षण र उपभोगका बारेमा बुझ्न पातुखोलामा पुगेका हुन् । कक्षा ७ पढ्ने गौरब भुसालले खोलामै आएर पढ्न पाउँदा सजिलो गरी बुझ्न पाएको बताए । ‘प्राकृतिक स्रोत साधनको संरक्षण, उपभोगका बारेमा खोलामै आएर पढ्न पाउँदा बुझ्न पाउँदा खुसी लागेको छ’, विद्यार्थी भुसालले भने,‘‘विषयवस्तुको जानकारीसँगै खोलामै आएर पढ्न पाउँदा खोलाको सरंक्षण गर्नुपर्ने कुरा सिकेको छु ।’

यस्तै कक्षा ७ मा पढ्ने अन्जली नेपालीले कक्षामा वातावरणको संरक्षण राम्रोसंग हुन सकेको छैन भन्ने पढाएको भएपनि फिल्डमै आएर हेर्दा त्यो बुझ्न थप सहज भएको बताइन । खोलामा आएर पढ्दाखेरी वास्तविकता बुझ्न पाइएको उनले बताइन । विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले विद्यालयले विषयवस्तु अनुसार फिल्डमै गएर पढाउन थालेको बताए ।

‘विषय अनुसार फिल्डमै गएर पढाउने अभ्यासको सुरुवात गरेका छौ’,उनले भने,‘त्यही अनुसार आज विद्यार्थीलाई प्राकृतिक श्रोत साधनको बारेमा जानकारी दिनका लागि पोलामा लगेका हौ ।’ पाठ्यवस्तु अनुसार फिल्डमै गएर पढाउने कार्यक्रमको बुधबार औपचारिकरुपमा सुरु गरिएको बताए । विद्यालयका प्रधानाध्यापक छविकुमार वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्राकृतिक स्रोत साधन संरक्षण समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष भण्डारीले विद्याथीलाई विषय अनुसार फिल्डमै गएर पढाउने कार्यक्रमले विद्यार्थीले बाहिरी कुराको ज्ञान सजिलोसंग हासिल गर्ने बताए । ‘पाठमा भएका कुरा कक्षाकोठामा मात्रै सिकाउँदा प्रभावकारी हुँदैन्’, उनले भने,‘‘पाठ अनुसार कक्षा फिल्डमै पढाउँदा निकै प्रभावकारी हुन्छ ।’ उनले वातावरणको संरक्षण र उपभोग गर्नुपर्नेमा जोड दिएका थिए । उनले विद्यार्थीलाई मोबाईल चलाउनेमात्रै नभएर मोबाईलमा विश्व समुदायमा भएका कुराको बारेमा बुझ्न आग्रह गरेका थिए ।

रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले विद्यार्थीलाई व्यवहारिकरुपमा ज्ञान सिकाउनमा सगरमाथा स्कुलको भूमिका प्रभावकारी बन्दै गएको बताए । विद्यालयका प्रधानाध्यापक वलीले विद्यालयले विद्यार्थीलाई पाठमा भएका कुरालाई वास्तविकरुपमा बुझाउनका लागि फिल्डमै गएर पढाउन कार्यको शुभारम्भ गरेको बताए । उनले यस कामलाई निरन्तरता दिने बताए ।