देवेन्द्र बस्नेत
दाङ, ७ पुस । जनप्रतिनिधि बनेर राजनीतिक जीवनबाट ‘सन्यास’ लिने पुरानो सपना साकार पार्ने अनेकन प्रयास, पटक–पटकका प्रयास बिफल भए । सिङ्गो कांग्रेसमा पलाएको ‘प्रतिशोध’रूपी ‘विष’ को शिकार बनिरहे दाङका पुराना कांग्रेसी नेता, विरकेशरी गौतम ।
तथापि द्वन्द्वकालमा दाङमा कांग्रेस र कांग्रेसीलाई ‘जोगाएको’ आफ्नो योगदानको कदर हुने ‘भ्रम’ मा परिरहे, उनी । फलतः २०७४ को निर्वाचनबाट प्रतिनिधि सभा सदस्य बन्ने ‘अन्तिम’ जस्तै प्रयास थालेका गौतमले १० दिनसम्म काठमाडौंका गल्ली नापे, नेताका दैलोमा ‘टिकट’ को ‘भिख’ मागे । १० दिन सम्म काठमाडौंको गल्ली नापेका गौतमको पार्टीप्रतिको ‘योगदान’लाई भने केन्द्रीय नेताले यो बेला पनि नाप्न भ्याएनन् । फेरि उम्मेदवारका लागि ‘अयोग्य’ करार गरिए अनि आफूमाथि पुनः गरिएको प्रतिशोधरूपी ‘बन्देज’ ले फेरि ‘गले’, गौतम ।
नेताका दैलोमा टिकटको भिख मागेका पुराना नेता गौतम रित्तो हात घर फर्किए । समानुपातिक उम्मेदवारका लागि सिफारिसमा परेका गौतम बन्दसूचीमा अटाएनन् । ‘सिफारिस कागज’को ‘चिर्कटो’बाटै फ्याँकिएका गौतमले आफ्नो ‘गलहत्याइँ’ लाई बुझेका छन्, ‘मलाई फेरि प्रतिशोधको शिकार बनाइयो, मेरो मूल्याङ्कन कुनै न कुनै बेला होला भन्ने थियो तर म गलत रहेछु ।’ बुढ्यौली शरीर, राजनीतिक दौडधुपबाट ‘थकान’ महसुस गरेका गौतमलाई वर्तमान कांग्रेस नेतृत्वले झनै पिरोलिरहेको छ । कांग्रेस जोगाउन आफूले गरेका ‘त्याग’रूपी पाना पल्टाएर इतिहास पढिरहेका छन् । भन्छन्, ‘मलाई ती दिनहरूले झस्काइरहन्छन्, ती दिनमा गरिएका कर्मको मूल्याङ्कन हुनु पर्ने थियो ।’
हुन पनि कांग्रेसी भएकै कारण विवाहकै दिन गिरफ्तारीमा परेको तीतो‘यथार्थ’ गौतमको मानसपटलबाट अहिलेसम्म पनि मेटिएको सकेको छैन । उनी भन्छन्, ‘विवाहको दिन सुहागरात पनि मनाउन पाएन, त्यही दिन गिरफ्तारीमा परेँ ।’ २०३६ को पञ्चायत विरोधी आन्दोलनमा सडकमा खरो बनेर उत्रिएका गौतम त्यो बेला तत्कालीन शासकहरूको ‘वान्टेड’ सूचीमा थिए । उनले पञ्चायत विरोधी युवा विद्यार्थी आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेका थिए । त्यो बेला आफूलाई शासकबाट लुकाएका गौतमको परिवारमा त्यही बेला उनको विवाहको निर्णय भयो ।
उनको विवाहमा घरबाट जन्ती निस्कन पाएन । गौतमको विवाहको खबर प्रहरीले पाइसकेको थियो । गौतमलाई त्यहीबेलै नियन्त्रणमा लिने तयारीमा रहेको प्रहरीले गौतमको घर घेरा हालिसकेको थियो । ‘म घरमा हुने कुरै भएन, म फरार थिएँ, घरबाट जन्ती निस्कने तयारी भइरहेको थियो’, गौतमले भने, ‘तर प्रहरीले घर घेरा हाल्यो, जन्ती समेत निस्कन पाएन ।’
लुकीछिपी घरपरिवारका केही सदस्य सहित बेहुला बनेर दुलही लिन पुगे, गौतम तर प्रहरीले यो पनि थाहा पाइसकेको थियो । दुलही लिएर घर फर्कँदै गर्दा गौतमलाई प्रहरीले फेला पा¥यो । त्यहीँबाटै उनलाई नियन्त्रणमा लियो । ‘म दुलही लिएर घर फर्कने बेलामा बाटोबाटै गिरफ्तारीमा परेँ’, उनले भने, ‘म थुनातिर लागेँ, दुलही एक्लै घर गइन् ।’ गौतम झण्डै दुई महिनापछि मात्रै रिहा भए ।
दाङलाई कांग्रेसको ‘गढ’ बनाउने मिसनमा अनवरत खटिएका गौतमका लागि तत्कालीन माओवादी सशस्त्र युद्ध एकल चुनौतीका रूपमा उब्जियो । त्यो बेला कांग्रेसीमाथि भएको दमन रोक्ने शाहस उनी एक्लैले गर्नु प¥यो । उनी त्यो बेला दाङ कांग्रेसका सभापति थिए । खरो स्वभावका गौतम माओवादीसँग वार्ताका लागि अनेकन स्थानमा एक्लै पुग्थे । एकोहोरो माओवादीको निशानामा परिरहेका दाङका कांग्रेसीलाई जोगाउन जङ्गल÷गोप्य स्थानमा माओवादीको घेराभित्र आफूलाई एक्लै उभ्याए, गौतमले ।
तत्कालीन माओवादी लडाकुहरूको घेराभित्र एक्लै बसेर कांग्रेसीमाथि भएको अत्याचारको विरोध गर्थे, अत्याचार रोक्न सुझाउँथे, गलत नगर्न चुनौती समेत दिन्थे । ‘अरू साथीहरू मसँग वार्ताका लागि माओवादी नेतासम्म जान डराउँथे’, गौतम भन्छन्, ‘धेरै ठाउँमा माओवादीसँग वार्ता गर्न एक्लै गएँ ।’ कांग्रेसका जिल्ला सभापति, माओवादीको ‘तारो’ मा गौतम स्वयम् नहुने कुरै भएन । तथापि कार्यकर्ताहरूको सुरक्षाका निम्ति आफूलाई माओवादी घेराभित्र शाहस जुटाएर एक्लै उभ्याउँथे । ‘त्यो बेला माओवादीले मलाई थ्रेट नदिने कुरै भएन नि ! म त्यो बेला झन् पार्टी सभापति पो थिएँ’, उनले भने, ‘तथापि म शाहस लिएर माओवादी समक्ष पुग्थेँ ।’
त्यो बेला तत्कालीन माओवादी नेता नेत्रविक्रम चन्दसँग कब्जा भएको कांग्रेसीको सम्पत्ति फिर्ताका लागि वार्तामा बसेको स्मरण, गौतमले गरे । ‘विप्लवसँग वार्तामा बसेँ, हाम्रा साथीहरूको सम्पत्ति किन कब्जा गरेको भनेर मैले प्रश्न गरेको थिएँ’, गौतमले भने, ‘यो राम्रो भएन भनेर मैले उहाँलाई सुझाव पनि दिएको थिएँ ।’ गौतम जिल्लाका कांग्रेसीको त्यो बेला माओवादीबाट कब्जा भएका जमिन फुकुवाका लागि निरन्तर माओवादीसँग वैचारिक लडाइँ लडेका थिए । बेपत्ता पारिएका आफ्ना कार्यकर्ताको रिहाइका लागि पटक–पटक जङ्गलसम्मै पुगेका गौतम कांग्रेसीका भरोसाका केन्द्र बनेका थिए । फलतः अहिले पनि उनलाई दाङका कांग्रेस कार्यकर्ताले, ‘शाहसी सभापत्ति’ को दर्जा दिन्छन् । माओवादी द्वन्द्वकालको जगजगीपूर्ण अवस्थामा गौतमले जिल्ला सभापतिको दुई कार्यकाल पूरा गरे । उनको योजना थियो, जनप्रतिनिधि बन्ने ।
२०६४ को पहिलो संविधान सभा निर्वाचनदेखि गौतमले जनप्रतिनिधि बन्ने कसरत थाले । तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले गौतमलाई नलड्न सुझाव दिए । गौतम भन्छन्, ‘म संविधान सभा सदस्यका लागि सिफारिसमा परेको थिएँ, त्यो बेला म जिल्ला सभापति पनि भएकाले गिरिजाबाबुले मलाई चुनाव नलड्न सुझाव दिनुभयो र म ब्याक भएँ ।’
संविधान सभाको पछिल्लो निर्वाचन २०७० मा उनी फेरि चुनाव लड्न चाहे तर त्यो बेला पनि पाएनन् । ०७४ को स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने आकाङ्क्षा पाले, गौतमले । घोराही उपमहानगरको मेयरका आकाङ्क्षी गौतमले त्यो बेला पनि टिकटका लागि काठमाडौंमा दौडधुप निक्कै गरेका थिए । ‘मेयरमा आकाङ्क्षी थिएँ, टिकटका लागि काठमाडौं दौडधुप पनि गरेँ’, उनले भने, ‘तर त्यो बेला पनि मैले टिकट पाएनँ ।’ तथापि गौतमले जनप्रतिनिधि बन्ने दृढतालाई मर्न दिएनन् । लगत्तै भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न खोजेका गौतम त्यो बेला पनि पछारिए ।
वर्षौँदेखि जनप्रतिनिधि बन्ने सपनालाई पछ्याइरहेका गौतमले कांग्रेसभित्र मौलाएको गुटगत राजनीतिको शिकार आफू बन्दै आएको महसुस गर्छन् । कांग्रेसभित्रको यो गलत संस्कृति केन्द्रदेखि स्थानीयस्तरसम्मै व्याप्त भएको उनको बुझाइ छ । अनि त स्थानीयस्तरमा पनि गौतमले फेल खानु पर्छ । उनी कांग्रेसको महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिन सकेनन् । स्थानीय तहमै मौलाएको गुटगत राजनीतिको निशानामा गौतम परे । ‘पार्टीमा योगदान गरेका कैयन पुराना नेताहरूको मूल्याङ्कन गर्ने परिपार्टी कांग्रेसभित्र हराइसकेको छ’, गौतमले भने, ‘यो रोग कांग्रेसको स्थानीयस्तरदेखि केन्द्रीयस्तरसम्मै उस्तै छ ।’
जनप्रतिनिधि बन्ने दौडबाड गलेका गौतम कांग्रेसभित्रको स्वार्थको लडाइँदेखि दिक्क छन् । जनप्रतिनिधि बन्ने आफ्नो दृढसङ्कल्प अब पूरा हुने वा नहुने त्यो फरक पाटोको कुरा भयो तर उनी पार्टीको इतिहासलाई आम कांग्रेसीले सम्मान र उचित मूल्याङ्कन गरुन् भन्ने चाहन्छन् । भन्छन्, ‘मेरो एउटा मात्रै चिन्ता छ कि कांग्रेसभित्र ‘सम्मान’ को संस्कृति कायम होस् ।’ पार्टीप्रतिको मोहले गौतमलाई उत्तिकै उर्जा दिइरहन्छ । फलतः दिनहुँ बिहान सबेरै घरबाट निस्कन्छन् अनि बेलुका घर फिर्छन् । यो दौडधुप केका लागि ? उनको जवाफ छ, ‘पद मेरो प्राथमिकता होइन, पार्टी निर्माणका लागि साथीहरूसंग बस्छु, उनीहरूसँग सरसल्लाह गर्छु ।’