गोरक्ष समाचारदाता
दाङ, २८ मंसिर । नेपाल परिवार नियोजन संघ दाङले भूकम्प प्रभावित रुकुम पश्चिम र जाजरकोट जिल्लाका २ हजार ४ सय बढीलाई प्रजनन् स्वास्थ्य सेवा प्रदान गरेको छ । नेपाल परिवार नियोजन संघको सहयोग र दाङ शाखाको आयोजनामा भूकम्प प्रभावित दुई जिल्लाका १५ स्थानमा बृहत प्रजनन् स्वास्थ्य शिविरको आयोजना गरेर दुई हजार चार सय २ जनालाई प्रजनन् स्वास्थ्य सेवा प्रदान गरेको नेपाल परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिएका छन् ।
संघले बुधवार घोराहीमा सञ्चारकर्मीसँग गरेको भेटघाट कार्यक्रममा शाखा प्रबन्धक खनालले भूकम्प प्रभावित जिल्लामा प्रदान गरेको स्वास्थ्य सेवाबारे जानकारी गराएका थिए । खनालका अनुसार वृहत प्रजनन् स्वास्थ्य शिविरबाट दुई हजार ६२ महिला र तीन सय ४० जना पुरुषले सेवा लिएका छन् ।
३६ स्थानमा सचेतनामूलक कार्यक्रम गरी भूकम्प प्रभावित समुदायका व्यक्ति तथा विद्यार्थीलाई प्रजनन् स्वास्थ्य र सरसफाईका विषयमा प्रशिक्षण दिइएको खनालले जानकारी गराएका थिए । त्यस क्रममा एक हजार २५ जना सहभागिता भएको उनको भनाइ रहेको छ । प्रभावित दुवै जिल्लाका ४८ स्थानमा शिविर सञ्चालन गर्ने क्रममा पहिलो चरणमा १५ स्थानमा गरिएको भन्दै शाखा प्रबन्धक खनालले अझै ३३ स्थानमा दोस्रो चरणको शिविर चलाउने कार्यक्रम रहेको बताए ।
जाजरकोटमा नेपाल परिवार नियोजन संघको आयोजना र आइपिपिएफएस पिआरआइएनटी परियोजनाको सहयोगमा शिविर सञ्चालन गरिएको हो । त्यस क्रममा भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिकाले व्यवस्थापन सहयोग गरेका थिए । यसैगरी रुकुम पश्चिममा आठबीसकोट नगरपालिकाले शिविर सञ्चालनमा व्यवस्थापन सहयोग गरेको थियो । त्यस क्रममा जाजरकोट जिल्लाको भेरी नगरपालिकाको बोहोरा गाउँ, स्याला, बाहुनथाना, पिपेगाउँ, नलगाड नगरपालिकाको अनापानी, कैना, सिर्के, दल्ली, बारेकोट नगरपालिकाको सक्ला, सेपुखोला, लिम्सा र रामीडाँडामा शिविर सञ्चालन गरिएको प्रबन्धक खनालले जानकारी दिए ।
यसैगरी रुकुम पश्चिमको आठबीसकोट नगरपलिकाको डाँडागाउँ, गउँबारी, बार्खु र घेत्मामा शिविर गरिएको उनले बताए । उनका अनुसार शिविरमा लैङ्गिक हिंसा, गर्भवती तथा सुत्केरी महिलाले अपनाउने सजगताबारे प्रशिक्षण दिइएको थियो । शिविरमा किशोरकिशोरीलाई प्रजनन् स्वास्थ्यसम्बन्धी परामर्श, यौन रोग तथा एचआइभि÷एड्ससम्बन्धी परामर्श र उपचार सेवाबारे सचेतना दिइएको उनले बताए ।
नेपाल परिवार नियोजन संघ दाङ शाखाका सभापति भरतराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संघकी केन्द्रीय उपाध्यक्ष निर्मला रेग्मी गौतमले विपद्को अवस्थामा दाङ शाखाले सञ्चालन गरेको शिविर महत्वपूर्ण भएको र आगामी दिनमा पनि सञ्चालन गर्नु पर्ने बताएकी थिइन् । कार्यक्रमको सहजीकरण संघ दाङ शाखाका प्रबन्धक खनालले गरेका थिए ।