ओमप्रकाश गुप्ता
भालुवाङ ६ वैशाख । दाङ देउखुरीको राप्ती गाउँपालिकाले कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गाउँपालिकाको जोखिम क्षेत्रमा शनिबार देखि औषधी छर्किन सुरू गरेको छ । पोटासियम पेरोक्सीमोनो सल्फेट २१.४५ प्रतिशत र सोडियम कोलोराइज १.५ प्रतिशत मिसावट गरि गाउँपालिकाको ९ वटै वडाका मुख्य बजार क्षेत्र, सार्वजनिक स्थान तथा जोखिम र संभावित क्षेत्रमा औषधी छर्किन सुरू गरेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।
एउटा वाटर सप्लायर्स टेक्टरबाट औषधी छर्किने काम सुरू भएको बताइएको छ । विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट गाउँलाई र जनतालाई सुरक्षित राख्न केही हद सम्म सहयोग पुग्ने हिसावले गाउँपालिकाको १ नम्बर वडाबाट शनिबार देखि औषधी छर्किन सुरू भएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् । औषधी छर्किने कार्यमा सुरक्षाकर्मी,जनप्रतिनिधि र स्थानीयको सहभागीता रहेको छ । यसै बिच स्वास्थ्य शाखा प्रमुख राउतले जिल्ला वाहिर र भारत बाट आउने व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न र स्वास्थ्य जाँच गराउन सुझाव समेत दिएका छन् ।