बंगलाचुलीमा प्रविधि युक्त एफटीटीएच सेवा विस्तार

  •   
  •  

घोराही, ४ मंसिर । दाङको पहाडी गाउँपालिका भनेर चिनिएको बंगलाचुली गाउँपालिकामा नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गरिएको छ ।

सेवा विस्तारसँगै बंगलाचुलीमा अब अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको ल्याण्डलाईन टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सकिने भएको छ । टेलिकमले आइतवार बंगलाचुली गाउँपालिका–४ मा कमिरेचौरमा ५ सय १२ लाइन क्षमताका फाइबर डिस्ट्रिव्युसन क्याविनेट (एफडिसी) जडान, नेटवर्क विस्तारलगायतका काम गरेको हो ।
नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय काठमाडौँका ईन्जिनियर सुरेश भण्डारीका अनुसार पहिलो चरणमा बंगलाचुली गाउँपालिकाको कार्यालय, कमिरेचौर बजार र श्रीवारीलगायतका गाउँहरुमा यो सेवा उपलब्ध हुनेछ । साथै क्रंमश बंगलाचुलीका अन्य स्थानहरुमा यो सेवा विस्तार गरिने इन्जिनियर भण्डारीले जानकारी दिएका छन् । बंगलाचुली गाउँपालिकामा यही मंसिर ७ गतेबाट टेलिकमको फाइबर टु द होम एफटीटीएच सेवा प्रयोग गर्नेगरी तयारी थालिएको इन्जिनियर भण्डारीले जानकारी दिए ।

फाइबर टु द होम (एफटीटीएच) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकैपटक तिनवटा सुविधा लिन सकिन्छ । यसबाट एकैपटकमा उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको बताए । उनका अनुसार यो सेवा लिनका लागि वार्षिक ८ हजारदेखि २० हजार एक सय २२ सम्मको शुल्क लाग्नेछ ।

उनका अनुसार कम्पनीका सेवाग्राहीहरुले कम्पनीद्वारा तोकिएको गति अनुसारकै गुणस्तरीय सुविधा उपभोग गर्न पाईनेछ । बंगलाचुलीमा यो सेवा लिनेहरुलाई एक सय मिटर तार र राउटर टेलिकमले सित्तैमा दिने भएको छ । बंगलाचुली गाउँपालिकामा हालसम्म गुणस्तरिय संचार सेवा नभएको अवस्थामा संचार मन्त्री रेखा शर्माको पहलमा नेपाल टेलिकमको अत्याधुनिक प्रविधिको फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार हुँदा आफुहरुलाई खुसी महसुस भएको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बताए ।