संस्कृतिको संरक्षण, प्रदेशको समग्र विकास : मन्त्री खनाल

  •   
  •  

दाङ, २८ कार्तिक । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले संस्कृतिको संरक्षण नै प्रदेशको समग्र विकास भएको बताएका छन् । दीपावली, नेपाल सम्बत तथा म्हः पूजाको अवसरमा शुभकामना सन्देश सम्प्रेषण गर्दै मन्त्री खनालले वर्तमानमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र स्वाधीनताको रक्षा र आन्तरिक राष्ट्रियता सुदृढ गर्दै यो प्रदेशको समग्र विकास गर्न सकिने बताएका हुन् ।

‘लुम्बिनी प्रदेश बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक प्रदेश हो । नेपाल राज्यको निर्माणमा विभिन्न जातीय, भाषिक, सांस्कृतिक समुदाय र व्यक्तित्वहरूको महत्वपूर्ण योगदान रही आएको छ । वर्तमानमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र स्वाधीनताको रक्षा र आन्तरिक राष्ट्रियता सुदृढ गर्दै यो प्रदेशको समग्र विकास गर्न सकिन्छ भन्ने मेरो दृढ विश्वास छ । नेपाल सम्वत् नेपालको मौलिक सम्वत् हो ।

नेपाल सम्वत् प्रवर्तक शंखधर शाख्वाको जनतालाई ऋणबाट मुक्त पार्ने अभियान र समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण भूमिका हामी सबैका लागि प्रेरणादायी छ । हाम्रा यी चाडपर्वहरूले हामी बिचको भावनात्मक एकता अझ मजबुत बनाउँदै प्रदेशको समृद्धिका लागि महत्वपूर्ण योगदान गर्नेछन् भन्ने गहिरो विश्वास लिएको छु ।

जनआकाङ्क्षा अनुरूप समग्र लुम्बिनी प्रदेशको सर्वतोमुखी सामाजिक, आर्थिक विकासलाई केन्द्रबिन्दुमा राखी अघि बढ्ने क्रममा यहाँहरूको साथ रही रहनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।’ जारी शुभकामना सन्देशमा उल्लेख छ ।