नेकपा ‘विप्लव’ समूहको धान खेती
गोरक्ष समाचारदाता
दाङ, २३ कार्तिक । नेकपा विप्लव माओवादीले जिल्लामा उत्पादनमा जोडिन थालेको छ । पार्टीले जिल्लामा करिब ५० विगाह जग्गा भाडामा लिएर खेती गरेको जनाएको छ । पार्टीको निर्देशन अनुसार जिल्लामा पार्टी कृषि उत्पादनमा जोडिएको पार्टीले जनाएको छ ।
उत्पादनमा जोडिन जिल्लामा खेती गरिएको पार्टीका केन्द्रीय सदस्य सम्झना सीले बताइन् । ‘आत्मनिर्भर बनाउन उत्पादनमा जोडिएको हो’, उनले भनिन् । अहिले धान, तोरी, मकै खेती गरिएको सम्झनाले बताइन् । रोजगारीका लागि बिदेसिने तर स्वदेशमा कृषियोग्य जग्गा खाली रहेको भन्दै यसको सदुपयोग गरेर अगाडि बढ्न सक्नु पर्ने उनले बताइन् ।
प्रमुख जिल्ला अधिकारी सहित सामूहिक धान काटिँदै नेकपा विप्लव माओवादीले घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा गरेको धान खेती बुधवारदेखि काट्न सुरु गरिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी तथा पार्टीका नेता, कार्यकर्ता एवम् पार्टीका भ्रातृ सङ्गठनका नेता, कार्यकर्ताले संयुक्त रूपमा धान काटेका हुन् ।
जयशेयर माविको ६ विगाह जग्गा भाडामा लिएर खेती गरिएको छ । १० वर्षका लागि जग्गा भाडामा लिएको नेकपा विप्लवका जिल्ला सेक्रेटरी जनक सीले बताए । ३ विगाहमा धान खेती गरिएको छ भने १८ कट्ठमा तोरी खेती गरिएको छ । बुधवार विप्लवले खेती गरेको धान काट्न पुगेका दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले कृषि उत्पादन नभएसम्म मुलुकमा आर्थिक विकास हुन नसक्ने बताए । यसैले उत्पादनमा जोडिनु पर्ने उनको भनाइ रहेको छ ।
‘राजनीतिक दलहरू पनि उत्पादनमा जोडिँदा यसले सकारात्मक सन्देश दिनेछ’, प्रमुख जिल्ला अधिकारी सुवेदीले भने । राजनीतिक दलले गरेको देखे पनि अरूलाई समेत त्यसतर्फ आकर्षण गर्न सहज हुने उनको भनाइ छ । पार्टीले सञ्चालक गरेको यस प्रकारको अभियानलाई निन्तरता दिन आग्रह गरे । खाली रहेको जग्गाको सदुपयोग गरेर अगाडि बढ्न समेत उनले आग्रह गरे । ‘श्रम ठुलो शक्ति हो यसको धेरै महत्व रहेको छ’, प्रजिअ सुवेदीले भने ।
