नाम मात्रैको बजार अनुगमन

गोरक्ष समाचारदाता
दाङ, २७ असोज । नेपालीका महान चाडपर्व सुरु भएका छन् । बजार भाउ आकासिएको छ । दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ता मारमा परेका छन् । अनुगमन र कारबाहीको जिम्मेवारी बोकेका सरोकारवाला एवम् सरकारी निकाय दसैँ –तिहार नजिकिन लाग्दा मात्रै बजार अनुगमनमा सक्रिय हुने र त्यसपछि चासो नदेखाउँदा अनुगमन प्रभारकारी हुन नसकेको गुनासो हुने गरेको छ ।

बजार अनुगमन प्रभावकारी नहुँदा चाडपर्वको समयमा बजारमा चिनी, तेल, खाद्यान्नको मूल्य फरक पसलमा फरक–फरक हुने गरेको नागरिक बताउँछन् । बजार अनुगमनलाई प्रभावकारी बनाउँदै एउटै मूल्यसूची बनाएर उपभोक्तालाई ठगिनबाट बचाउन आवश्यक रहे पनि बजार अनुगमन नामको मात्रै हुँदा प्रभावकारी हुन नसकेको नागरिकको गुनासो छ । चाडपर्वको समयमा बजारलाई व्यवस्थित गर्दै उपभोक्तालाई स्वच्छ र सफा खाद्यवस्तु उपभोगका लागि प्रभावकारी अनुगमनसँगै कार्यान्वयन भए नभएको ‘फलोअफ’ हुन आवश्यक रहेको नागरिकको भनाइ छ ।

अनुगमनका क्रममा गल्ती भेटिए व्यवसायीलाई निर्देशन दिने तर कार्यान्वयन भए नभएको पुनः अगुनमन नहुँदा नागरिकले अनुगमनप्रति नै प्रश्न खडा गरिहेको अवस्था छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दैनिक रूपमा बजार अनुगमन गर्ने भने पनि प्रभावकारी हुन नसकेको उपभोक्ता अधिकारवादी बताउँछन् । चाडपर्वको समयमा बजार अनुगमन हुने गरे पनि प्रभावकारी हुन नसकेको घोराही निवासी उपभोक्ता दीपक श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार उपभोक्तालाई गठिनबाट बचाउन चाडपर्वसँगै नियमित रूपमा प्रभावकारी अनुगमन आवश्यक छ तर त्यसो हुन सकेको छैन । ‘चाडपर्वको समयमा बजार अनुगमन भएको सुनिन्छ तर गल्ती गर्ने व्यवसायीलाई कसतो कारबाही हुने गरेको छ ? त्यो थाहा हुँदैन ?’, उनले भने, ‘बजार अनुगमनसँगै गल्ती गर्ने व्यवसायीलाई के कारबाही भयो त्यो जनताले थाहा पाउनु पर्छ ।’ बजारमा स्वस्थ खाद्यवस्तु, उचित मूल्य, मापदण्ड अनुसारको लेवल र म्याद भएका खाद्य तथा पेयपदार्थ पाउने वातावरण निर्माणमा स्थानीय प्रशासन, स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।
विगतमा जस्तै चाडपर्वको समयमा घोराही, तुलसीपुर, लमही, गढवा र राजपुरलगायतका बजारमा अनुगमन भएका छन् । विशेष गरी दसैं–तिहारजस्ता ठुला पर्व नजिकिँदै गर्दा स्थानीय प्रशासनबाट अनुगमन गर्ने अभ्यास भए पनि नियमित हुन सकेका छैनन् । चाडपर्वको समयमा गुनासो बढेपछि अनुगमन हुने तर त्यसको कार्यान्वयन भए–नभएको पुनः अनुगमन नहुने गरेको उपभोक्ताले गुनासो गर्दै आएका छन् । स्थानीय प्रशासन तथा पालिकाले चाडपर्वको समयमा मात्र नभइ निरन्तर अनुगमन गर्नु पर्ने उपभोक्ता बताउँछन् ।

‘चाडपर्वको समयमा अनुगमन हुने गरेका छन् तर प्रभावकारी भएको देखिँदैन’, नागरिक समाज दाङका सचिव नारायणप्रसा श्रेष्ठले भने, ‘साच्चिकै उपभोक्तालाई ठगिनबाट बचाउने हो भने कुन वस्तुको मूल्य कति हो, त्यो सार्वजनिकसँगै अनुगमनलाई पनि प्रभावकारी बनाउनु पर्छ ।’ त्यस क्रममा दोषी देखिए जनताले थाहा पाउने गरी उसलाई सजायको व्यवस्था गरिनु पर्ने सचिव श्रेष्ठले बताए । तर पछिल्लो समयमा अनुगमन देखावटी मात्रै हुने र प्रभावकारिता भने न्यून हुने गरेको उनले बताए । अनुगमनका क्रममा बजारमा म्याद नाधेका सामग्री, मूल्यसूची नराखेको, लेवलबिनाका सामग्री बिक्री वितरण हुने गरेको पाइएको अनुगमनमा सहभागी एक सदस्यले बताए ।
राजपुरमा बजार अनुगमन
चाडपर्व नजिकिँदै गएपछि राजपुर गाउँपालिकाले स्थानीय बजार अनुगमनलाई तीव्रता दिएको छ । पालिकाले पालिकाभित्रका पसल तथा बजारमा अनुगमन गरी म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरेको हो । पालिकाले स्थानीय प्रहरी चौकीसँग समन्वय गरेर बजार अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा बजारका विभिन्न पसलबाट म्याद गुज्रिएका करिब २० हजार मूल्य बराबरको खाद्यवस्तु नियन्त्रणमा लिई नष्ट गरिएको गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवले जानकारी दिइन् ।

स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्यवस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरिएको उपाध्यक्ष यादवको भनाइ रहेको छ । गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको उनले बताइन् । बजारका पसलमा म्याद गुज्रिएका सामान फेला परेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डेले बताए ।

उनका अनुसार म्याद गुज्रिएका सामानमा खाने तेल, प्याकेकिङ मसला, दालमोट, भुजिया, चिजबल, चियापत्तीलगायतका छन् । म्याद गुज्रिएका सामान नियन्त्रणमा लिएर जलाएर नष्ट गरिएको पालिकाको भनाइ छ । अनुगमनमा राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादव, प्रहरी चौकी चङुवाका असई महावीर चौधरी, पत्रकार, गाउँपालिका कर्मचारीलगायतको सहभागिता रहेको थियो । अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने पालिकाले जनाएको छ ।