उपकुलपतिको राजिनामा माग गर्दै विश्वविद्यालयको गेटमा धर्ना
दाङ,१२ असोज । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रसाद लामिछानेको राजिनामा माग गर्दै विद्यार्थीहरुले धर्ना दिएका छन् । विश्वविद्यालयको उपकुलपति जस्तो गरिमा भएको व्यक्ति पार्टीको विभागमा बसेर क्याम्पसमा राजनीति गरेको भन्दै विद्यार्थीहरुले शुक्रवार आधा घण्टा विश्वविद्यालयको गेटमा धर्ना दिएका हुन ।
उपकुलपति लामिछाने नेकपा एमालेको शिक्षा विभाग सदस्यमा बसेर क्याम्पसमा राजनीति गरेको भन्दै नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीमा आवद्ध विद्यार्थीहरुले राजिनामा माग गर्दै धर्ना दिएको नेपाल विद्यार्थी संघ नेपाल सस्कृत विश्वविद्यालय प्रतिनिधि डा केशव न्यौपानले जानकारी दिएका छन् ।
विश्वविद्यालयको उपकुलपति जस्तो गरिमाको पदमा बसेको व्यक्ति पार्टीको विभागमा बसेर राजनीति गर्न नहुने र पार्टी राजनीति गर्ने नै भए उपकुलपति पदबाट राजिनामा दिन विद्यार्थीहरुले माग गरेका छन् ।
‘विश्वविद्यालयको उपकुलपति जस्तो व्यक्ति पार्टीको विभागीय सदस्यमा बस्नु हुँदैन । त्यो उहाँको गरिमाले पनि सुहाउँदैन’,विद्यार्थी नेता न्यौपानेले भने,‘त्यसैले सकेसम्म पार्टीको विभागबाट राजिनामा दिनुहोस भन्ने हो, पार्टी राजनीति गर्ने भए उपकुलपतिबाट राजिनामा दिनुपर्छ ।’
