गुरुकुल एकेडेमीको शाखा लमहीमा
दाङ,११ असोज । लमहीमा गुरुकुल एकेडेमीको भवन शिलान्यास गरिएको छ । आउने शैक्षिक सत्रदेखि कक्षा ९ सम्म पढाई सञ्चालन गर्ने उद्देश्यले लमहीमा गुरुकुल एकेडमी सञ्चालन गर्ने गरी विद्यालय भवन बनाउन थालिएको हो ।
लमही नगरपालिका–५ स्थित गोरक्ष रत्ननाथ मन्दिर क्षेत्रको ३० कट्ठा जग्गामा विद्यालय भवन बनाउन थालिएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्कारसहितको शिक्षा प्रदान गर्ने उद्देश्यले लमहीमा गुरुकुल एकेडमी सञ्चालन गर्न थालिएको जानकारी गराइएको छ । मान्छेलाई पूर्ण मान्छे बनाउने उद्देश्यले फरक शैलीबाट पठनपाठन गराइने अध्यक्ष घिमिरेले बताए ।
जीवनकला सिकाउन सकियो भने समाजको सबै पक्षको संरक्षण हुने बताए । घोराहीमा गुरुकुल एकेडमीको सफलतापछि लमहीमा पनि विद्यालय सञ्चालन गर्न थालिएको छ । तीन तलाको भवन बनाउने काम सुरु भएको छ । विद्यालयका अध्यक्ष घिमिरेले भवनको शिलान्यास गर्दै आउँदो बर्षखि नियमित पठनपाठन सुरु गर्ने बताए ।
कार्यक्रममा गोरक्ष रत्ननाथ मन्दिरका मठाधिस सुरतनाथ योगीले संस्कृत र वेद शिक्षाको कक्षा समेत सञ्चालन आग्रह गरेका छन् । गुरुकुल एकेडमीका प्रधानाध्यापक डा कृष्णराज डिसीले विद्यार्थीलाई प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले विद्यालय सञ्चालन गरिएको बताए । उनले देशको सामाजिक र सर्वाङ्गीन पक्षको विकास हुने बताए ।
कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लिलाराम खनाल, पत्रकार केपि घिमिरे, लमही जेसीजका अध्यक्ष फणाधर ढकाललगायतले मन्तब्य व्यक्त गरेका थिए । शिलान्यास समारोहको औपचारीक कार्यक्रमको सहजीकरण गुरुकुल एकेडेमीका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले गरेका थिए । गुरुकुल एकेडेमी लमहीको संस्थापक रुपमा कमलजंगसिंह ठकुरी, शित्तल भुसाल, रामचन्द्र शर्मा रहेका छन् ।
