महिला सदस्यकी उम्मेदवार शालीन ‘लिला’
दाङ, ९ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशनको मिति नजिकिदै गर्दा चुनावी सरगर्मीले बजार तातेको छ । यही असोज १३ गते शनिवार हुन गइरहेको संघको अधिवेशनको मिति नजिकिदै आउन थाल्दा व्यवसायीहरु आफ्ना नेता चुन्न विभिन्न बहस र परामर्शमा व्यस्त रहेका छन् ।
अहिले चिया गफदेखि विभिन्न पसल तथा होटल रेस्टुरामा समेत चुनावी माहोलले तताएको छ । दलीय गठबन्धन गरेर चुनावमा होमिएका व्यवसायीका बारेमा पनि त्यस्तै बहस बाक्लिदै जान थालेको छ । दलकै चिया गफमा प्यालनमै जोड दिइएको छ भने । राजनीतिक दलसँग घनिष्टता नरहेका व्यवसायी भने उम्मेदवारका गुण अवगुण र व्यवहारबाट पनि उम्मेदवार छनौट गर्नेमा बहस गरिरहेका छन् ।
व्यवसायीहरुका बिच सहमतिबाटै नेतृत्वलगायतको कार्यसमिति निर्माण गर्ने सम्भावना नभएपछि चुनावी प्रक्रियामा गएका हुन् । अहिले विभिन्न राजनीतिक दल निकटका व्यवसायीहरु दुई प्यानलमा विभाजित भएर चुनावमा होमिएका छन् ।
बसन्त जोशीको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल निर्माण भएको छ । जोशीकै प्यानलबाट महिला सदस्यको चुनावी मैदानमा उत्रिएकी छिन् शालीन व्यक्तित्वको प्रतिमूर्ति लिला नेपाली । लिला नेपाली व्यवसायीका बिचमा नौलो नाम भने होइन । लामो समयदेखि व्यसायमा संलग्न लिला सालिन र नम्रताको पर्याय हुन् । मानवीय संवेग रिसबाट निकै टाढा देखिने लिलाको व्यवहारले जो कोहीका लागि पनि आकर्षण गर्दछ । भद्र व्यक्तित्व, सधैं मुस्कुराए बोल्ने लिलाको सुशील स्वभाव, सहयोगी भावना, निरन्तर कर्मशीलता उनका थप गुण हुन् ।
शिष्ट, नम्र तथा भलाद्मीका पर्याय मानिने लिला महिला सदस्यको उम्मेदवार भएर संघको कार्यसमितिमा आफ्नो ‘इन्ट्री’ खोजिरहेकी छिन् । लिलाको ‘इन्ट्री’ प्रयत्नलाई प्रायः व्यवसायीले सकारात्मक र आवश्यकताका रुपमा लिने गरेका छन् । महिलाका समस्यामा मुद्दामा न्यायका लागि सङ्घर्ष गर्दै आएकी लिलाको अर्को पहिचान हो – समाजसेवी । ‘जहाँ समस्या त्यहाँ लिला’, चाहे महिलाका समस्याका विषय होऊन् चाहे समाजमा देखिएका समस्या होऊन् हरेक समस्याका अगाडि हिमालझैं ठिङ्ग उभिने र समस्या समाधानका लागि निरन्तर लागिपर्ने लिलाको स्वभावले पनि धेरै व्यवसायीको रोजाइको पात्र बनेकी छिन् लिला ।
बिगत १३ वर्षदेखि घोराही उपमहानगरपालिका वडा नम्बर १५ शिवबस्ती रोडमा उर्मिला सिलाइ कटाइ प्रतिष्ठान केन्द्र सञ्चालन गर्दै आएकी लिला टेलरिङ व्यवसायसँग सम्वद्ध छिन् । टेलरिङ व्यवसायका साथै महिलाहरुलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने समाजसेवाको क्षेत्रमा पनि आफूलाई तल्लीन राख्दै आएकी छिन् । महिलाका लागि सिलाइ कटाइ तालिम पनि सञ्चालन गर्दै आएकी छिन् ।
उमेरले चार दशकमा रहेकी लिलासँग व्यावसायिक योजनाहरु पनि त्यतिकै पेचिला रहेका छन् । संघमा ‘इन्ट्री’ को प्रयास गरिरहेकी लिलाले कनिका खबरसँग सुनाइन्, ‘चुनाव जित्नु, संघमा प्रवेश गर्नु मात्र सबै थोक होइन, त्यो पदमा रहेर आफ्नो कार्यकालमा कस्तो र कति काम गरे भन्ने व्यवसायी र समयले मूल्याङ्कन गर्ने योगदान दिनु ठुलो कुरा हो । साना, मझौला, ठुला तथा घरेलु व्यवसाय, उद्योगलाई त्यसै अनुसारको रणनीति बनाएर व्यवसायको प्रवद्र्धन गर्न आवश्य छ । कति व्यवसायी पलायन भइरहेका छन् भन्ने डाटा होइन व्यवसायमा उत्साहित भएर कति व्यवसायी थपिए भन्ने डाटा निर्माणमा सम्बद्ध सबैको ध्यान जान जरुरी हुन्छ । यसका लागि मिसन, भिजनको आवश्यक रहन्छ ।’
व्यावसायिक मात्र होइन नेतृत्वको समेत मिसन, भिजन तथा लक्ष्यका तमाम योजनाकी पारङ्गत लिलासँग उद्यमी तथा व्यवसायी वृद्धिका योजना पनि उस्तै आकर्षक छन् । ‘उद्योग व्यवसायलाई बजार केन्द्रित मात्र नबनाई ग्रामीण उद्योग व्यवसायका माध्यमबाट गाउँमा पनि स्वरोजगार तथा घरेलु उद्योगका रणनीति बनाउनुपर्छ । महिलालाई आत्मनिर्भर तथा जीवनोपयोगी सिप सिकाएर स्वरोजगार बनाउन, व्यवसाय तथा उद्योगलाई आकर्षणको क्षेत्र बनाउन सकिन्छ । यो एउटा समृद्धिको मार्ग पनि हो ।’
‘व्यवसायीका हरेक समस्या संघका समस्या हुन् । समस्या समाधानका लागि संघ नै बढी सक्रिय हुनुपर्छ । म लगायत हाम्रो सिङ्गो प्यानल यसैमा प्रतिवद्ध रहेको छ ।’ उनले बताए । व्यवसायीका बिचमा लोकप्रिय लिला अनुभवले परिपक्व उम्मेदवार पनि हुन् । व्यवसायीका पीरमर्का तथा समस्यालाई बुझ्दै सम्बोधन गर्दै आएकी पनि छिन् । उनले गर्दै आएका कामका आधारमा पनि उनी व्यवसायीका रोजाइमा पर्दछिन् ।
