व्यवसायीले रोजेका ‘निमबहादुर’
दाङ, ८ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशनको मिति नजिकिदै गर्दा चुनावी सरगर्मीले बजार तातेको छ । व्यवसायीहरु आफ्ना नेता चुन्न विभिन्न बहस र परामर्शमा व्यस्त रहेका छन् । अहिले चिया गफदेखि विभिन्न पसल तथा होटल रेस्टुरामा समेत चुनावी माहोलले तताएको छ । व्यवसायीहरुका बिच सहमतिबाटै नेतृत्वलगायतको कार्यसमिति निर्माण गर्ने सम्भावना नभएपछि चुनावी प्रक्रियामा गएका हुन् ।
अहिले विभिन्न राजनीतिक दल निकटका व्यवसायीहरु दुई प्यानलमा विभाजित भएर चुनावमा होमिएका छन् । बसन्त जोशीको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल निर्माण भएको छ । जोशीकै प्यानलबाट खुला सदस्यको चुनावी मैदानमा उत्रिएका छन् पुराना व्यवसायी निमबहादुर बुढाथोकी ‘टीका’ । शिष्ट, नम्र तथा भलाद्मीका पर्याय मानिने बुढाथोकी खुला सदस्यको उम्मेदवार भएर संघको कार्यसमितिमा आफ्नो इन्ट्री खोजिरहेका छन् ।
बुढाथोकीको इन्ट्री प्रयासलाई प्रायः व्यवसायीले सकारात्मक र आवश्यकताका रुपमा लिने गरेका छन् । विभिन्न संघ संस्थाको कुशल नेतृत्व गरिसकेका बुढाथोकी घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा टीका दाना सप्लायर्स सञ्चालन गर्दै आएका छन् । बुढाथोकी २०५२ सालदेखि व्यवसायमा आवद्ध रहेर निरन्तर रुपमा दाना सप्लायर्स सञ्चालन गर्दै आएका छन् ।
त्यसो त विगत १५ वर्षदेखि सुरक्षित कुखुरा दाना व्यवसायी व्यवसायी समिति आवद्ध रहेर किसानका हकहितका लागि पनि निरन्तर सङ्घर्ष गर्दै आएका छन् । ‘किसानका हकहितलाई सुरक्षित राख्न, किसानका आवश्यकतामाथि कसैको एकाधिकार रहन नदिनका लागि सुरक्षित कुखुरा दाना व्यवसायी व्यवसायी समिति स्थापना गरेका हौँ । किसानको अधिकारलाई सुनिश्चित राख्न समिति निरन्तर रुपमा प्रयासत रहेको छ ।’ उनले थपे, ‘ हरेक तहका व्यवसायीहरुको अधिकारलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता टड्कारो रहेको छ ।
व्यवसाय सञ्चालन गर्दै गर्दा थुप्रै कठिनाइ आउने गर्छन्, व्यवसायीलाई व्यावार व्यवसाय सञ्चालन गर्न दिने र उवासंघका तर्फबाट कार्यसमितिमा रहेकाले व्यवसायीका समस्यालाई साझा समस्याका रुपमा समाधान गर्दै लैजानु पर्छ । संघ व्यवसायीको छाता संगठन मात्रै होइन अभिभावक पनि हो ।’ सुरक्षित कुखुरा दाना व्यवसायी व्यवसायी समितिको एक कार्यकाल अध्यक्षको भूमिका निर्वाह गरिसकेका बुढाथोकी नेतृत्वमा पनि दक्ष मानिन्छन् । ‘व्यवसायीलाई संघ छ भन्ने आभास दिलाउने गरी काम गर्ने समितिको अब आवश्यक छ ।
यसभन्दा अगाडि यस्तो महसुस नभएको भन्ने होइन कि अब व्यवसायी संघमा आवद्ध भइसकेपछि व्यवसायीका हरेक समस्या संघका समस्या हुन् । समस्या समाधानका लागि संघ नै बढी सक्रिय हुनुपर्छ । म लगायत हाम्रो सिङ्गो प्यानल यसैमा प्रतिवद्ध रहेको छ ।’ उनले बताए । व्यवसायीका बिचमा लोकप्रिय बुढाथोकी अनुभवले परिपक्व उम्मेदवार पनि हुन् । व्यवसायीका पीरमर्का तथा समस्यालाई बुझ्दै सम्बोधन गर्दै आएका पनि छन् । उनले गर्दै आएका कामका आधारमा पनि उनी व्यवसायीका रोजाइमा पर्दछन् ।
