राप्ती समाज अमेरिकाको अध्यक्षमा सुरेश हमाल

अमेरिका,२ असोज । हरितालिका तीजको अवसर पारेर राप्ती क्षेत्रबाट अमेरिका पुगेका नेपालीहरुले ‘राप्ती समाज अमेरिका’ गठन गरेका छन् । स्यानफ्रान्सिस्को बे एरियामा सामाजिक क्षेत्रमा क्रियाशील रहेका सुरेश हमालको अध्यक्षतामा आइतवार एक विशेष कार्यक्रमवीच राप्ती समाज अमेरिका सस्था स्थापना घोषणा गरिएको हो ।

बे एरियामा रहेका प्रबुद्ध वर्गको आतिथ्यतामा सो संस्थाको उद्घाटन गरिएको थियो । कार्यक्रमका बक्ताहरुले राप्ती समाज अमेरिका स्थापनाको अवसरमा बधाइ ज्ञापन गर्दै सफलताको शुभकामना दिएका थिए ।

समाजका अध्यक्ष हमालले राप्ती क्षेत्रवाट अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली र आफन्तजनवीच भावनात्मक एकता, सद्भाव एवं पारस्पारिक सहयोग आदानप्रदानको लागि समाजको स्थापना गरिएको बताए । समाजका छरिएर रहेका आफन्तजनलाई एकतावद्ध बनाउने र एक आपसमा आइपर्ने समस्या समाधानमा समाज क्रियाशील रहने उनले बताए ।

‘हामी राप्ती क्षेत्रमा आवद्ध रहेकाहरु एक न एक प्रकारले नाता कुटुम्वमा पनि जोडिएका छौ, यसकारण पनि संस्थागत रुपमा नै एकतावद्ध हौ भन्ने दीर्घकालीन सोचका साथ राप्ती समाज अमेरिकाको स्थापना गरेका हौ, यसको उदेश्य विशुद्ध सामाजिक सेवा र परोपकार हो’, अध्यक्ष हमालले भने,‘संस्था विशुद्ध रुपमा सामाजिक क्षेत्रमा क्रियाशील हुनेछ ।’

उनका अनुसार अमेरिकाका अन्य राज्यहरुमा रहेका राप्ती क्षेत्रका मानिसहरुलाई पनि संस्थामा क्रमश संलग्न गराउदै लगिने छ । आइतवार घोषणा गरिएको कार्यसमितिको अध्यक्षमा सुरेश हमाल दाङ, उपाध्यक्षमा बिनोद पुन (रुकुम), उपाध्यक्षमा गोबिन्द चलाउने (सल्यान),महासचिवमा कृष्ण बुढाथोकी (सल्यान), सचिवमा दिपक रोका (दाङ), सहसचिबमा महेन्द्र घर्ती (रोल्पा), कोषाध्यक्षमा नरबहादुर कुसारी (रुकुम), सहकोषाध्यक्षमा बिष्णु बन्जाडे (दाङ) रहेका छन । समाजको प्रबक्तामा भरतकुमार वली (दाङ)लाई चयन गरिएको छ ।

कार्यसमितिका सदस्यहरुमा कर्णबहदुर वली, रमेश वली, शिवराज भुषाल, डम्बरबहादुर केसी, दिपेश घिताल र सन्तोष भण्डारी रहेका छन् । कार्यसमितिले बलबहादुर केसी (दाङ),कपिल डॉगी (दाङ) बिरबहादुर बुढाथोकी (दाङ), मनराज देवकोटा (रुकुम), बासु क्षेत्री (दाङ) र थलविर वली (रुकुम) लाई सल्लाहकारमा चयन गरेको छ । राप्ती अंचलवाट अमेरिकामा पुगेर बसोवास गर्नेहरुको संख्या २० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।आइतवार हरितालिका तीजको अवसरमा नाचगान र शुभकामना आदानप्रदान गरिएको थियो ।

जिल्ला सभापति डागीद्वारा बधाई एवं शुभकामना

यसैबीच नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डागीले नवगठित राप्ती समाज अमेरिकाका अध्यक्ष सुरेश हमाललगायतको कार्यसमितिलाई हार्दिक बधाई एवं सफलताको शुभकामना व्यक्त गरेका छन् । अमेरिकामा पुगेका राप्ती क्षेत्रका युवाहरू संगठित हुनु राम्रो भएको भन्दै जिल्ला सभापति डागीले सस्थालाई सामाजिक सेवाको कार्यमा लगाउन समेत आग्रह गरेका छन् ।