दाङ,३१ भदौ । दाङको तुलसीपुरमा गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बिहान सवा ९ बजे नेपालगंजबाट रुकुम जाँदै गरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर–१६ डोक्रेनाबाट तुलसीपुर आउँदै गरेको रा १ ह ४४५९ नम्वरको अटोरिक्सालाई तुलसीपुर–६ स्थित स्टार चोकमा ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका तुलसीपुर–१६ डोक्रेनाकाका १३ वर्षीय दामोदर भण्डारीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार दुर्घटनामा ६ जना घाइते छन्।
अटो चालक तुलसीपुर– ६ गोलौराका ५७ बर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर छ। उनको टाउँको र अनुहारमा गहिरो चोट पटक लागेको छ । उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी पोखरेलले बताए ।
अटोमा सवार तुलसीपुर– १६ डोक्रेनाका ११ बर्षीया बर्षा बस्नेत, उनकी ६ बर्षीया बहिनी श्रृष्टी बस्नेत, सोही ठाउँका १८ बर्षीया अन्जु डाँगी घाइते भएका छन् । अन्य दुइको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । अन्य घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी छ। ठक्कर दिएर गाडीका चालक फरार भएका थिए। अहिले उनलाई नियन्त्रणमा लिइएको डिएसपी पोखरेलले जानकारी दिए