मधेसी समुदायमा घट्दैछ मातृशिशु मृत्युदर

अञ्जना चौधरी
दाङ, १२ भदौ । दाङको गढवा गाउँपालिका वडा नं. ६ की मञ्जु यादव बिहानको खाना खाएर कोठामा काखे छोरालाई सुताउँदै थिइन् । बिहान खाना खाएको भाँडा धारामा यत्रतत्र छरिएका थिए । भान्सा सफा गर्न बाँकी नै थियो ।

अझ भैँसीको भकारो सोरेर घाँस काट्न पनि जानु थियो । उनको काखे छोरो भर्खर डेढवर्षको हुँदै छन् तर उनी अर्को सन्तानलाई जन्म दिने तरखरमा छिन् । मञ्जु उमेरले भर्खर ३४ वर्ष पुग्दै छिन् । १८ वर्षमै विवाहबन्धनमा बाँधिएकी मञ्जुले २०७२ सालदेखि २०८० सम्म आठ वर्षको अवधिमा पाँच सन्तान जन्मदिइ सकेकी छिन् भने छैठौँ बच्चा यही भदौमा जन्मिँदैछ । छैठौँ पटक आमा बन्न लागेकी मञ्जुले दुईवटा बच्चा भने गुमाइसकेकी छिन् ।

एउटा छोरा जन्मेको दुई महिनामा गुमाइन् भने अर्को बच्चा मृत जन्मियो तर उनलाई बच्चा के कारणले मृत जन्मियो भन्ने कुराको समेत ज्ञान छैन । उनी भन्छिन्, ‘म एक्ली बुहारी सबै काम आफैले गर्नु पर्छ, त्यस माथि वर्ष, डेढवर्षमै अर्को बच्चा जन्माउने, हुर्काउने, जिउ त्यसै खलेको महसुस हुन्छ ।’ उनले गर्भवती भएको समयमा समेत आराम गर्न पाइनन् । गर्भावस्थामा घरको सबै काम गर्नुका साथै गह्रौँ भारी समेत बोक्ने गरेको बताउँछिन् । बच्चा जन्माउने अन्तिम अवस्थामा पुगेकी उनी अहिले पनि घाँसदाउरा गर्न जाने गरेको बताउँछिन् ।

विवाहपछि उनले कहिल्यै सुखको सास फेर्न पाइनन् । विवाह भएको ८ वर्षसम्म यादवबाट बच्चा जन्मिएनन् । लामो समयसम्म बच्चा नभएपछि उनले घरपरिवारदेखि छरछिमेकीबाट नानाथरिका लान्छना खेप्नु प¥यो । बच्चा किन भएन भनेर उनले अस्पताल गएर चेकजाँच समेत गराउन पाइनन् । ‘परिवारले पनि कतै गएर औषधी गराउन भन्नुभएन, मलाई पनि कहाँ गएर औषधी गर्ने भन्ने केही थाहा भएन, समाजको तिरस्कार सहेर ८ वर्ष बित्यो’, उनी भन्छिन् ।

लामो सङ्घर्षपछि यादवको जीवनमा खुसी छायो । उनले २०७२ सालमा जेठी छोरीलाई जन्म दिइन् । २०७२ सालको भुकम्पले सारा नेपाली त्रासमा भएको बेला मञ्जु भने खुसीले गद्गद् थिइन् । अहिले छैठौँ सन्तानको आमा बन्ने अवस्थामा पुग्दासम्म उनलाई घरको सारा काम र आधा दर्जन छोराछोरीेको स्याहार सुसारकै चाँप बढ्दै गएको छ ।

परम्परागत सोँच परिवर्तनमा समस्या

गढवाकै इन्द्रावती यादवको पनि रजस्वला नहुँदै विवाह भयो । उनलाई आफ्नो विवाह भएको कुरा पनि याद छैन । विवाह भएपछि तीन वर्ष माइत बसेकी उनी त्यसपछि श्रीमान्को घरमा गइन् । श्रीमान्को घरमा गएको दुई वर्षपछि उनी पहिलो पटक आमा बनिन् र उनले वर्षैपिच्छे गरी ९ वटा सन्तानको जन्म दिइन् तर उनले पनि एउटा छोरालाई गुमाइसकेकी छन् भने ६ बहिनी छोरी र २ वटा छोरा उनकै साथमा छन् ।

नौ सन्तानलाई जन्म दिएकी इन्द्रावती गर्भवती भएको बेला अस्पताल गएर न त चेकजाँच गराइन्, न त बच्चा जन्मेपछि अस्पताल लगिन् । यतिसम्म कि उनले बच्चा बिरामी भएको बेला पनि उपचारको लागि अस्पताल लगिनन् । छोरा बिरामी परे पनि कुनै उपचार नगरेकै कारण बच्चाको ज्यान गयो कि ? भन्ने बारे उनले हालसम्म अनुमान गर्न सक्दिनन् ।

बच्चा जन्मेको दुई हप्ता नहुँदै खेतीपातीलगायत घरको सबै काम गरिन् । बच्चा जन्मेको बेला राम्रोसँग स्याहारसुसार नपाएकै कारण अहिले इन्द्रावती राम्रोसँग उभिन र बस्न समेत सक्दिनन् । उनी भन्छिन्, ‘सधैँ पेट दुख्छ, ढाड, कम्मर र खुट्टा बढी दुख्छ ।’ तर पनि उनी अहिलेसम्म अस्पताल नगएर झारफुकमै विश्वास गर्छिन् । ‘कहिलेकाहीँ सहनै नसक्ने भयो भने झारफुक गराउँछु । त्यसैले ठिक हुन्छ, किन अस्पताल जानु र ?’, उनी भन्छिन् ।

एउटा छोरा र ६ वटी छोरीको विहे गरिसकेकी उनले छोरीबुहारी गर्भवती हुँदा समेत अस्पताल नगई घरमै सुत्केरी हुन सल्लाह दिन्छिन् । ‘मैले यतिका छोराछोरी अस्पताल नगएर जन्माएँ । अहिलेका छोरीबुहारी अस्पताल जान खोज्छन्’, उनी भन्छिन्, ‘बच्चा पाउने पीडा त मलाई र उनीहरूलाई एउटै हो । घरमै जन्माए पनि हुन्छ । म त अस्पताल जानु पर्छ भन्दिनँ ।’ गढवा ७ की चन्द्रकली यादवको पनि २२ वर्षमा विवाह भयो । उनले पनि विवाह भएको दुई वर्षमा सन्तान जन्माइन् ।

वर्षैपिच्छे ८ सन्तानलाई जन्म दिएकी चन्द्रकलीको साथमा ३ भाइ छोरा र ३ बहिनी छोरी मात्रै छन् भने दुईवटी छोरी गुमाइ सकेकी छिन् । यादव समुदायमा सुत्केरी भएपछि डेढमहिनासम्म सुत्केरी भान्सा कोठामा नजाने, भात पकाउन नपाउने चलन छ तर चन्द्रकलीले भने सुत्केरी भएकै दिनमा पनि घरको काम गर्नु पथ्र्यो । छोरी जन्माएको भन्दै सासुससुराले घरको काम नगरेपछि साँझ छोरीलाई जन्म दिएकी उनले बिहान उठेर खाना पकाउने, भाँडा माझ्नेदेखि घरको सबै काम गरिन् ।

‘मलाई सासुससुराले छोरी पाएको भनेर धेरै गाली गर्नुभयो, साँझ मैले भात पकाएर छोरीलाई जन्म दिएँ, बिहान सासुले भाँडा माझ्दैन भनेर फेरि गाली गर्नुभयो’, उनले भक्कानिँदै भनिन्, ‘सुत्केरी भएको २४ घण्टा नहुँदै मैले पानी आफैँ ल्याएर भाँडा माझेँ । सुत्केरी भएको एक दिन नहुँदै गह्रौँ काम गरेपछि धेरै रगत बग्यो र म त्यहीँ बेहोस भएर ढलेँ ।’

यति हुँदा पनि उनलाई परिवाका सदस्यले अस्पताल लगेनन् । यसरी पहिलो छोरी जन्मिएको एक वर्षपछि फेरि जुम्ल्याहा छोरीलाई जन्म दिइन् । घरको रडाको अझ बढी भयो । वर्षाको समय छोरीहरूलाई उनले राम्रोसँग स्याहार सुसार गर्न समेत पाइनन् र उनी एक वर्ष नहुँदै जुम्ल्याहा छोरीहरूलाई गुमाइन् ।

मातृशिशु मृत्युदर कम गर्ने प्रयास

स्थानीय पालिकाले मातृशिशु मृत्युदर काम गर्न वार्षिक रूपमा बजेट छुट्याएर विभिन्न काम गर्दै आएका छन् । राजपुर गाउँपालिकाले मातृशिशु मृत्युदर कम गर्न वार्षिक पाँच लाख रूपैयाँ छुट्याउँदै आएको स्वास्थ्य शाखा प्रमुख कमल रोकायाले जानकारी दिए । उक्त रकम आर्थिक अवस्था कमजोर भएका सुत्केरीहरूलाई अस्पताल ल्याउने, लैजाने, पोषणका आहारबिहार वितरण गर्नुका साथै नियमित अस्पताल गएर चेकजाँच गराउन चेतना दिने खालको कार्यक्रममा खर्च गर्दै आएको शाखा प्रमुख रोकायाले बताए ।

त्यस्तै गढवा गाउँपालिकामा पछिल्लो तीन वर्षको अवधिमा मातृशिशु मृत्युदरमा धेरै कमी आएको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय सबै गर्भवती आमा स्वाथ्य संस्थामा नियमित जाँच गराउन आउनुका साथै सुत्केरी हुन पनि अनिवार्य स्वाथ्य संस्थामा ल्याउने प्रयास भएपछि विगत तीन वर्षको अवधिमा एक जना शिशुको मात्र मृत्यु भएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए ।

मधेसी समुदायमा घट्दै मातृशिशु मृत्युदर

पछिल्लो समयमा मधेसी समुदायमा मातृशिशु मृत्युदर घट्दै गएको पाइएको छ । मधेसी समुदायको बसोबास रहेको दाङको राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा मधेसी समुदायमा मातृशिशु मृत्युदर घटेको तथ्याङ्क छ ।

२०७७ सालदेखि २०८० सम्मको तथ्याङ्क अनुसार मधेसी समुदायका २ जना शिशुको मात्रै मृत्यु भएको राजपुर स्वास्थ्य शाखा प्रमुख कमल रोकायाले जानकारी दिए । पालिकामा २०७७ सालदेखि २०७९ सम्म ३ जना शिशुको मृत्यु भएकोमा २ जना मधेसी र १ जना जनतातिबाट शिशुको मृत्यु भएको रोकायाले बताए ।

उनका अनुसार यो अवधिमा २ जना सुत्केरी महिलाको मृत्यु भएकोमा एकजना क्षत्री समुदाय र एक जना दलित समुदायको रहेका छन् । त्यस्तै २०७९÷०८० मा भने राजपुर गाउँपालिकामा शून्य मातृशिशु मृत्युदर रहेको उनले बताए ।

गढवा गाउँपालिकामा आर्थिक वर्ष २०७८÷०७९ मा एक जना सुत्केरी महिलाको मृत्यु भएको र मृत्यु हुनेमा क्षत्री समुदायबाट रहेको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए । गत आर्थिक वर्ष ०७९÷०८० मा गढवामा पनि शून्य मातृशिशु मृत्युदर छ ।

तुलसीपुरमा मातृशिशु मृत्युदर धेरै

दाङका १० वटा पालिकामध्ये तुलसीपुर उपमहानगरपालिकामा मातृशिशु मृत्युदर धेरै रहेको छ । गत आर्थिक वर्ष ०७८÷०७९ मा जिल्लाभरि १७ जना आमा र ११ जना शिशु गरी २८ जनाको मृत्यु भएकोमा तुलसीपुरमा मात्रै ७ जनाको मृत्यु भएको छ । जसमा थारु समुदायको ३ जना आमाले ज्यान गुमाए ।

यसैगरी आर्थिक वर्ष ०७९÷०८० मा जिल्लाभरि ११ जना आमा र १७ जना शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । तीमध्ये ७ जना तुलसीपुर उपमहानगरपालिका भित्रका आमाले सुत्केरी हुने समयमा ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये ३ जना थारु समुदायका आमाको मृत्यु भएको स्वथ्यकर्मीको भनाइ छ ।